२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्यान्सर अस्पताल खजुरामा कोभिड-१९ नभएका गम्भीर बिरामीको उपचार र शल्यक्रिया

क्यान्सर अस्पताल खजुरामा कोभिड-१९ नभएका गम्भीर बिरामीको उपचार र शल्यक्रिया


नेपालगन्ज-बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले कोभिड-१९ संक्रमित नभएका गम्भीर बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा दिन सुरु गरेको छ ।

कोभिड-१९ को संक्रमण नभएपनि स्वास्थ्य अवस्था गम्भीर भएका कारण आईसीयु, भेन्टिलेटरमा राख्नुपर्ने, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको सुविधाका लागि क्यान्सर अस्पतालले बैशाखको तेस्रो सातादेखि शल्यक्रियासहितको उपचार सेवा दिइरहेको छ ।

कोभिड-१९ को संक्रमणका कारण नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालका इमर्जेन्सी वार्डहरुसमेत भरिएपछि कोरोना नभएका तर स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।

सरकारी ठूला अस्पतालहरुमा बेड, आईसीयु र भेन्टिलेटर पाउन निक्कै मुस्किल भएका बेला क्यान्सर अस्पतालले सर्पले टोकेर गम्भीर अवस्थामा पुगेका, एपेन्डिसाइटीस भएर तत्कालै अप्रेशन गर्नुपर्ने, ब्लड प्रेसर उच्च भएर स्वास्थ्यमा समस्या भएका बिरामीहरुको उपचार गरिरहेको छ ।
क्यान्सर अस्पतालमा दैनिक ४/५ जना कोभिड-१९ संक्रमित नभएका सिकिस्त बिरामीले उपचार सेवा पाइरहेका छन् ।

अधिकांश मानिसहरुको ध्यान कोभिड-१९ संक्रमितको उपचारमा मात्रै केन्द्रित भएका बेला कोरोना संक्रमण नभएपनि स्वास्थ्य अवस्था जटिल भएका बिरामीहरुले उपचार सेवा नै पाउन नसक्ने स्थिति आउन नदिन क्यान्सर अस्पतालले शल्यक्रियासहितका अन्य उपचार सेवा दिन सुरु गरेको अस्पतालका प्रमुख डा.कृष्ण आचार्यले बताए ।

भेरी अस्पातल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सर्पले टोकेको बिरामीको उपचार सेवा बन्द भएपनि क्यान्सर अस्पताल खजुरामा सहज रुपमा उपचार सेवा पाएको बिरामीका आफन्त मानबहादुर बुढाले बताए ।

क्यान्सर अस्पतालमा सर्जन, फिजिसियन, एनेसथेसोलोजिष्ट, स्त्रीरोग विशेषज्ञसहित १९ जना चिकित्सक र २१ जना नर्सहरु कार्यरत छन् ।

अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभाबकारी बनाउन ६ बेडको आईसीयु संचालनमा ल्याउने तयारी गरिरहेको छ । हाल ४० बेड संचालनमा रहेको क्यान्सर अस्पतालमा गम्भीर बिरामीको उपचारका लागि २ वटा भेन्टिलेटर राखिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ