२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कम्तिमा दुई वर्षमा एक पटक मुटु, आँखा, किड्नी, पेट र टाउकोको जाँच गराउनुपर्छ’

‘कम्तिमा दुई वर्षमा एक पटक मुटु, आँखा, किड्नी, पेट र टाउकोको जाँच गराउनुपर्छ’


डा. माधव विष्ट विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरका कन्सल्टेन्ट कार्डियोलोजिष्ट हुन् । सिंगापुरस्थित नेशनल हार्ट सेन्टरबाट उनले इन्टरभेन्सल कार्डियोलोजी फेलोसीप गरेका छन् । अहिले जीवनशैली, खानपानलगायतका यावत कारणले नेपालमा पनि मुटु रोगका बिरामीहरुको संख्या बढिरहेको छ । ‘विश्व मुटु दिवस’को अवसर पारेर मुटु रोग विशेषज्ञ डा. विष्टसँग हेल्थआवाजले गरेको कुराकानीः

नेपालमा देखिएका मुटुका प्रमुख समस्या के—के हुन् ?
नेपालमा मुख्यतया ४—५ समूहका मुटुका समस्या छन् । एउटा क्रोनरी हार्ट डिजिज जसलाई हृदयघात भनेर बुझ्न सजिलो हुन्छ । रगतको नसामा जाम हुने, टालिने आउने भएर हृदयघात हुने हुन्छ । यस्तै, जन्मजात नै मुटुमा प्वाल हुने समस्या पनि देखिएको छ । गर्भमा बच्चा रहँदा मुटुमा प्वालहरु हुने गर्छ । पछि सन्तान जन्मिएपछि फोक्सोले काम गर्न थालेसँगै प्वाँलहरु विस्तारै समयअनुसार बन्द हुन्छन् । तर, केहीमा भने उमेर बढेसँगै बन्द नहुनेजस्ता समस्या पनि हुने गर्छ । त्यस्ता केस पनि देखिएका छन् ।

मुटुको वनावट कमजोर हुनु अर्को समस्या हो । मुटुको मासु हुनुपर्ने ठाउँमा मासु नभएर बोसो बस्ने र अरु फाइवरहरु आएर बस्छ, जसले मुटु कमजोर हुन्छ । मुटु कमजोर हुँदै—हुँदै अन्ततः मुटु फेल हुन्छ । नेपालको चौथो मुटुको समस्या भनेको बाथ रोगले निम्त्याउने समस्या हो । मुटुको बाथ रोगी हुनेहरुमा मुटुको भल्भ जाम हुने, मुटुको कोठामा भएका भल्भहरु कमजोर हुने, लुज हुने हुन्छ ।

यस्तै, मुटुको चाल सम्बन्धि गडबडी हुने समस्या पनि हुन्छन् । सामान्यतयाः ६० देखि १०० सम्म हुनुपर्ने हो । तर, केहीमा ६० भन्दा पनि तल आएर चक्कर लागेर ढल्ने र सयभन्दा बढी भयो भने पनि त्यही समय आउने गर्छ । यसलाई मुटुको चाल सम्बन्धि गडबड भनिन्छ ।

यस्ता मुटु रोग देखिनुका प्रमुख कारणहरु के—के हुन् ?
मुख्यतयाः मुटुका बिरामीमा हृदयघात नै भएको देखिन्छ । खानपिन सन्तुलित नहुने, शारीरिक व्यायाम नगर्ने, हतारमा हुने व्यक्ति, धेरै रिसाउने व्यक्ति, व्यस्त जीवनशैली यस्ता मुटु रोगका प्रमुख कारणका रुपमा रहेका छन् ।

यस्ता रोगहरुबाट बच्न के गर्न सकिन्छ ?
नियमित व्यायाम गर्ने, मध्यपान, धुम्रपान नगर्ने, प्याकेट र बोतलमा राखेको कुरा सकेसम्म नखाने (त्यसमा खानेकुरा कडा पार्न पदार्थ राखिएको हुन्छ जुन एकदम हानिकारक हुन्छ) र प्राकृतिक खानेकुरा खाने बानी बसाल्नुपर्छ ।

मुटु स्वस्थ राख्नका लागि प्रभावकारी व्यायाम के हुन् ?
यसको लागि योगा फाइदाजनक छ । यसबाहेक दिनमा सकेसम्म आधा घण्टा हिड्ने, सकेसम्म दौडने र खेलकूदमा सक्रिय हुने गर्नाले मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ । फुटबल, ब्याडमिन्टनजस्ता खेलहरु मुटु स्वस्थ राख्न बढी प्रभावकारी हुन्छन् ।

मुटु रोगको कुरा गर्दा धेरै मानिसहरुमा रक्तचापको समस्या देखिन्छ । यसको नियन्त्रण कसरी गर्ने ?
९० प्रतिशत वंशानुगत र १० प्रतिशत अन्य दीर्घ रोगका कारण रक्तचापको समस्या देखिन्छ । विशेषतः परिवारमा पहिला कसैलाई यो रोग छ भने पहिले नै खानपान र शारीरिक व्यायाम गर्ने, सचेत रहने गर्नुपर्छ । दीर्घ रोग आफूमा छ/छैन त्यसको जाँच गर्नुपर्छ ।

मानिसहरुले प्रेसरको जाँच गर्ने गर्नुपर्छ । मानिसले शान्त भएको बेलामा फुर्सदमा ब्लड प्रेसर नाप्नुपर्छ । बढेको छ भने नियमित व्यायाम र खानापानमा नियन्त्रण गर्न सकिन्छ ।

मुटुमा समस्या हुन नदिन के गर्ने ?
पहिला मानिसमा मुटुमा समस्या भएको थाहा हुँदैन । त्यसकारण हामीले नियमित स्वास्थ्य जाँच गरिरहनु पर्छ । जसले रोग सुरुवाती चरण मै थाहा हुन्छ । कम्तिमा दुई वर्षमा एकपटक मुटु, आँखा, किड्नी, पेट टाउकोको जाँच गराउनुपर्छ ।

आम मानिसहरुमा रक्तचापको औषधी जीवनभर खानुपर्छ भन्ने भय छ नि ?
यो औषधी खाँदा हामीले शरीरको महत्वपूर्ण अंग आँखा, मुटु, मिर्गौला र दिमागमाजस्ता अंग जोगाउन सकिन्छ । रक्तचाप हुँदा औषधी नखाने हो भने मुटुमा बाक्लोपना आउने, मुटुको कार्य क्षमता घट्ने, समस्या शरीरमा आउँदा सामना गर्न सक्दैन् । पहिला मानिसले केही समस्या नदेखिएपनि किड्नीको समस्या देखिन्छ । किड्नीले जब काम गर्न छाड्छ तब मात्रै किड्नीको समस्या देखिएको थाहा हुन्छ ।

औषधी लामो समयसम्म खाँदा स्वास्थ्य समस्या आउने भन्ने हुँदैन । यो एउटा केमिकल हो, यसको फाइदा र बेफाइदा हेरेर बिरामीलाई दिइन्छ । प्रेशरलाई नियन्त्रण गर्ने धेरै प्रकारका औषधी हुन्छन् । । बिरामीको स्वास्थ्य अवस्था हेरेर समूह—समूहका औषधी दिइने गरिन्छ । औषधी बिरामीलाई तौलिएर दिने गरिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कन्सल्टेन्ट कार्डियोलोजिष्ट, #डा. माधव विष्ट, #मुटु


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ