२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, यसरी गर्नेछ काम ?

वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, यसरी गर्नेछ काम ?

११ औं तहका स्वास्थ्यका अधिकारीले कमाण्ड गर्ने


काठमाडौं–नेपाल सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने भएको छ । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उक्त अस्पतालको सञ्चालन गर्नेछ । उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको एघारौ तहको अधिकृत वा बरिष्ठ चिकित्सक गर्नेछ ।

उक्त कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको लागि जनशिक्र र साधनको स्रोत व्यवस्थापन पनि मन्त्रालयले नै गर्नेछ । केन्द्रीय अस्पताललाई प्रदेश सरकारसँग आवश्यक समन्वय गरी प्रदेशस्थित संघीय वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल सञ्चालन गर्न सक्ने अधिकार पनि दिइएको छ । युनिफाइड प्रादेशिक अस्पतालको सञ्चालन केन्द्रीय अस्पतालले गर्ने कानुनी प्रबन्ध अध्यादेशमा गरिएको छ ।

यस्तै, केन्द्रीय अस्पताललाई कोभिड–१९ को स्क्रीनिङ, फिभर क्लिनिक, परामर्श सेवा, कोभिड–१९ परीक्षण प्रयोगशाला, रेडियो इमेजिङजस्ता अन्य डायग्नोस्टिक सेवा, संक्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजनसहितको आइसोलेसन, एचडियु, आईसीयु, टेलिमेडिसिन, कल सेन्टर, होम आइसोलेसन फलोअप सेवा सञ्चालन गर्नेछ ।

एम्बुलेन्स तथा केन्द्रीय प्रेषण सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा सञ्चालन गर्ने अधिकार पनि केन्द्रीय अस्पताललाई दिइएको छ ।
केन्द्रीय अस्पतालले दैनिक तंथ्याकका आधारका अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बिरामीको आँकलन गरेर स्वास्थ्य संस्थालाई तयारी राख्ने लगाउने, शैय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने र निर्देशन दिने, कोभिड–१९ अस्पतालको अनुगमन गरी आवश्यक पृष्ठपोषण र सबलीकरण गर्नेछ ।

जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन गर्न आदेश दिने अधिकार पनि केन्द्रीय अस्पताल हुनेछ । केन्द्रीय अस्पतालले मन्त्रालयसँग समन्वय गरी आवश्यक भौतिक पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामाग्री, उपकरण, अन्य आवश्यक सामाग्री र जनशक्तिको व्यवस्थापन र परिचालन पनि गर्नेछ ।

उपचार व्यवस्थापन सम्बन्धमा सूचना एकीकृत गरी त्यसको विश्लेषणका आधारमा व्यस्थापन गर्न कोभिड–१९ अस्पताललाई निर्देशन दिने, कोभिड अस्पताल उपचार गर्नेको विद्युतीय अभिलेख राख्ने, केन्द्रीय अस्पतालका लागि आवश्यक पर्ने औषधि, अक्सिजन, स्वास्थ्य सामाग्री, उपकरण तथा अन्य आवश्यक खरिद गर्ने काम पनि केन्द्रीय अस्पतालले गर्नेछ । कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि आवश्यक प्रोटोकल प्रोटोकल जारी गर्ने जिम्मेवारी पनि केन्द्रीय अस्पतालको छ ।

केन्द्रीय अस्पतालले कोभिड–१९ उपचारका लागि एकीकृत उपचार प्रणालीको स्थापना गरेर सञ्चालन समेत गर्नेछ ।

केन्द्रीय अस्पतालले एकीकृत उपचार प्रणालीमार्फत संक्रमितको निदान र उपचारका लागि कोभिड–१९ अस्पतासँग समन्वय गरी एकद्धार प्रेषण प्रणाली स्थापना गरी कार्यन्वयन गर्नेछ । कोभिड अस्पतालले उपचारमा लागि आएका अस्पतालमा आएका संक्रमितको उपचार गर्न नसक्ने भएमा केन्द्रीय अस्पताललाई जानकारी गराउनुपर्नेछ र केन्द्रीय अस्पतालले अन्य कोभिड अस्पतालसँग समन्वय गरेर संक्रमितको उपचार सुनिश्चित गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ