२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनाकामा अनिवार्य ‘एन्टीजेन’ परीक्षण, पोजेटिभ देखिए अस्पताल वा क्वारेन्टाइन पठाइने

नाकामा अनिवार्य ‘एन्टीजेन’ परीक्षण, पोजेटिभ देखिए अस्पताल वा क्वारेन्टाइन पठाइने


बुटवल—रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल आउने नागरिकलाई अनिवार्य ‘एन्टीजेन’ परीक्षण गरिने भएको छ । एन्टीजेन परीक्षण गर्दा पोजेटीभ देखिएमा अस्पताल वा आइसोलेसन सेन्टरमा पठाइने भएको हो ।

त्यसका लागि जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो पालिका भित्रका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टाइन र आइसोलेसन केन्द्र तत्काल तयार गर्नुपर्नेछ ।

जिल्लास्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसी रुपन्देहीको शनिबार बसेको बैठकले नाकामा तयार गरिएको होल्डिङ सेन्टरमा प्रारम्भिक स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य जाँचका क्रममा शंका लागेमा अनिवार्य एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ । यसरी एन्टीजेन परीक्षण गर्दा पोजेटीभ देखिएकालाई सम्बन्धित अस्पताल वा आइसोलेसन सेन्टर पठाउने निर्णय भएको डिसीसीएमसीका संयोजक एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

हाल कोरोना अस्पतालका रुपमा बुटवल धागो कारखानामा संचालनमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवामा रहेको भिम अस्पतालको क्षमता वृद्धि गर्न नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने समेत डिसीसीएमसीले निर्णय गरेको छ । बैठकले हाल रहेको अस्पतालको क्षमतालाई वृद्धि गरी १५–१५ वेडको स्क्रीनिङ सेन्टर बनाउने र भेन्टिलेटर थप गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हालसम्म भएको कार्यहरुको समीक्षा गर्दै रुपन्देहीमा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्न दिने निर्णय भएको छ । योसँगै स्थानीय तहहरुले आ–आफ्नो पालिकाअन्तर्गतका सबै विद्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पूर्ण रुपमा पालना हुने गरी विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने छन् ।

बैठकले व्यवसायमाथि पनि नियन्त्रण गर्ने गरी राति ९ बजेसम्म मात्र सबै प्रकारका व्यवसाय संचालन गर्न पाउने गरी निर्णय गरेको छ । त्यस्तै बैठकले सार्वजनिक यातायातमा भिडभाड कम गर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, सवारी साधनमा मास्क सेनिटाइजरको प्रयोगलाई अनिवार्य गर्नेलगायतका मापदण्ड तोकेको छ ।

रुपन्देहीका स्थानीय तहका प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ