२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटले संचालनमा ल्यायो १ सय शैय्याको कोभिड अस्पताल

विराटले संचालनमा ल्यायो १ सय शैय्याको कोभिड अस्पताल


विराटनगर—कोभिड—१९ को दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि मोरङको बुढीगंगा गाउँपालिका—१ टंकीसनवारीमा रहेको विराट टिचिङ हस्पिटलले कोभिड उपचार केन्द्र संचालनमा ल्याएको छ ।

पछिल्लो समय प्रदेश १ को राधजानी विराटनगरसहित अन्य जिल्लाहरूमा संक्रमण बढेपछि विराटले १ सय शैय्याको कोभिड उपचार केन्द्र संचालनमा ल्याएको हो ।

अस्पतालले संचालनमा ल्याएको कोभिड उपचार केन्द्रमा २५ शैय्याको आइसीयु र बाँकी रहेको ७५ वेड अक्सिजनसहितको रहेको विराट टिचिङ हस्पिटलका प्रशासन प्रमुख सन्तोष निरौलाले जानकारी दिए । कोभिडका बिरामीलाई उपचार गर्ने छुट्टै भवन रहेको छ ।

‘पहिला संक्रमण फैलिदा संचालनमा ल्याएको कोभिड उपचार केन्द्रको पूर्वाधार तयारी अवस्था थियो । संक्रमण बढेपछि प्रदेश सरकारको आग्रहअनुसार कोभिड अस्पताल संचालनमा ल्याएका छौं,’ उनले भने, ‘अहिले ३४ जना कोरोना संक्रमण देखिएका बिरामी भर्ना भएका छन् । जसमध्ये ७ जना बिरामीको आईसीयुमा उपचार भइरहेको छ ।’ बाँकी रहेका संक्रमित जनरल बेडमा रहेको हस्पिटलले जनाएको छ ।

८ वैशाखदेखि संचालनमा ल्याएको कोभिड हस्पिटलमा भर्ना भएका बिरामी स्वयंले खर्च व्यहोर्नु पर्नेछ । पहिलो चरणमा कोरोना संक्रमण देखिँदा प्रदेश सरकारले उपचार खर्च दिने गरेको थियो । ‘अहिले भर्ना भएका बिरामी स्वयंले खर्च गरेर उपचार गर्दै आएका छन्,’ प्रशासन प्रमुख निरौलाले भने । विराटको कोभिड उपचार केन्द्रमा आईसीयुमा राखेर उपचार गरेको बिरामीको दैनिकको खर्च ३५ हजार रुपैयाँ लाग्ने गरेको छ भने जनरल बेडको ८ हजार ५ सय रुपैयाँ । उक्त रकममा विहान र बेलुकाको खाना एवं खाजा पैसामा पनि जोडिएको छ ।

‘संक्रमितको उपचार खर्चको लागि प्रदेश सरकारलाई हामीले प्रपोजल पठाएका छौं,’ कोभिड उपचार केन्द्रका इन्चार्ज सुनिल देवले भने, ‘संक्रमितको खर्च प्रदेश सरकारले व्यवहोरिदिए बिरामीलाई राहत मिल्नेछ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ