२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकतारमा जुरेको डा. पोखरेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने संयोग

कतारमा जुरेको डा. पोखरेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने संयोग


काठमाडौं—स्वास्थ्य सेवा विभागले कर्मचारी सरुवा गर्ने भदौं—असोज महिना थियो । तत्कालीन विभागका महानिर्देशक थिए—डा. गुणराज लोहनी । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले सरुवाको फाइल स्वास्थ्य मन्त्रालयमा बनाएर महानिर्देशकलाई हस्ताक्षर गर्न मात्रै भनेका थिए ।

तर, आफ्नो अधिकार प्रयोग गर्ने भन्दैं डा. लोहनीले मन्त्री र राज्यमन्त्रीलाई थाहै नदिई ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरे । आफूलाई बाइपास गरेर त्यत्रो ठूला संख्या सरुवा गरेको भन्दैं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र राज्यमन्त्री डा. सुरेन्द्र त्यही बेला महानिर्देशक परिवर्तनको कसरतमा लागे । तर, सत्ता साझेदार नेकपाका एक अध्यक्ष प्रचण्डनिकट मानिएका डा. लोहनीलाई हटाउने कुनै गतिलो कारण नै भेटेनन् ।

संयोग नै मान्नुपर्छ, २६ कात्तिक २०७५ दिन । मन्त्री यादवसहित ५ सदस्सीय भ्रमण दल कतारको दोहा उड्यो । कतार भ्रमणको उद्देश्य थियो—त्यहाँको सरकारले कात्तिक २७ र २८ गते आयोजना गरेको ‘वल्र्ड इनोभेटिभ समिट फर हेल्थ’ । मन्त्रीलाई सो कार्यक्रममा सहभागी गराउने चाजोपाजो भने नेपालकै ठूलो निजी लगानीमा खोलिएको मेडिसिटी अस्पतालका निर्देशक डा. उपेन्द्र महतोले मिलाएका थिए । उनी पनि यादवसँगै नेपालको प्रतिनिधित्व गर्दै कतार पुगेका थिए ।

भ्रमण दलका अन्य सहभागी थिए—विराटनगरस्थित कोशी अञ्चल अस्पतालका तत्कालीन प्रमुख तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल, पाटन अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सुदेश सुवेदी र स्वास्थ्य सेवा विभाग नर्सिङ शाखाकी प्रमुख रोशनीलक्ष्मी तुइतुइ ।

एउटै गृहजिल्ला निवासी भएर पनि त्यसअघि सामान्य चिनजानमात्रै भएका मन्त्री यादव र डा. पोखरेललाई नजिकियाउन यो भ्रमण कोशेढुंगा बन्यो । स्वास्थ्य मन्त्रालयको ११ औं तहका कर्मचारीमध्ये बरिष्ठताको दोस्रो बरियतामा रहेका जिल्लावासी पोखरेल पाएपछि उपेन्द्रले त्यही बेला स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिने योजना बनाएका थिए । भ्रमण दलका एक सदस्यकाअनुसार डा. पोखरेललाई महानिर्देशक बनाउने मोटामोटी योजना कतारमै बनेको थियो । ‘संयोगले उहाँहरु एकै जिल्लाका पनि हुनुहुँदोरहेछ र डा. पोखरेल बरिष्ठमध्येका पनि हुनुहुँदोरहेछ,’ स्रोतले भन्यो, ‘नेपाल फर्किने बितिकै महानिर्देशक बनाउने मन्त्रीको तयारी थियो । तर, त्यो वातावरण मिलाउनै झण्डै एक वर्ष लाग्यो ।’

एक वर्षसम्म मन्त्रीलाई महानिर्देशक आफूअनुकूल ब्यक्ति ल्याउन के ले रोक्यो त ? मन्त्री यादवले नेपाल फर्किनासाथ डा. लोहनीलाई महानिर्देशकबाट हटाउन नखोजेका होइनन् । तर, मन्त्री यादवका लागि धर्मसंकट के परिदियो भने प्रचण्डले नै उनलाई सरकारमा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । जबकी, उनले हटाउन खोजेका डिजी पनि प्रचण्ड निटक नै । त्यसैले उनले डा. लोहनी तत्काल हटाउन सकेनन् ।

त्यसपछि सुरु भएको कर्मचारी समायोजनको लफडाले पनि डा. लोहनीलाई कार्यकाल लम्बाउने थप मौका मिल्यो । सामान्य प्रशासन मन्त्रालयले ११ औं तहको समायोजन टुंगो लगाउना साथ मन्त्री यादवले पदस्थापन भटाभट गरे । पदस्थापनाको पहिलो निर्णयमा नै उनले १२ औं तहका एकमात्र प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई विभागको महानिर्देशक बनाउने चलाखीपूर्ण निर्णय गरे । जबकी, १२ औं तह बढुवा भएको डेढ वर्षसम्म मन्त्रालयमै रहेका डा. प्याकुरेललाई अवकास हुन २ महिना बाँकी रहँदा विभाग जान राजी गराए ।

समायोजनपछिको पदस्थापनामा डा. लोहनीलाई विराटरनगरस्थित कोशी अस्पतालको प्रमुख बनाएर पठाइयो । डा. प्याकुरेल विभाग गएसँगै डा. लोहनीलाई यस्तो ठाउँमा पु¥याइयो कि जहाँ डा. पोखरेल प्रमुख थिए । त्यही ठाउँमा डा. लोहनी प्रमुख भए भने डा. पोखरेलले केही समय प्रमुख कन्सल्टेन्टको रुपमा काम गरे ।

सेवा अवधि पूरा भएर विभागबाट डा. प्याकुरेलले विदा लिएपछि स्वास्थ्य क्षेत्रमा तीन जना विशेषज्ञहरुको महानिर्देशक रुपमा चर्चा थियो । जसमा पहिलो नम्बरमा बरियतामा तेस्रो नम्बरमा रहेका परिवार कल्याण महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरी, दोस्रो नम्बरमा कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छा र तेस्रो नम्बरमा परोपकार प्रसुती गृहका निर्देशक डा. जागेश्वर गौतम थिए । तर, यी सबैलाई पाखा लगाउँदैं बरियताको दोस्रो नम्बरमा रहेका कोशी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. पोखरेल अपत्यारिलो रुपमा विभागको नेतृत्व सम्हाल्न आइपुगे ।

मन्त्री यादवले डा. पोखरेल महानिर्देशक बनाएर ‘सर्प पनि मर्ने र लाठी पनि नभाचिने’ खेल खेलेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । तथापि, मन्त्री यादवले बरिष्ठताको आधारमा निर्णय गरेको भए पहिलो बरियतामा रहेका मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहलाई विभागको महानिर्देशक बनाउन सक्थे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ