२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना भाइरस विरुद्धको दोस्रो खोप अभियान रुपन्देहीमा

कोरोना भाइरस विरुद्धको दोस्रो खोप अभियान रुपन्देहीमा


बुटवल—रुपन्देही जिल्लामा दोस्रो चरण अन्तर्गतको खोप अभियान आइतबारदेखि सुरु भएको छ । यो अभियान जिल्लाका ८ वटा पालिकामा सुरु भएको हो ।

चरणवद्ध रुपमा खोप लगाउने योजनाअनुरुप १६ पालिकामध्ये ८ पालिकामा जेष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप दिन लागिएको छ ।

दोस्रो चरणको अभियानअन्तर्गत रुपन्देहीका तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र रोहिणी गाउँपालिका रहेका छन् ।

आइतबारदेखि सुरु अभियानमा जिल्लाका सबै जेष्ठ नागरिकलाई खोप दिने गरी व्यवस्थापन भैरहेको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. गिरीकाअनुसार रुपन्देहीका १६ पालिकामा रहेका ६५ वर्षभन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई दुई चरणमा कोरोना बिरुद्धको खोप लगाइने छ । जिल्लाभरी खोप कार्यक्रम संचालनका लागि ८३ खोप केन्द्र, ५ सय ५८ स्वास्थ्यकर्मी र २ सय ४६ स्वयमंसेवक परिचालन गरिनेछ । यद्यपि, आइतबारबाट सुरु हुने अभियानका लागि भने ४६ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

यसअघि बुटबल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिकामा खोप लगाइसकिएको छ ।

खोप लगाएपछि हुनसक्ने आपतकालीन अवस्थाका लागि पूर्व तयारी समेत भएको डा. गिरीले बताए । आप्तालीन अवस्थाका लागि सबै पालिकाहरुमा चिकित्सकसहितको टोलीको ब्यवस्थापन गरिएको उनले बताए ।

खोप अभियानको अनुगमन समेत गर्ने गरी संयन्त्र तयार भएको उनको भनाइ छ । अनुगमनका लागि पालिका प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला खोप समन्य इकाईको सहभागितामा अनुगमन, सुपरिवेक्षण र सहजीकरणको व्यवस्था मिलाइएको डा. गिरीले बताए ।

पहिलो डोज खोप लगाएको १० देखि १२ हप्ताको फरकमा दोस्रो डोज खोप लगाउनुपर्छ । त्यसका लागि समेत तयारी गरिएको उनले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ