२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल–भारत मैत्री अस्पतालमा राखेको कोभिड-१९का बिरामीको शुल्क ४५०००

नेपाल–भारत मैत्री अस्पतालमा राखेको कोभिड-१९का बिरामीको शुल्क ४५०००


काठमाडौं – मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालले कोभिड–१९ का बिरामीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ । सो अस्पतालले कोभिड-१९को बिरामीको एक दिन आईसीयू राखेको ४५ हजार रुपैयाँ तोकेको पाइएको छ ।

जबकी यो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सरकारी रेटमा कोभिड-१९ का बिरामी उपचार गर्ने सम्झौता गरेको छ । उसले स्वास्थ्य मन्त्रालयसँग गरेको सम्झौतामा कोभिड-१९ का बिरामी उपचार गरेवापत मन्त्रालयबाट सोधभर्नाको रुपमा सरकारी अस्पतालले पाउने पैसा लिने भनि हस्ताक्षर गरेको छ ।

सरकारले आफूसँग सम्झौता गरी कोभिडका बिरामी उपचार गरेमा सामान्य बिरामीको ३५०० रुपैयाँ रुपैया, मध्यम खालका बिरामीको ७ हजार रुपैयाँ  र गम्भीरखालका आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामीको एक दिनको १५ हजार रुपैयाँ सोधभर्ना स्वरुप दिने उल्लेख छ । तर मन्त्रालयसँग गरेको सम्झौता विपरित सो अस्पतालले आफुखुसी कोभिड-१९ का बिरामीको चर्को शुल्क निर्धारण गरेको पाइएको हो ।

हेल्थआवाजलाई प्राप्त अस्पतालका निर्देशक डा. विकास रौनियारले हस्ताक्षर गरेको शुल्क विवरणअनुसार अस्पतालले कोभिड आइसीयु बेडको चार्ज एक बिरामीबाट दैनिक ४५ हजार लिने गरेको छ ।

आइसीयु बेडमा रहने बिरामीबाट एडमिसन चार्ज २ हजार ५ सय, आइसीयु बेड चार्ज १२ हजार ५ सय, अन डियुटी डाक्टर चार्ज पिपिइ २ हजार ६ सय, नर्सिङ केयर २ हजार, इन्फेक्सन कन्ट्रोल ३ हजार, पीपीई ३ सेट ६ हजार, एमडी डाक्टर पर राउण्ड र पिपिइ २ हजार ५ सय, अक्सिजन २ हजार ४ सय, भेन्टिलेटर चार्ज ७ हजार, क्याप चार्ज ४ हजार ५ सय रुपैयाँ लिने गरेको छ ।

यस्तै, कोभिड सिंगल बेड चार्ज २७ हजार, कोभिड डबल बेड चार्ज २२ हजार लिने गरेको छ । अस्पतालले माथिका आईसीयू बेडमा जस्तै अन्य बेडमा पनि विभिन्न शीर्षकमा पैसा असुल्ने गरेको छ ।

नेपाल सरकारसँग सम्झौता विपरित कोभिड-१९ का बिरामीसँग छुट्टै पैसा लिन नपाइने  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । ‘मन्त्रालयसँग सम्झौता गरेका अस्पतालले छुट्टै पैसा लिन पाउदैनन।,’ उनले भने, ‘कोहि बिरामीले आफूखुसी पैसा तिरेर उपचार गर्छु भनेपनि तोकिएको शुल्कमा ५० प्रतिशत भन्दा बढी  लिन पाइदैन ।’

यसरी जथाभावी शुल्क लिएको प्रमाणित भएमा कानुनअनुसार कारवाही हुने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ