२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘कुष्ठरोग गरिब देशका जनताको रोग भएकाले खोप बन्न सकेन’

‘कुष्ठरोग गरिब देशका जनताको रोग भएकाले खोप बन्न सकेन’


पोखरा – कुष्ठरोग गरिब देशका जनताको रोग भएकाले खोप नबनेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले बताएका छन् । ६८ औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा गण्डकी प्रदेश निर्देशनालयले शनिबार आयोजना गरेको कोरोना महामारीमा संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता विषयक पत्रकार अन्तरक्रियामा  उनले सो टिप्पणी गरेका हुन् ।

अन्तरक्रियामा सहजीकरण गर्दै  निरीक्षक लक्ष्मण बसौलाले विकसित देशमा कुष्ठरोग उन्मूलन भइसकेकाले खोप नबनेको स्पष्ट पारे ।
कोरोनाले विकसित र धनी देशहरुमा पनि ठूलो क्षति पु¥याएकाले छिट्टै कोरोनाविरुद्धको खोप बनेको उनको तर्क थियो ।

कुष्ठरोगविरुद्धको खोप नबने पनि औषधी भने बनेको छ । क्षय-कुष्ठ निरीक्षक बसौलाका अनुसार औषधीको १ मात्रा मात्रै खाँदा पनि कुष्ठरोग नसर्ने हुन्छ तर निको भने हुँदैन ।

राष्ट्रिय कुष्ठरोग निवारण अभियान पहिलोपटक २०५६-५७ मा सञ्चालन गरिएको थियो । सन् २०२० सम्म आइपुग्दा सबै जिल्लामा कुष्ठरोग प्रकोपदर प्रति १० हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्यका साथ काम भइरहेकोमा कोभिडका कारण नयाँ रोगी पहिचानमा समस्या परेको निरीक्षक बसौलाको भनाइ छ ।

के हो त कुष्ठरोग ?

कुष्ठरोग देवीदेवताको श्रापका कारण वा पूर्वजन्मको पापको फल भन्ने गरिन्थ्यो तर यो सरुवा दीर्घ रोग हो । कुष्ठरोग माइक्रो ब्याक्टेरीयम लेप्रे नामक सूक्ष्म कीटाणुका कारण लाग्छ । कुष्ठरोगको उपचार नगरिएमा अंगभंगसमेत गराउन सक्छ । मानिसबाहेक अन्य जनावरमा नदेखिएको यो रोग मानिसबाट मानिसमा श्वासप्रश्वास र सीधा सम्पर्कको माध्यमबाट सर्छ ।

छाला र खास गरी हात, खुट्टा, अनुहारका स्नायूमा असर गर्छ । क्षयकुुष्ठ निरीक्षक बसौलाले भने,‘ कुष्ठरोग सरुवा भए पनि लामो समय सँगै सम्पर्कमा रहनेलाई मात्र सर्छ, लामो समय भनेको हप्तामा कम्तीमा २० घन्टा भन्दा बढी सम्पर्कमा रहने व्यक्ति बुझ्नुपर्छ । ’

गण्डकीमा कुष्ठरोगबाट पिडितको अवस्था

कुष्ठरोगको उपचार हुने भए पनि बिरामी खुलेर नआउने समस्या रहेको हरियो खर्क अस्पतालका छाला तथा कुष्ठरोग विशेषज्ञ डा. रमेश शर्माले बताए । नेपालभर गत आवको सूचांकअनुसार प्रति १० हजार जनसंख्यामा ०.६९ प्रतिशतको उपचार भइरहको छ । ७ प्रदेशमध्ये गण्डकी सबैभन्दा कम ०.४० प्रकोपदर रहको प्रदेश हो ।

गण्डकी प्रदशेका पर्वत र मनाङमा कुष्ठरोगका बिरामी फेला नपरेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार प्रति १ लाख जनसंख्यामा म्याग्दीमा ९, मुस्ताङमा ८.६३, लमजुङ ५.२४, कास्की ४.६४ का दरले नयाँ बिरामी फेला परेका छन् । यस्तै नवलपुरमा ३.९९, स्याङ्जामा ३.५६, गोरखामा १.६१, बागलुङमा ०.७१ का दरले नयाँ बिरामी पत्ता लागेको निर्देशनालयले उल्लेख गरेको छ ।

निजी अस्पतालमा पाइँदैन औषधी

सरकारी स्वामित्वका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्रेषण केन्द्रहरुमा कुष्ठरोगको औषधी निशुल्क पाइन्छ । तर यो औषधी निजी अस्पताल र फार्मेसीमा किन्न पाइँदैन । बहुऔषधी उपचारबाट निको हुने यो रोग निको हुन ६ देखि १२ महिनासम्म औषधी खानुपर्ने हुन्छ । ढिलो उपचारमा पुगेका बिरामीको अवस्था स्थिर रहे पनि पूर्ववत् अवस्थामा फर्कन नसक्ने छाला तथा कुष्ठ रोग विशेषज्ञ डा. रमेश शर्माले प्रष्ट पारे ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ