२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णालीका पाँच जिल्लामा ५० शैय्याको अस्पताल बन्ने

कर्णालीका पाँच जिल्लामा ५० शैय्याको अस्पताल बन्ने


जुम्ला – कर्णाली प्रदेशका पाँच जिल्लामा ५०-५० शैय्याको अस्पताल बन्ने भएको छ । दूर दराजका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य अनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको १ अर्ब ५० करोड लगानीमा कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा ५० शैय्याको अस्पताल निर्माण हुने भएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले कर्णालीका पाँच वटै जिल्लामा अस्पताल निर्माण अघि बढाएको कार्यालयका सब इन्जिनियर चन्द्र खड्काले बताए । उनका अनुसार आउँदो तीन वर्षभित्र पाँचवटै जिल्लामा ५०-५० शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण सम्पन्न हुनेछ ।

उनले भने, ‘सरकारको एक स्थानीय तह एक अस्पताल, हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रसँगै दुर्गमका जिल्लामा सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छ । जसअन्तर्गत तीन वर्षभित्र कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकम पश्चिम र सल्यानमा १ अर्ब ५० करोडको लागतमा ५० शैय्याको अस्पताल निर्माण हुँदै छन् ।

पाँच जिल्ला मध्य हुम्ला, दैलेख र सल्यानमा अस्पताल निर्माणका लागि बोलपत्र भएर काम अघि बढेको छ । डोल्पा र रुकुम पश्चिम जिल्लाको प्रक्रियामै रहेको छ । बहुवर्षीय आयोजनाका रुपमा तीन वर्षभित्र अस्पताल निर्माण गरी हस्तान्तरण गर्ने सब इन्जिनियर खड्काको भनाई छ ।

तीन वर्षभित्र कर्णालीका पाँच जिल्लामा ५०-५० शैय्याको अस्पताल निर्माण हुने गरी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको हो ।

हुम्लामा २९ करोड ६६ लाख, डोल्पामा २९ करोड १९ लाख बजेट विनियोजन भएको छ । त्यस्तै, दैलेखमा ३६ करोड ३६ लाख, सल्यानमा २८ करोड र रुकुम पश्चिममा २८ करोड ९१ लाख गरी तीन वर्षमा अस्पताल निर्माण सम्पन्न हुने गरी १ अर्ब ५० करोड बजेट विनियोजन भएको हो । सातै प्रदेश मध्ये संघीय सरकारले कर्णालीमा नमुना कामका रुपमा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणलाई प्रथामिकता दिएको पाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ