२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रभावकारी बन्दै स्वास्थ्य विमा कार्यक्रम

प्रभावकारी बन्दै स्वास्थ्य विमा कार्यक्रम


धनगढी–सुदूरपश्चिमका ९ जिल्लामध्ये ७ जिल्लामा प्रारम्भिक चरणमा रहेको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस प्रदेशका ७ जिल्लाः कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाममा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउँदले बताए ।

सुदूरपश्चिममा सबैभन्दा पहिले २०७३ सालको जेठ १ गतेबाट स्वास्थ्य विमा कार्यक्रम सेवा प्रवाह गरेको कैलाली जिल्लामा हालसम्म एक लाख २४ हजार ३ सय ३३ जनाले स्वास्थ्य विमा गराएको स्वास्थ्य विमा बोर्डको तथ्यांक छ ।

यस्तै, बैतडीमा २०७३ फागुन १ गतेबाट सेवा संचालन गरिएकोमा हालसम्म ती जिल्लामा १० हजार ७२ जना विमित छन् । उता, अछाममा २३ हजार ८ सय २४ जना विमित छन् भने बझाङमा हालसम्म २७ हजार ७ सय ७३ को संख्यामा विमित छन् ।

यस्तै, दार्चुलामा हालसम्म ४ हजार २४१ जनाले स्वास्थ्य बीमा कार्यक्रमको सेवा लिएकोमा कंचनपुरमा भने ५ हजार ९१७ जनाले स्वास्थ्य विमा गराएको बोर्डको तथ्यांकमा उल्लेख छ । बाँकी २ जिल्लामा मंसिरसम्म सेवा आरम्भ हुने विभिन्न चरणमा नेपालका सबै जिल्लालाई समेट्नुपर्ने भएका कारण डडेल्धुरा र डोटीमा कार्यक्रम ढिला संचालन भएको प्रदेश संयोजक साउँदले बताए ।

आगामी मंसिरबाट ती दुवै जिल्लामा सेवा प्रवाह गरिने उनले जानकारी दिए । ‘अहिले यी दुवै जिल्लाका स्थानीय तहमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य विमा कार्यक्रम सम्बन्धी अभिमुखीकरण दिइरहेका छौँ । असोज मसान्तसम्म कार्यक्रम सकेपछि सबै वडामा दर्ता सहयोगी छनौट कार्यक्रम संचालन गरिने छ ।’ उनले भने ।

दर्ता सहयोगी छनौटपछि बोर्डको योजना अनुरूप मंसिर १ गतेबाट डडेल्धुरा र डोटीमा सेवा प्रभाव हुने साउँदले जानकारी दिए ।
नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । देशभर सबैभन्दा पहिले कैलालीबाट कार्यक्रम सुरु भएको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ