२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१४ लाख छात्रालाई साढे २ अर्बको प्याड वितरणको तयारीमा सरकार

१४ लाख छात्रालाई साढे २ अर्बको प्याड वितरणको तयारीमा सरकार


काठमाडौं—सरकारले विद्यालयमा अध्ययन गर्ने छात्राको लागि साढे दुई अर्ब भन्दा बढीको सेनिटरी प्याड बाँड्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले एक वर्षका लागि २ अर्ब ५६ करोड ४९ लाख १२ हजार ६ सय १९ रुपैयाँ खर्च हुने प्रस्ताव तयार गरेको हो । सो प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्मा लाने तयारी गरेको छ ।

सरकारी विद्यालयमा ६ देखि १२ कक्षासम्म अध्ययन गर्ने १४ लाख ३७ हजार ६ सय ९३ छात्रालाई आधार मानेर वार्षिक १८ सयका दरले प्याडसहितको किट उपलब्ध गराउने गरी प्याकेज तयार गरिएको महाशाखाका निर्देशक डा. भीम सिंह तिंकरीले बताए । सो प्याकेजलाई ‘महिनावारी व्यवस्थापन किट’ नामाकरण गरिएको छ ।

‘हामीले शिक्षा मन्त्रालयले उपलब्ध गराएको छात्राहरुको तथ्यांकका आधारमा खर्च प्रस्ताव गरेका हौं,’ डा. तिंकरीले हेल्थ आवाजसँग भने ‘सरदर एक जनाको लागि वार्षिक १८ सयको प्याकेज तयार गरेका छौं ।’ प्याकेजमा सेनेटरी प्याड, पेन्टी र हात धुने सावुन हुन्छ । सरकारले सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई मात्र प्याड वितरण गर्ने तयारी गरेको छ ।

महिनावारीका कारण सरकारी विद्यालयमा अध्ययनरत छात्राको विद्यालय उपस्थिती न्यून भएको भन्दैं सरकारको नीति तथा कार्यक्रममा निःशुल्क सेनिटरी प्याड बाड्ने घोषणा गरेको थियो । तर, रातो किताबमा बजेट नछुटिदा कार्यन्वयन कसरी गर्ने भन्ने सरकारी अधिकारीहरु अन्योलमा परेका थिए ।

प्रधानन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष चासोमा निशुःल्क प्याड वितरण योजना सरकारको नीति तथा कार्यक्रममा परेको थियो । बजेटमा यो विषय नसमेटिए पनि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई जसरी पनि प्याडका लागि बजेट व्यवस्था गर्न निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयलाई कार्यन्वयन निर्देशिका तयार गर्न लगाइएको हो ।

निःशुल्क प्याड वितरणको अधिकांश जिम्मा स्थानीय तहलाई दिनेगरी निर्देशिकाको ड्राफ्ट तयार गरिएको छ । प्रस्तावित जम्मा रकममध्ये केन्द्र सरकारलाई २६ लाख, प्रदेश सरकारलाई २ करोड छुट्याइएको छ । बाँकी रकम भने ७ सय ५७ वटै स्थानीय सरकारलाई छात्राको संख्या अनुपातमा रकम पठाउने प्रस्ताव गरिएको छ । केन्द्रका लागि प्रस्ताव गरिएको २६ लाखले प्रारम्भिक चरण सुरुवाती गर्ने, तालिम तथा सहजीकरणको लागि खर्च हुने उल्लेख छ । त्यस्तै, प्रदेश सरकारको लागि छुट्याइएको २ करोड रकम पनि तालिम, सहजीकरण र समन्वयका लागि खर्च हुनेछ ।

प्रस्तावित कार्यक्रममा सेनेटरी प्याड वातावरणमैत्री (छोटो समयमा कुहिएर जाने) हुनुपर्ने, प्याड वितरण सँगसँगै महिनावारीमा स्वास्थ्य व्यवस्थापन तालिम संचालन गर्ने, छात्रा मैत्री विद्यालय संरचनामा जोड दिने उल्लेख छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ