२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबेड अभाव हुन थालेपछि स्तरवृद्धि गर्दै लुम्बिनीका अस्पतालहरू

बेड अभाव हुन थालेपछि स्तरवृद्धि गर्दै लुम्बिनीका अस्पतालहरू


बुटवल-लुम्बिनी प्रदेशमा कोभिड-१९ का बिरामीका कारण बेड अभाव हुन थालेपछि जिल्लाका अस्पतालहरु स्तरवृद्धिमा लागेका छन् ।

रुपन्देहीमा कोभिड-१९ का बिरामी बढ्दै गएका छन् । योसँगै नर्मल आईसीयुले मात्र बिरामीको उपचार सम्भव नहुने देखेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले हाई डिपेन्डेन्सी युनिट (एचडीयु) सञ्चालन ल्याएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल धागो कारखानामा एचडीयुसहितका ३६ बेड बनाइएको छ । यसअघि अस्पतालमा १६ बेड आईसीयु, ३ एचडीयु र ३६ बेड सामान्य आइसोलेसनका रुपमा रहेका थिए ।

अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढेपछि अस्पतालले सामान्य आइसोलेसनलाई एचडीयुमा परिणत गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । ‘अक्सिजन र बेड अभावमा बिरामीको मृत्युदर समेत बढ्न थाल्यो,’ उनले भने, ‘सामान्य आइसोलेसन बेडमा अक्सिजन जोडेर एचडीयु सेवा सुरु गरेका छौं ।’

त्यस्तै, रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई भने पूर्ण रुपमा कोभिड अस्पताल बनाउने तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारले भिम अस्पताललाई पूर्णतयाः कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

भिम अस्पताल भैरहवामा २२ बेडको एचडीयु र आईसीयुसहितका ५ बेड छन् । अस्पतालमा कोभिडको मात्रै उपचार गर्दा ५० बेडको एचडीयु हुनेछ । यसले जिल्लामा बढ्दो कोभिड-१९ का बिरामीको चाप कम गर्न सहयोग हुने अपेक्षा प्रदेश सरकारको छ ।

उता कपिलवस्तु जिल्ला अस्पतालमा २ भेन्टीलेटरसहित २२ बेडको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याइएको छ । कपिलवस्तु अस्पतालको मातहतमा रहने गरी तौलिहवाको तत्कालीन महिला तथा बालबालिका कार्यालय भवनमा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याइएको हो । कपिलवस्तुमा कोरोना विशेष अस्पताल अभावमा बिरामीहरुलाई बुटवल, भैरहवा रिफर गर्नुपर्ने बाध्यता थियो ।

त्यस्तै, लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा पनि कोभिड-१९ का बिरामी बढेसँगै आइसोलेसन निर्माणको तयारी गरिएको छ । संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको र अधिकांश बिरामीहरुलाई अक्सिजनको सपोर्ट चाहिने हुँदा अक्सिजनको व्यवस्थापन गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले बताए ।

प्रदेशका नवलपरासी, पाल्पा, गुल्मी, प्युठानलगायतका जिल्लाहरुमा आइसोलेसन वार्डको सुरुवात गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ