२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विशेषज्ञ चिकित्सकको दरबन्दी ११ जना, अस्पताल एक जना विशेषज्ञका भरमा चल्दै

विशेषज्ञ चिकित्सकको दरबन्दी ११ जना, अस्पताल एक जना विशेषज्ञका भरमा चल्दै

अस्पतालमा नर्सिङ स्टाफ पनि एकजना मात्रै


सिरहा—प्रदेश २ को प्रमुख अस्पतालमध्ये एक सिरहा अस्पतालमा जनशक्तिको चरम अभाव देखिएको छ । अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा अहिले १ जना विशेषज्ञ चिकित्सक मात्रै रहेका छन् । ती पनि प्रशासनिक नेतृत्वसमेत गर्ने मेडिकल सुपरिटेन्डेन्ट ।

सिरहा, धनुषाको पूर्वी भाग र भारतको जयनगरसम्मका बिरामीलाई सेवा दिइरहेको यो अस्पतालमा विशेषज्ञ चिकित्सक मात्रै होइनन्, मेडिकल अफिसर पनि दरबन्दीअनुसार छैनन् । ५ जना मेडिकल अफिसरको दरबन्दी रहेकामा अहिले २ जना मात्रै कार्यरत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नगेन्द्रप्रसाद यादवले जानकारी दिए ।

‘११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएकोमा म एक जना मात्रै छु,’ उनले हेल्थआवाजसँग भने, ‘बाँकी १० वटा पद रिक्त रहेको छ । ५ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा २ जना मात्रै छन् ।’ एक जना बाल रोग विशेषज्ञ भने अस्पताल विकास समितिको तर्फबाट कार्यरत छन् । अस्पतालमा अन्य कर्मचारीको पनि उतिकै अभाव छ ।

६ वटा जना नर्सिङ स्टाफको दरबन्दी रहेकोमा १ जनामात्रै स्टाफ नर्स कार्यरत रहेको मेसु डा. यादवले जानकारी दिए । अनमीको ५ वटा दरबन्दी रहेकोमा सबै खाली छ । प्यारामेडिक्सतर्फ ४ जनाको दरबन्दी रहेकोमा अहिले २ जना मात्रै छन् । जसमध्ये एकजनालाई प्रदेश सरकारले काजमा प्रदेशमै राखेको छ । यस्तै, अस्पतालमा फार्मेसी, सुब्बा, लेखातर्फको दरवन्दी पनि खाली छ ।

‘यस्तो अवस्थामा अस्पताल चलाइरहेका छौं,’ उनले भने, ‘निकै गाह्रो छ ।’ डा. यादवले अस्पतालका लागि धेरै पटक दरबन्दी माग गरिसकेको बताए । अस्पतालहरुमा दरबन्दीअनुसारको जनशक्ति नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालले विज्ञापन गरेर पूर्ति गर्न सक्ने निर्णय गरेको छ । जसअनुसार पाल्पा अस्पताललगायत त्यो प्रक्रिया पनि सुरु गरिसकेका छन् ।

तर, प्रदेश २ सरकारले भने अस्पतालहरुलाई विज्ञापन निकालेर पदपूर्ति नगर्न पत्राचार गरेपछि सिरहा अस्पतालमा त्यो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन । ‘स्वास्थ्य मन्त्रालयले जुन अस्पतालमा जति दरवन्दी आवश्यक छ त्यो अनुसार फुलफिल छैन भने एकैपटक सूचना निकालेर कर्मचारी राख्न भनेको छ,’ उनले भने, ‘तर, प्रदेश सरकारले त्यो अनुमति दिएको छैन । त्यसको साटो तपाईहरु कुनै विज्ञापन नगर्नुस् भनेर चिठी आयो । यस्तो अवस्थामा कसरी अस्पताल चलाउने ?’

अहिले अस्पतालमा दैनिक औसत १ सय ५० हाराहारीमा बिरामी उपचारका लागि आइपुग्छन् । अस्पतालले झण्डै एक दर्जन सेवाहरु दिइरहेको छ । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालले रेडियोलोजी, अर्थोपेडिक, गाइनो सेवाहरु दिन सकेको छैन ।

मेसु डा. यादवले आफै जनरल सर्जन भएका कारण सर्जरी सेवा पनि दिइरहेको बताए । ‘म आफै जनरल सर्जन भएकाले सर्जरी सेवा पनि अस्पतालले दिदैं आएको छ,’ उनले भने । यस्तै, ०७५ मा डा. यादव मेसु बनेर अस्पताल गएपछि अस्पतालले आफ्नै फार्मेसी, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स—रे, डाइलाइसिस, प्रसुतिजस्ता सेवाहरु पनि दिइरहेको छ । ‘जेनतेनले हामी अस्पताल चलाइरहेका छौं,’ उनले भने, ‘पर्याप्त जनशक्ति भएमा अस्पतालले अरु पनि थुप्रै सेवाहरु दिन सक्छ ।’

५० बेडको सिरहा अस्पतालले अहिले ८७ बेड सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ