२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअन्धविश्वास र कू-संस्कार मानसिक स्वास्थ्य उपचारमा बाधक

अन्धविश्वास र कू-संस्कार मानसिक स्वास्थ्य उपचारमा बाधक


काठमाडौं–समाजमा विद्यमान अन्धविश्वास र कू-संस्कारका कारण मानसिक स्वास्थ्यको उपचार सेवा प्रभावकारी हुन नसकेको विज्ञहरुले गुनासो गरेका छन् । मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याका कारण वर्षेनी हजारौ मानिसको अकालमा मृत्यु भइरहेका बेला विज्ञहरुले यस्तो गुनासो गरेका हुन् ।

‘मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था र चुनौती’ बारे शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले समाजमा व्याप्त पुरातन सोचका कारण मानसिक स्वास्थ्यको उपचार प्रभावकारी नभएको बताए । ‘नेपालमा मानसिक रोगको कुनै उपचार छैन् । यो रोग श्रापका कारण हुन्छ भन्ने भ्रम अझै पनि समाजमा व्याप्त छ,’ प्रवत्ता श्रेष्ठले भने, ‘विगत लामो समयदेखि मानसिक रोग सरकारको प्राथमिकतामा नै परेन ।’ मानसिक स्वास्थ्यको क्षेत्रमा हुने लगानीले गुणस्तरीय जीवन सुनिश्चित गर्न सकिने उनको धारणा छ ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.दिपेन्द्र रमण सिंहले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै सरोकारवाला संस्थाबीच समन्वय हुनुपर्नेमा जोड दिए । स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले सामाजिक समस्या, जैविक, अनुवांशिक, साँस्कृतिक लगायतका तत्वले आत्महत्यामा भूमिका खेल्ने बताए ।

उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलले नेपालमा ‘इस्यु बेस्ड’ भएर बहस गर्ने प्रवृत्ति रहेको भन्दै यस्तो प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताए । सरकारले मानसिक स्वस्थ्य प्रभावितलाई ४३ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने तयारी गरीरहेको पनि उनले जानकारी दिए ।

आत्महत्या गर्नेमा कस्ता लक्षण देखिन्छन् ?

नेपालमा अझै पनि आत्महत्याका विषयमा विभिन्न भ्रम छन् । आत्महत्या गर्ने व्यक्तिले अरुको ध्यानाकर्षण गर्नकै लागि आत्महत्या गर्छन् भन्ने भ्रम छ । सबैजसो आत्महत्या आवेगमा आएर गर्ने धारणा छ ।

तर, अधिकांश आत्महत्या योजनाबद्ध रुपमा गरिएका हुन्छन् । आत्महत्या गर्नुअघि व्यक्तिमा विभिन्न लक्षणहरु देखापर्छन् ।

  • छटपटी र एक्लोपन महसुस हुनु
  • लागुऔषध तथा मादकपदार्थ सेवन गर्नु
  • निद्रामा गडबडी
  • भावनात्मक उतारचढाव
  • भविष्यप्रति निराश
  • हेलचेक्राइपूर्ण व्यवहार
  • साथीभाइ तथा आफन्तबाट टाढिंदै जानु
  • सामाजिक सञ्जालमा निराशाजनक अभिव्यक्ति प्रकट गर्नु

विश्वमा आत्महत्याको अवस्था

विश्व स्वास्थ्य संगठनको सन् २०१० को तथ्यांकअनुसार विश्वमा वार्षिक ८ लाख मानिसले आत्महत्या गर्छन, जसमध्ये ९० प्रतिशत घटना मानसिक समस्यासँग जोडिएको छ ।

जन्मेदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्यालाई बतार्ईएको छ । विश्वमा १ जनाले आत्महत्या गर्दा २० जनाले त्यस्तो प्रयास गरिरहेको हुन अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेण्डमा १ जनाको आत्महत्याका कारण ज्यान जाने गरेको छ ।

के छ नेपालको अवस्था ?

नेपाल प्रहरीको आर्थिक वर्ष २०७५/०७६ को तथ्यांक अनुसार नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन् । जसमा १८ भन्दा कम उमेरका ९ प्रतिशत, १९ देखि ३५ वर्ष उमेर समुहका ४० प्रतिशत, ३६ देखि ५० वर्ष सम्मका ३० प्रतिसत, ५१ वर्षदेखि ६९ वर्ष उमेर समुहका १६ प्रतिशत तथा ७० वर्ष मााथिका ५ प्रतिशत छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार वैदेशिक रोजगारका क्रममा मृत्युहुने मध्ये १०.४ प्रतिशत मृत्यु आत्महत्याका कारण हुने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ