२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश५५ दिनमा आईसीयुबाट मृत्यु जितेर फर्किइन् मनमाया, चिकित्सक भन्छन्, ‘हामी सफल भयौं’

५५ दिनमा आईसीयुबाट मृत्यु जितेर फर्किइन् मनमाया, चिकित्सक भन्छन्, ‘हामी सफल भयौं’


पोखरा—पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १ बिरामी डिस्चार्जको तयारी भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री, निर्देशक प्रा.डा. भरतबहादुर खत्री, कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराललगायत उपस्थित थिए । व्यास–१० दमौलीकी मनमाया गुरुङ बेस्सरी रोइन् । त्यतिबेला मनमायाका लागि खुसी थिइन् । किनभने, तिनै मनमाया ५५ दिनको अस्पताल बसाइँपछि डिस्चार्जको तयारी भइरहेको थियो ।

सुरुमा मनमायालाई ज्वरो आयो । छाती दुख्यो । उनका श्रीमान विजय गुरुङले उनलाई नजिकैको मेडिकलमा लगे । मेडिकलमा गरिएको रगत जाँचमा टाइफाइड भएको रिपोर्ट आयो । मेडिकलले ५ दिनको औषधी दिएर घर फर्कायो । तर, उनलाई निको हुने छाटकाँट आएन । फेरि सोही मेडिकलमा पुग्दा अक्सिजन लेभल कम भएको भनेर दमौली अस्पताल पठाइयो ।

गुरुङ दम्पती दमौली अस्पताल पुगे । एन्टिजेन परीक्षण गर्दा कोभिड–१९ पुष्टि भयो । दमौली अस्पतालमा १ दिन राखियो । तर, १६ लिटरभन्दा बढीको हाइफ्लो अक्सिजन चाहिने भन्दै उनलाई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरियो । दमौली अस्पतालले नै पोखरामा बेड पाइने सुनिश्चित गरिदिएको विजयले बताए ।

विजयको घरमा ७ वर्षीय छोरा र आमा थिए । श्रीमतीको उपचारका लागि ५ साउनमा उनी भाइसहित पोखरा आए । ‘अस्पताल आउँदा मनमायाको अवस्था क्रिटिकल थियो,’ कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले भने । २३ दिनसम्म आईसीयुमा राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आयो । त्यसपछि नर्मल वार्डमा राखेर उपचार गरिएको थियो ।

विजय २ महिनाको हाराहारीमा अस्पतालमा श्रीमतीको उपचार भइरहँदा तलमाथि केही हुने हो कि ? भनेर तनावमा थिए । उनी घरमा रहेकी आमा र ७ वर्षीय छोरा सम्झन्थे अनि आत्तिन्थे । यहाँ नहुने भए अरु अस्पतालमा लैजान पाए ठीक हुने थियो कि जस्ता कुरा विजयको मनमा खेलिरहन्थे । उनले डाक्टरसँग यही कुरा नभनेका पनि होइनन्, ‘जहाँ भए पनि उपचार यही हो, तपाईंको खर्चमात्रै बढ्ने त हो नि,’ उपचारमा संलग्न डाक्टरको भनाइले अर्काे अस्पतालमा लैजाने उनको सोच बदलियो ।

मनमाया आफैं त आईसीयुमा सिकिस्त थिइन् । उनका श्रीमान् र देवर उनलाई कुरेर बसेका थिए । मनमायाको अवस्था देखेर बाँच्ने आशा नै गुमाएझै कहिलेकाहीँ आत्तिन्थे । डाक्टर विजयलाई सम्झाउँदै भन्थे, ‘अवस्था त जटिल नै छ । तर, हामी प्रयासरत छौं नआत्तिनुुस् ।’

डाक्टरको व्यवहार विजयलाई सरकारी अस्पतालको जस्तो महसुस नै भएन । निजीमा लगाव भएका डाक्टरले सरकारी अस्पतालमा बेवास्ता गरेर सरकारी अस्पतालको साख गिराएको आरोप लागिरहेका बेला उपचारमा संलग्न डाक्टरले सरकारी अस्पतालको शान बढाएको उनी बताउँछन् । डाक्टरको सहयोगले श्रीमती बाँचेको भन्दै विजयले सरकारी अस्पतालको सेवा उत्कृष्ट लागेको उल्लेख गरे ।

मनमाया निको भएर घर फर्कने दिन भक्कानिँदै आँसु झार्दै आफू बाँच्छु भन्ने नलागेको बताएको डा. बरालले सुनाए । डा. बरालले भने, ‘भेन्टिलेटरमा राखेर मास्क लगाउँदा घाउ भएर, पाप्रा नै निस्किएको थियो, अवस्था क्रिटिकल थियो ।’ डा. बराल आफैंले दिनको ३÷४ घन्टासम्म राउन्डमा हेरिरहेको बताए । उनले थपे, ‘मसँगै मेडिकल अफिसर, नर्सिङ, अक्सिजन सप्लाई, सरसफाइलगायत टिमले बिरामीको उपचारमा सघाइरहेकोे हुन्छ । सफलता मिलेको छ । मनमाया असाध्यै खुसी हुनुभएको छ ।’

मनमायाजस्तै लामो समय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाका ७६ वर्षीय वृद्धको पनि छिट्टै डिस्चार्ज गर्न सकिने डा. बरालको विश्वास छ । गत ६ असारमा भर्ना भएका वृद्धलाई अहिले १ लिटर फ्लोमा अक्सिजन उपचार भइरहेको डा. बरालको भनाइ थियो । ‘उहाँको गाउँ दुर्गम ठाउँमा भएकाले पनि तत्काल डिस्चार्ज नगरिएको हो,’ उनले भने ।

अहिले  मनमायालाई सरासर हिँड्न कठिन छ । लामो समय भेन्टिलेटर र बेडमा रहेकाले खुट्टामा केही समस्या देखिएको हुनसक्ने विजयले बताए । डाक्टरले पौष्टिकयुक्त खाना खान र सरसफाइमा ध्यान दिन र चिसोबाट जोगिन सुझाव दिएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार
ट्याग : #डा. शरदचन्द्र बराल, #पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, #प्रा.डा. डुकबहादुर क्षेत्री, #प्रा.डा. भरतबहादुर खत्री


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ