२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपचारको पैसा तिर्न नसकेका बिरामीले गोल्डेन अस्पतालबाट हामफालेर गरे आत्महत्या

उपचारको पैसा तिर्न नसकेका बिरामीले गोल्डेन अस्पतालबाट हामफालेर गरे आत्महत्या


विराटनगर – विराटनगरस्थित गोल्डेन अस्पतालको तीन तलाबाट हाल फालेर एक जना बिरामीले आत्महत्या गरेका छन् । मोरङको धनपालथान गाउँपालिका – १ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि अस्पतालको तीन तलाबाट हाम फालेर शुक्रबार आत्महत्या गरेका हुन् ।

उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि मण्डलाई घर जान दिएको थिएन। उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तीन तलाबाट हामफालेपछि मण्डलको टाउँको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । छारेरोग र मानसिक समस्या भएपछि उनलाई उपचारका लागि मंसिर ३ गते ल्याइएको थियो ।

आइसियुमा राखेर अस्पतालले उनको उपचार गर्यो । आइसियुबाट वार्डमा सारेपछि घर लैजाँदा हुनेभन्दै अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको २१ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।

मृतकका आफन्त श्रीराम कामतका अनुसार उपचारमा लागेको पैसा नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले नै बन्धक बनाएर राखेको हो । हस्पिटलको लापरबाहीको कारणले विरामीको मृत्यु भएको उनले बताए । ‘हस्पिटलमा विरामी भर्ना भएको ठाउँमा स्वास्थ्यकर्मी, सुरक्षागार्ड सबै हुन्छ । कसरी विरामीले माथिबाट हामफाल्न सक्दछन् ?,’ कामतले भने, ‘यो सरासर हस्पिटलको लापरबाहीले विरामीको मृत्यु भएको छ ।’ लापरवाही गर्ने हस्पिटललाई कारवाही हुनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ती दिनुपर्ने मृतकका आफन्तका माग छ । मृतकका पाँच वर्षको छोरा र चार वर्षिय छोरी र श्रीमति रहेका छन् ।

अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताइन्छ । उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सक्यो ।

२१ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले घर जान दिएको थिएन । उनलाई अस्पतालमा रुँगेर उनकै सासू बसेकी थिइन् । प्रहरीका अनुसार सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्चार्ज भएकोले अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौँ भन्दै बिरामीलाई राख्दा अहिले यस्तो घटना भएको बताए ।

‘बिरामीमा मानसिक समस्या पनि रहेछ । उनले देखाउने अस्वभाविक व्यवहारले अरु बिरामीलाई पनि धेरै असर गरिरहेको थियो,’ उनले भने, ‘त्यही भएकाले चाँडै घर लगिदिए हुन्थ्योभन्ने चाहना अस्पतालको पनि थियो । तर, परिवारले नलगेका कारण आज यस्तो घटना भइदियो ।’ मेहताका अनुसार अस्वभाविक व्यवहार देखाउने गरेका कारण बिरामीलाई अस्पतालका कर्मचारी र सुरक्षागार्डको निगरानीमा राखिएको थियो । अस्पतलाको शैय्याबाट भागेर हामफालेको उनले बताए ।

यसअघि पनि गोल्डेन अस्पतालबाट एक जना बिरामीले फाम फालेर घाइते भएका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ