२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ कलेज संचालकको आयोगलाई चेतावनीः कि विद्यार्थी देउ, कि तालाचावी लेउ

नर्सिङ कलेज संचालकको आयोगलाई चेतावनीः कि विद्यार्थी देउ, कि तालाचावी लेउ


काठमाडौँ- चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्यापन गराउने कलेज संचालकहरुले विरोध जनाएका छन् । कलेजहरुलाई अध्यापन गराउन तोकिएको विद्यार्थी पनि उत्तीर्ण नहुने गरी परीक्षा लिएर निजी कलेजहरुलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै विरोध जनाएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै कलेज संचालकहरुले यदि एकीकृत परीक्षाको रिजल्टलाई पुन:विचार नगरे कलेजको चावी आयोगलाई बुझाउने धम्की दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरुको छाता संगठन एलाइट साइन्स इन्स्टिच्युसन एसाेसिएसन (एसिया)का अध्यक्ष एमप्रसाद अधिकारीले सोमबार सांकेतिक रुपमा कलेजहरुको साँचो बुझाउने बताए ।

‘आयोगले अनुगमन गरेर सिट संख्या तोक्यो, पढाउन दिन्छौं भनेर अव्यवहारिक शुल्क तोक्दा पनि हामी चुप बस्यौं,’ उनले भने, ‘अहिले विद्यार्थी कम उत्तीर्ण गराएर विद्यार्थी भर्ना नै नहुने अवस्थामा पुगेको छ ।’

अध्यक्ष अधिकारीले आयोगलाई प्रवेश परीक्षामा ५० प्रतिशत ल्याए मात्र स्नातक कक्षामा पढ्न पाउन दिने भन्ने कानुनी व्यवस्था नभएको जिकिर गरे । ‘यो आइओएमलाई मात्र हेरेर बनाइएको नियम हो,’ उनले भने, ‘चार वटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउँछन् । उनीहरु सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो ।’ आयोगले बिपिएच १ हजार ४ सय २० कोटा छुट्याएको थियो । तर, ५ सय ६५ ले मात्र प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यसैगरी , बिएससी नर्सिङ १ हजार १ सय छुट्याइएकोमा ५ सय ४ जना पास भएका छन्। बीफर्मा ९ सय २ सिटमा ५ सय ४७, फिजियोथेरापी बिपिटीमा १ सय ५० मा १ सय १४, बिएस्सी एमआइटी रेडियोग्राफीमा, एमआइटी ७१ मा ३५ जना, बिएससी एमएलटी ४सय २५ सिटमा १ सय १८ जना उत्तीर्ण भएका छन् ।

नर्सिङ कलेज संचालक केपी सिंह परीक्षामा भएको त्रुटिकै कारण कम विद्यार्थी पास भएको बताउँछन् । उनी पारामेडिक्स(सिटिइभिटी)तर्फबाट आएका विद्यार्थीहरुलाई बायस भएर प्रश्नपत्र तयार भएको जिकिर गर्छन् । ‘अधिकांश परीक्षार्थी  पारामेडिक्सतर्फका छन् । तर, प्रश्न भने अधिकांश प्लस २ पट्टीबाट आएको छ,’ उनी भन्छन्, ‘प्रश्न अति कडा पनि सोधिएको छ ।’

उनले आयोगले नेपालमा निजीस्तरबाट संचालन भएका मेडिकल शिक्षण संस्थालाई बन्द गराएर विद्यार्थी विदेश पठाउने रणनीति लिएको त होइन भन्ने प्रश्न उब्जिएको बताए । नेपालमा बिएससी नर्सिङ लगायत पारामेडिक्स पढ्न नपाएपछि धेरै नेपाली भारत र बंगलादेश जान सुरु गरिसकेको दावी गरे । ‘हुन त बाहिर गएर पढ्नको लागि आयोगको इन्ट्रान्स पास गर्नुपर्छ भन्ने छ,’ उनले भने, ‘४ वर्षपछि पास भएर आएपछि देखा जाएगा भन्दै मेरै कतिपय नजिकका मानिसहरु यहाँ पढाउन नपाएपछि छोराछोरी बाहिर धमाधम पठाउन थालिसकेका छन् ।’

पोखरा विश्वविद्यालय अन्र्तगतका नर्सिङ तथा पारामेडिक्स कलेजहरुको संगठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताउँछन् । ‘प्रवेश परीक्षामा कम नम्बर ल्याएकै आधारमा पढ्न नदिनु भनेको उचित हुँदैन,’ उनी भन्छन्, ‘विद्यार्थीको इच्छाशक्ति भए पढ्न सुरु गरेपछि ४ वर्षको अवधिमा कम नम्बर ल्याउने विद्यार्थी पनि अब्बल बनेका धेरै उदाहरण छन् ।’

कलेज संचालकहरुले तत्काल पुन: परीक्षाको सम्भावना भएको हुँदा कोटा पूरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ