२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले मात्र डेंगु नियन्त्रण गर्न सक्दैन् : मन्त्री यादव

स्वास्थ्य मन्त्रालयले मात्र डेंगु नियन्त्रण गर्न सक्दैन् : मन्त्री यादव


काठमाडौं–डेंगुले महामारीको रुप लिएपछि उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नियन्त्रणका लागि सबै क्षेत्रलाई सहयोगको आव्हान गरेका छन् । बिहिबार मन्त्रालयमा सर्वपक्षीय बैठक आयोजना गरी डेंगु नियन्त्रणका लागि जो जहाँ छ त्यहीबाट यसको नियन्त्रणमा सहयोग गर्न उनले आव्हान गरेका हुन् ।

‘यो सबैको सरोकारको विषय हो,’ उनले भने, ‘नियन्त्रण गर्न सबैको उत्तिकै दायित्व पनि छ ।’

स्वास्थ्य मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दैं उनले सरोकारवाला मन्त्रालय, नागरिक समाज, संघसंस्था र संचारमाध्यमलाई सहकार्यको लागि आव्हान गरे । ‘स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न सक्दैन्,’ उनले भने, ‘हाम्रा अस्पताल र स्वास्थ्यकर्मीले त बिरामी भइसकेपछि उपचार गरेर निको बनाउँछन्, त्यसमा कमी हुँदैन् ।’  मन्त्रालयले आफूले सक्ने काम गरिरहेको भन्दै नियन्त्रणका लागि स्थानीय तह बढी सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले डेंगु नियन्त्रणमा मन्त्रालय गम्भीर रहेको बताउँदैं भेक्टर कन्ट्रोल सम्बन्धी कर्मचारी व्यवस्थापनमा समस्या भएकोले त्यसलाई चाडै सुल्झाइने बताए ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले स्वास्थ्यका कर्मचारी तहबाट मात्र डेंगु नियन्त्रण असम्भव भएकोले राजनीतिक तहबाटै यसको नियन्त्रणको लागि इच्छाशक्ति आवश्यक भएको बताइन् ।

‘रोग लागिसकेपछि उपचारको पाटो एउटा हो, जुन हामीले गरिरहेका छौं,’ उनले भनिन्, ‘तर डेंगुको स्रोत नै निर्मुल गर्न राजनीतिक प्रतिवद्धता चाहिन्छ ।’ अन्य मन्त्रालयले यसलाई गहन रुपमा नलिएको उनको गुनासो छ । डेंगु नियन्त्रण गर्ने स्थानीय सरकारको कार्यक्षेत्र पर्ने भएको हुँदा एउटा सरकारले अर्को सरकारको काममा इन्टरफेयर गर्न गाह्रो रहेको उनले बताइन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मन्त्रालयको काम स्थानीय तहलाई सक्षम बनाउने भूमिका मात्र रहेको बताए । उनले डेंगु फैलाउने लामखुट्टे निर्मुल नपारेसम्म समस्याको समाधान नहुने बताए ।

गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा पुगेको छ । अहिलेसम्म ४ हजार २ सयभन्दा बढी विरामी भएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ