२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४० करोडको टोमोथेरापी काठमाडौं भित्रिएको एक वर्षमा पनि वीर अस्पताल पुगेन

४० करोडको टोमोथेरापी काठमाडौं भित्रिएको एक वर्षमा पनि वीर अस्पताल पुगेन


काठमाडौ— वीर अस्पतालका लागि ल्याइएको क्यान्सरको उपचार गर्ने अत्याधुनिक उपकरण टोमोथेरापी प्रयोगबिहीन छ । एक वर्ष अगाडि नेपाल भित्रिए पनि वीर अस्पताल लगिएको छैन् । अस्पतालले लामो संघर्ष गरेर ४० करोड मुल्यमा अमेरिकाबाट उक्त उपकरण किनेको हो ।

वीर अस्पतालमा टोमोथेरापी राख्ने ठाउँ नभएको भन्दै एक वर्ष देखि शशस्त्र प्रहरी कार्यलय बलम्बुमा राखिएको छ । एक वर्षदेखि त्यसको अवस्थाका बारेमा कसैले चासो देखाएका छैनन् ।

‘करोडौ रुपैयाँ लगाएर किनेको सो उपकरण बीच बाटोमा राखिएको छ त्यसको अवस्था कस्तो छ कसैलाई जानकारी छैन,’ वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्य भन्छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने अझै केही महिना वीरमा नआउने बताए । टोमोथेरापी उपकरण राख्ने स्थानको मर्मत भइरहेकोले अझै केही समय सेवा अवरुद्ध हुने उनले बताए ।

२० वर्ष पुरानो कोबाल्ट मेसिन २०७२ सालमा विग्रिएपछि क्यान्सर रोगको उपचार वीरमा बन्द छ । भारतीय कम्पनीले समयमा कोवाल्ट मेसिन लैजान नमानेपछि नयाँ जडान गर्न ढिला भएको वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. आचार्य बताउँछन् ।

नेपालको पहिलो उपकरणको बेहाल

हालसम्म नेपालमा यस्तो उपकरण संचालनमा आएको छैन । विश्वमा थोरै मुलुकमा यो उपकरणबाट सेवा सुरु भएको छ । नेपालमा पहिलो पटक अत्याधुनिक अमेरिकन प्रविधियुक्त टोमोथेरापी मेसिन सञ्चालनमा ल्याउने तयारी गरिएको थियो  । उपकरणको अभावमा प्रत्येक वर्ष ७ सय गरिब तथा विपन्न नागरिकले सेवा पाएका छैनन् ।

अस्पतालमा भर्ना भएका मध्ये ७ सय बिरामीलाई प्रति वर्ष रेडियोथेरापी आवश्यक पर्छ ।  ‘पैसा भएकाहरु निजी वा विदेश जाने गर्छन तर, वीर अस्पतालमा आउने सबै गरिब हुन्छ ’आचार्यले भने । प्रत्येक वर्ष वीरमा १३ सयको संख्यामा क्यान्सरका बिरामीहरु हुने गर्छन । अस्पतालले बताए अनुसार ०७२ यता ४ हजार बिरामी रेडियोथेरापी सेवा पाउनबाट बन्चित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ