२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशउपभोक्ता आफैं सचेत हुनुपर्नेमा जोड

उपभोक्ता आफैं सचेत हुनुपर्नेमा जोड


दोलखा – आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न सङ्घ संस्थाहरूले सो दिवसको  अवसरमा गोष्ठी, अन्तरक्रिया तथा चेतनामूलक कार्यक्रमहरू गरी मनाउने गर्दछन।

समयसमयमा अनुगमन हुँदा पनि अधिकांश व्यापारीले म्याद नाघेको सामान विक्री वितरण गर्ने पाएकाले उपभोक्ताहरु आफैं संचेत हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । विश्व खाद्य दिवसको अवसरमा दोलखा भिमेश्वर नगरपालिकामा  आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त धारणा राखेका हुन् ।

सो कार्यक्रममा प्लाष्टिक निरुत्साहन, वातावरण संरक्षणमा योगदानको साथै “उपभोक्ताको मौलिक हक कार्यान्वयनमा हाम्रो चासो, तिनै तहमा उपभोक्ता संरक्षण नीति तर्जुमाको खाँचो” भन्ने नाराकासाथ भीमेश्वर नगरपालिकाले जिल्लामा देखिएका कमीकमजोरीको विषयमा समीक्षा गरेको छ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख भरत बहादुर केसीले दोलखाको विभन्न बजार अनुगमन गर्दा अधिकांश व्यापारीले म्याद नाघेको सामान विक्री वितरण गर्ने पाएकाले उपभोक्ताहरु आफै सचेत हुनुपर्ने बताए ।

उनले उपभोक्ताहरु आफै सचेत नभएसम्म सुधार नआउने जनाए। विशेष गरी दोलखाको उत्तरी क्षेत्रमा बढी मात्रमा म्याद नाघेका र नामै नसुनेका पेय पदार्थ र दैनिक उपभोग्यवस्तु बिक्री तिवरण गर्ने पाइएको उनको भनाई छ।

दैनिक उपभोग्यवस्तुहरु खाने तेल, तरकारी, चामल, पेय पदार्थ र फलफुललगायतमा म्याद नाघेका र कम तौलका वस्तु विक्री वितरण गर्ने पाइएकाले उपभोक्ताहरु चनाखो हुनुपर्ने दोलखाका अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले बताए ।

अनुगमन समितिमार्फत छिट्टैनै बजार अनुगमन गरी उपभोक्ताहरुलाई ताजा र गुणस्तर सामानको लागि भीमेश्वर नगरपालिका प्रतिवद्ध रहेको नगर प्रमुखले जानकारी दिए ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारी, प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, उपभोक्ता मञ्च दोलखाका अध्यक्ष कुमार लगुन, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगायतले मन्तव्य व्यक्त गरेका हुन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ