२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसीमा नाकाहरुमा आवतजावतमा भिडभाड, कोरोना संक्रमणको अवस्था डरलाग्दो हुने चिन्ता

सीमा नाकाहरुमा आवतजावतमा भिडभाड, कोरोना संक्रमणको अवस्था डरलाग्दो हुने चिन्ता


बुटवल—सीमा नाका र भिडभाड नियन्त्रण गर्न नसके कोरोना संक्रमणको अवस्था डरलाग्दो हुने चिन्ता बढ्दै गएको छ । लुम्बिनी प्रदेशअन्तर्गतका नेपाल भारत सीमा नाकाहरुमा विगतको झल्को दिने गरी आवतजावत बढ्न थालेसँगै कोरोना भाइरस संक्रमणको जोखिम उच्च बन्दै गएको हो ।

सीमा नाकामा समान्य जनस्वाथ्यका मापदण्डको परिपालना नहुँदा संक्रमण बढ्ने खतरा बढेको छ । भारतमा कोरोना संक्रमणको दर उच्च भएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू प्रदेशका विभिन्न नाका हुँदै नेपाल फर्किन थालेका छन् । यसरी फर्कनेहरुको सीमा नाकामा सामान्य ज्वरो समेत नाप्ने गरिएको छैन ।

रूपन्देहीको बेलहिया, पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, रूपडिया, नाका हुँदै नेपाल फर्किनेको लामो लर्को लाग्न थालेको छ । ती नाकाहरुमा आउनेहरुको कोरोना संक्रमणको अवस्थाका बारेमा खासै चासो र सावधानी अपनाइएको छैन ।
सीमा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि सावधानीका कुनै संयन्त्र सक्रिय नहुँदा फेरि नेपालमा कोरोना संकट आउन सक्ने चिन्ता बढेको छ ।

सीमा नाकाहरुमा ‘हेल्थ डेक्स’ राखे पनि प्रभावकारी हुन भने सकेको छैन । औपचारिकता मात्रै सिमित रहेको पाइएको छ । ‘खै ज्वरो नापेजस्तो गरेका थिए । अरु त नाम ठेगाना र कहाँबाट आएको भनेर सोधेका हुन्,’ अर्घाखाँची स्थायी घर भएका भारतको उत्तरप्रदेश लखनउबाट आएका राम प्रसाद बन्जाडेले भने, ‘नाकामा खासै कडा छैन् ।’

कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको लुम्बिनी प्रदेशमा केही दिन यता मृत्युदरमा समेत वृद्धि भएको छ । पछिल्लो समय देखा परेको कोरोनाको ‘युके भेरिएन्ट’ संक्रामक रहेको चिकित्सकहरु बताउँछन् । ‘अहिले देखा परेको नयाँ भेरिएन्ट अलि बढी संक्रामक देखिएको छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले भने, ‘सचेत हुनुपर्ने अवस्था छ ।’

लुम्बिनी प्रादेशिक अस्पतालमा समेत कोरोना संक्रमित बिरामीहरुको चाप बढ्न थालेको छ भने मृत्यु हुनेको संख्यामा समेत वृद्धि भएको छ । सोमबार मात्रै लुम्बिनी प्रादेशिक अस्पतालमा तीन जनाको मृत्यु भएको थियो ।

गत कात्तिकपछि संक्रमण दर घट्दै गएर शुन्यमा झरेका केही जिल्लाहरुमा पनि पछिल्लो समय संक्रमितहरु बढ्न थालेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ