२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्यधनुषामा तलब नपाएको भन्दै स्वास्थ्य कर्मचारीको आन्दोलनले खोप र नियमित सेवा प्रभावित

धनुषामा तलब नपाएको भन्दै स्वास्थ्य कर्मचारीको आन्दोलनले खोप र नियमित सेवा प्रभावित


धनुषा – धनुषाको धनौजी गाउँपालिकामा तलब नपाएको भन्दै स्वास्थ्य कर्मचारीहरुले स्वास्थ्य चौकी बन्द गरी विगत एक महिनादेखि गरिरहेको चरणबद्ध आन्दोलनले खोप र नियमित सेवा प्रभावित बनेको छ। गाउँपालिकाले तलब भत्ता विगत ६ महिनादेखि रोकेको भन्दै स्वास्थ्यका कर्मचारीहरुले भत्ता पाउनुपर्ने माग गर्दै विगत एक महिनादेखि  चलिरहेको आन्दोलनले खोप र नियमित सेवा प्रभावित बनेको हो ।

धनौजी गाउँपालिकाका स्वास्थ्य संयोजक गौरी नारायण मण्डलका अनुसार पालिकाले अघिल्लो आर्थिक वर्षमा समेत स्वास्थ्यको विभिन्न शिर्षकमा भएको खर्चहरुको भुक्तानी नगरेको, कोरोना महामारीमा क्वारेन्टाइन व्यवस्थापन खर्च, स्वास्थ्यसँग सम्बन्धित धेरै क्रियाकलापहरुको रकम निकासा समेत नगरेको गुनासो गरे ।

संयोजक मण्डलले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र एक महिनादेखि ठप्प भएको छ । खोप, सुत्केरीको जाचँ लगायतका अतिआवश्यक सेवाहरु समेत प्रभावित हुदाँ पालिकाले खासै चासो नदेखाउँदा समस्या झन बढ्दै गएको छ।’

सबै कर्मचारीहरुको मासिक रुपमा तलब पाउनुपर्ने तर ६ महिना वितिसक्दा समेत तलब नपाउनु दुखद भएको उनको भनाइ छ । ‘विश्व नै कोरोना महामारीबाट आक्रान्त रहेको समयमा स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर फिल्डमा काम गरेको छ तर न त उनको तलब न त भत्ता कसरी हामीले काम गछौ यस्तो अवस्थामा ।, ‘उनले भने ।

यस पालिकामा पाचँवटा स्वास्थ्य चौकी र १९ जना स्वास्थ्य कर्मचारीहरु कार्यरत रहेको पालिकामा एकैपटक स्वास्थ्यको सबै सेवा प्रभावित हुदाँ सेवाग्राहीलाई समस्या त भयो तर हामी स्वास्थ्यकर्मीहरुलाई समेत हिनताबोध महशुस भइरहेको छ ।, ‘उनले थपे ।

यता, पालिकाका वडा न.१ का वडाध्यक्ष श्याम किशोर साहले भने पालिकाको प्रमुख प्रशासकीय अधिकृतको बदमासीका कारण पालिकामा समस्या बल्झेको वताए । उनले भने,  ‘हाकिमले पालिका अध्यक्षसंग मिलेर रकम हिनामिना गर्ने वाहानामा यो सब भइरहेको छ ।’

कर्मचारीले तलब समयमा खानुपर्छ र जनताले सेवा पाउनुपर्छ त्यसका लागि हामी पनि साथमा छौ तर हाकिमका कारण कर्मचारीहरु समस्यामा पर्दै गइरहेको बताए ।

आन्दोलनरत कर्मचारीसँग पटकपटक सम्झौता गर्ने र कार्यान्वयन नगर्दा समस्या भएको वडाध्यक्ष साहको बुझाइ रहेको छ । पालिकाको गाउँसभा हुन नसक्दा कर्मचारीले ६ महिनादेखि तलब नपाएका हुन् । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएपनि कर्मचारीले तलब पाएका छैन भने ज्येष्ठ नागरिकले बृद्ध भत्ता पाएका छैनन् ।

सरकारले उपलब्ध गराउने सेवा सुविधा र तलवको माग गर्दै शिक्षा, स्वास्थ्य र पालिकामा कार्यरत करिव एक सय जना कर्मचारी एक महिनादेखि धर्नामा बस्दै आएका हुन् । कर्मचारीहरू धर्नामा बस्दा पालिकाको कामकाज समेत प्रभावित भएको हो ।

गाउँपालिका अध्यक्ष बद्री नारायण सिंहको हैकमले गाउँ सभा नभएको वडा न.१ का वडाध्यक्ष श्याम किशोर साहको आरोप छ । हरहिसाब पारदर्शिता, आय व्ययको विवरण र योजना बाँडफाँडमा प्रमुख सिंहले मनोमानी गर्दा गाउँ सभा हुन नसकेको उनले बताए ।

कर्मचारीहरूले कात्तिक २३ गते सम्पूर्ण सरोकारवाला निकाय समक्ष विज्ञप्तिमार्फत आफ्नो माग ध्यानाकर्षण गराएका थिए । तर, पनि माग पूरा नभएपछि कर्मचारीले कार्यपालिकाको प्राङ्गण मंसिर १० गतेदेखि नियमित विदाको दिन बाहेक धर्नामा बसेको अधारभुत विद्यालय लखौरीका प्रधानाध्यापक चन्द्र मण्डलले बताए ।

धर्ना बसेको एक महिनापश्चात पालिकाले ९ बुंदे सहमती गरेपनि हालसम्म कार्यान्वयन नगरेको उनले बताए । सहमती गरेपनि पालिकाले कार्यान्वयन नगरेको भन्दै कर्मचारीले पुन: पुस ११ गतेदेखि धर्नामा बस्दै आएको उनको भनाइ छ । तर, पनि गाउँपालिका प्रमूख सिंहले कुनै वास्ता नगरको उनले गुनासो गरे ।

गाउँपालिकाका अध्यक्ष बद्रीनारायण सिंहले भने,  ‘यो समस्या चाडै नै समाधान गर्नमा हामी लागि परेका छौ । स्वास्थ्यका सेवा ठप्प गरेर आन्दोलनमा जानु राम्रो कुरा होइन । समस्याको समाधान छिटै हुन्छ  ।’

उनले पालिकाका प्रमूख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रालाई पटक-पटक फोन सम्पर्क गर्दा फोन नउठाएको गुनासो गरे ।

स्वास्थ्य र शिक्षाका कर्मचारीले संयुक्त रुपमा पाउनु पर्ने सेवा सुविधा नपाउँदा धर्नामा बस्दै आएका छन् । धर्नाका कारण स्वास्थ्य सेवासमेत प्रभावित हुने गरको स्थानीयको भनाइ छ ।


क्याटेगोरी : पालिका स्वास्थ्य, प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ