२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा २१ भेन्टिलेटरसहितको आईसीयु र ८३ बेडको अक्सिजन वार्ड सुरू

कोशीमा २१ भेन्टिलेटरसहितको आईसीयु र ८३ बेडको अक्सिजन वार्ड सुरू

कोशी कोभिड उपचार केन्द्र पूर्णक्षमतामा संचालनमा, जनशक्ति अभाव


विराटनगर—प्रदेश १ सरकारले विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा थप ९६ शैय्याको अस्पताल संचालनमा ल्याएको छ । शुक्रबारदेखि संचालनमा आएको अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आईसीयु र ८३ वटा अक्सिजनसहितको शैय्या रहेको छ ।

प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टीकृत सेवासहितको कोभिड अस्पताल पूर्ण क्षमतामा संचालनमा आएको हो । प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरेर संचालनमा आएको कोभिड उपचार केन्द्रमा तीन वटा ब्लक रहेको छ ।

दुई वटा जनरल र एउटामा हाइडिपेन्डेन्सी युनिट (एचडियु) वार्ड रहेको छ । एचडियु वार्डमा अत्याधुनिक उपकरण जडान गरेर भेन्टिलेटरसहितको आईसीयु २१ शैय्याको रहेको कोभिड उपचार केन्द्रका संयोजक बैजनाथ साहले जानकारी दिए ।

कोभिड—१९ उपचार केन्द्रमा हाल गम्भीर खालका ३२ संक्रमितको उपचार भइरहेको छ । यसअघि ८० बेडको रहेपनि ३२ शैय्या मात्र भेन्टिलेटरसहितको सेवा रहेकाले थप नयाँ संक्रमित अस्पतालमा भर्ना लिन समस्या थियो । प्रदेश सरकारसँगको सहकार्यमा गत पुस ५ गते नागरिक केयर सेन्टरले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोडको संयुक्त लगानी रहेको अस्पतालमा कोरोना उपचारका लागि तयार भएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले शुक्रबार अवलोकनपछि अस्पतालबाट सेवा सुरु भएको छ । विशिष्टीकृत अस्पतालको सेवा संचालनमा आएपछि मुख्यमन्त्री राईले गम्भीर खालका बिरामीको उपचार अब यही अस्पतालमा उपचार हुने बताए ।

संक्रमणको दर बढेर भयावक अवस्था आएमा निजी अस्पतालहरुसँग पनि सहकार्य गरेर संक्रमितको उपचारको प्रबन्ध प्रदेश सरकारले मिलाउने मुख्यमन्त्री राईले बताए । ‘अन्य जिल्लाहरूमा पनि २० शैय्याको आइसोलेसन, उपचार केन्द्र बनाउन निर्देशन दिएको छु । त्यसको लागि आवश्यक पर्ने बजेट पनि बिनायोजन भएको छ,’ मुख्यमन्त्री राईले भने ।

पूर्णक्षमतामा अस्पताल संचालनमा आयो, जनशक्ति अभाव

शुक्रबारदेखि कोशी अस्पतालअन्तर्गतको कोभिड उपचार केन्द्र पूर्णक्षमतामा सञ्चालनमा आएपनि जनशक्ति अभाव देखिएको छ । अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएपनि यस अस्पतालमा जनशक्तिको भने अभाब देखिएको हो ।

आईसीयु, एचडियु र भेन्टिलेटरसहितको सेवा विस्तार गर्दा अस्पताललाई ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरुको आवश्यकता पर्दछ । कोशी कोभिड अस्पतालमा अहिले ८ जना मेडिकल अधिकृत कार्यरत छन् । नर्सिङतर्फ ७ जना कर्मचारी कार्यरत छन् । अन्य कर्मचारी १२ जना र सरसफाईतर्फ ८ जना गरी अहिले ३३ जना जनशक्ति कार्यरत छ ।

३३ जना जनशक्तिबाट १७६ शैय्याको अस्पताल सञ्चालन गर्न कठिनाई हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । अस्पतालको क्षमता र सेवा विस्तार भएपछि जनशक्ति थप गर्ने तर्फ सरकारले ध्यान पु¥याउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । एउटा भेन्टिलेटर सुचारु राख्न न्यूनतम ६ देखि ८ जना जनशक्ति आवश्यक हुने भन्दै सोही अनुपातमा जनशक्ति व्यवस्थापन गर्न अस्पतालले सरकारलाई सुझाव दिएको छ ।


शैय्या विस्तार हुँदा जनशक्ति पनि थप गरेर अस्पताल संचालनमा गरिने सामाजिक विकास मन्त्रालयका सचिब गोविन्दबहादुर कार्कीले जानकारी दिए । ‘त्यही हिसाबले हामीले व्यवस्थापन गरेका छौं । थप ५ डाक्टर र १५ जना स्टाफ नर्सलाई शुक्रबार या त आइतबारसम्ममा आउने गरी हामीले बोलाएका छौं । त्यसले पनि नपुगेर संक्रमितको संख्या बढेमा थप करार सेवाबाट पनि स्वास्थ्यकर्मीहरु र अरू जनशक्ति थप गरेर लैजानेछौं,’ सचिव कार्कीले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ