२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमायोजनले स्वास्थ्य चौकी रित्तिएपछि स्वास्थ्यकर्मी खोज्दैं स्वास्थ्य मन्त्रालय पुगे गाउँपालिका अध्यक्ष

समायोजनले स्वास्थ्य चौकी रित्तिएपछि स्वास्थ्यकर्मी खोज्दैं स्वास्थ्य मन्त्रालय पुगे गाउँपालिका अध्यक्ष


काठमाडाैं–कर्मचारी समायोजनका कारण देशकै दुर्गम हुम्ला जिल्लाको ताजाकोटमा रहेको मैला स्वास्थ्य चौकी स्वास्थ्यकर्मीबिहीन भएपछि गाउँपालिका प्रमुख बागदल मल्ल कर्मचारी खोज्दैं संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आइपुगेका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत सबै स्वास्थ्यकर्मी अन्यत्र समायोजन भएपछि स्वास्थ्यकर्मी खोज्न जिल्ला जनस्वास्थ्य कार्यालय जुम्ला, प्रदेश डिभिजन कार्यालय सुर्खेत, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु चहार्दै शुक्रबार उनी रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आइपुगेका थिए ।

समायोजनअघि ५ स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगी रहेको सो स्वास्थ्यचौकी समायोजनपछि रित्तिएको हो । यसअघि सो स्वास्थ्य चौकीमा १ हेल्थ असिस्टेन्ट, २ अहेब, २ अनमी र १ कार्यालय सहयोगी रहेका थिए । समायोजनपछि हेल्थ असिस्टेन्ट राजेन्द्र स्यांकु र अनमी अम्बिका शर्माको अदानचुली गाउँपालिकामा सरुवा भएको छ । अहेबद्वय मोलिलाल जैशी र लीलाराज शर्माको खार्पुनाथ पाउँपालिकामा समायोजन भएको छ भने अनमी नितु पण्डितको सर्लाही समायोजन भएको छ । नितु बाहेक अन्य सबै स्वास्थ्यकर्मी स्थानीय ताजाकोट गाउँपालिकाकै हुन् ।

बागदल मल्ल

स्वास्थ्य चौकी कर्मचारीबिहीन भएपछि सामान्य ज्वरो आउँदा पनि एक दिनको बाटो हिडेर मदना स्वास्थ्य चौकीमा उपचार गराउन जानुपर्ने अवस्वथा सिर्जना भएको प्रमुख मल्लले बताए । ‘समायोजनले कर्मचारी नै हराइदिएपछि त्यहाँका बासिन्दाले ठूलो सास्ती खेपेका छन्,’ उनले हेल्थ आवाजसँग भने, ‘यातायातको साधन छैन्, सामान्य रुघाखोकी लाग्दा औषधि लिन एक दिनको बाटो हिड्नुपर्छ ।’

जिल्लाकै अति दुर्गम मानिने मैला सदरमुकामबाट ४७ कोश टाढा रहेको छ । सो स्थानबाट यातायात भएको स्थानमा पुग्न कम्तीमा तीन दिन लाग्ने धर्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगादत्त जोशी बताउँछन् । ८ हजार जनसंख्या रहेको सो गाउँपालिकामा तीन महिनाअघि भाइरल इन्फ्लुइन्जाको संक्रमणबाट दुई हप्ताको बीचमा १४ जनाको ज्यान गएको थियो भने एकैपटक सयौं बिरामी परेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ