२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को कमाण्डर डा. लोहनी कि डा. गौतम ?

युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को कमाण्डर डा. लोहनी कि डा. गौतम ?


काठमाडौं–कोभिड–१९ नियन्त्रण र उपचारका लागि शक्तिशाली केन्द्रीय अस्पताल बनाइएको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को कमाण्डरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई प्रभावशाली अधिकारी प्रमुख दाबेदार देखिएका छन् ।

मन्त्रालय स्रोतकाअुसार प्रवक्ता प्रा.डा. जागेश्वर गौतम र इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनी केन्द्रीय अस्पतालको निर्देशकका मुख्य दाबेदारका रुपमा देखिएका हुन् ।

दुवै हक्की स्वभावका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिन चाहिरहेका छन् । स्वास्थ्य सचिव लक्ष्मण अर्यालको रोजाइमा भने डा. लोहनी रहेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछन् । प्रधानमन्त्री नै कोभिड–१९ निर्देशक समितिको अध्यक्ष भएकाले केन्द्रीय अस्पतालको नेतृत्वमा पनि उनकै रोजाइको व्यक्ति आउन सक्ने अडकलहरु चल्न थालेका छन् ।

आइतबार बसेको मन्त्रालयको इसिन्डेन्ट कमाण्ड सिष्टम (आईसीएस)को बैठकमा मन्त्रालयका उच्च अधिकारीहरुले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई केन्द्रीय अस्पतालको निर्देशक बारेमा जिज्ञाशा राखेका थिए । ‘हामीले केन्द्रीय अस्पतालको निर्देशक के हुँदैछ भनेर जिज्ञाशा राखेका थियौं,’ बैठकमा सहभागी स्वास्थ्यका एक उच्च अधिकारीले हेल्थआवाजसँग भने, ‘मन्त्रीज्यूले मान्छे फिक्स भइसकेको छ भन्नुभयो ।’

प्रधामन्त्री कार्यलय स्रोतकाअनुसार एमाले निकट भएका कारण डा. गौतमको सम्भावना बढी छ । डा. लोहनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको सम्बन्ध पनि चिसिएको छ । जसका कारण डा. गौतम प्रधानमन्त्रीको रोजाइमा पर्न सक्छन् ।

आईसीएसका कमाण्डर रहेका डा. लोहनी अहिले आफ्ना मातहतमा रहेका धेरै अधिकार केन्द्रीय अस्पतालमा जाने भएका कारण उक्त पदका लागि इच्छुक छन् । तर, हेल्थआवाजसँग उनले आफ्नो केन्द्रीय अस्पतालको नेतृत्वमा जाने तयारी नभएको छोटो प्रतिक्रिया दिए ।

डा. गौतम सचिव हुने लाइनमा नरहेका कारण आफू सरकारी सेवामा रहँदा सम्झने गरी केही गरेर देखाउने अवसरका रुपमा केन्द्रीय अस्पतालको नेतृत्वलाई हेरिरहेका छन् । ‘मैले जिम्मेवारी पाए भने काम गरेर देखाउँछु,’ डा. गौतमले भने, ‘दिएको जिम्मेवारीबाट पछि हटने बानी छैन । म जिम्मेवारी दिएपछि काम गर्छु ।’

सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ ।

डा. लोहनी र डा. गौतम दुवै स्वास्थ्य मन्त्रालयको ११ औं तहका बरिष्ठ अधिकारीका साथै वरिष्ठ चिकित्सक पनि हुन् । मन्त्रालय स्रोतकाअनुसार दुवै काम गरेर देखाउने स्वभावका अधिकारीहरुमा पर्छन् । डा. गौतम प्रवक्ता हुनुअघि परोपकार प्रसुति गृह थापाथालीका निर्देशक थिए, उनले त्यहाँ थिती बसाएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यस्तै, डा. लोहनी मन्त्रालयमा आउनुअघि कोशी अस्पतालका मेसु थिए । उनले त्यहाँ सुधारका थुप्रै राम्रा काम गरेका थिए ।

सबै कोभिड–१९ अस्पतालहरुको नियमनदेखि बिरामीको उपचार व्यवस्थापनसम्म जिम्मेवारी केन्द्रीय अस्पतालको छ । यस्तै, अस्पतालले प्रयोगशालादेखि खरिदसम्मका महत्वपूर्ण काम गर्ने अधिकार पनि केन्द्रीय अस्पतालले पाएको छ । जसका कारण यसको निर्देशकमा हुने नियुक्तिलाई पनि महत्वका साथ हेरिएको छ ।

यो पनि पढ्नुस् 

वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, यसरी गर्नेछ काम ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ