२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनक्कली पिसिआर रिपोर्टकाण्ड : गंगालालका प्रयोगशाला प्रमुख जागिरबाट निष्कासित

नक्कली पिसिआर रिपोर्टकाण्ड : गंगालालका प्रयोगशाला प्रमुख जागिरबाट निष्कासित


काठमाडौं—नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका बरिष्ठ ल्याब टेक्नीसियन तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ । यादवले नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको पाइएपछि सरकारले विभागीय सजाय तोक्नका बनाएको समितिको भविष्यमा केन्द्रको सेवाका लागि अयोग्य नठहरिने गरी निष्कासनको सजाय तोकेको हो ।

मन्त्रालय स्रोतकाअनुसार उक्त समितिले स्वास्थ्य मन्त्री विरोध खतिवडा र निमित्त स्वास्थ्य सचिव डा. गुणराज लोहनीलाई आइतबार कारवाही सिफारिस प्रतिवेदन बुझाइसकेको छ ।

गत बैशाखमा प्रयोगशाला प्रमुख यादवले नक्कली रिपोर्ट बनाएर पैसाको बार्गेनिङ गर्दै गरेको भिडियो रिपोर्ट एक टेलिभिजनमार्फत सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर केन्द्रका सञ्चालक समितिका अध्यक्ष समेत रहेका तत्कालीन मन्त्री हृदयेस त्रिपाठीको निर्देशनमा अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीले अस्पतालका चिकित्सक डा. आशेषगोपाल अमात्य संयोजकत्वमा तीन सदस्सीय आन्तरिक छानविन समिति बनाएका थिए । सो छानविन समितिले यादवको गल्ती गरेको हुँदा कारवाही गर्नुपर्ने रिपोर्ट दिएको थियो । उक्त रिपोर्टपछि यादवलाई तीन महिना निलम्बन गरी स्पष्टीकरण सोधिएको थियो ।

अस्पताल विकास समिति ऐनले अधिकृतस्तरका कर्मचारीको कारवाहीका लागि समितिलाई जिम्मा दिएको हुँदा यादवलाई थप कारवाहीका लागि अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्रीलाई सिफारिस गरेको थियो । यसअघिका स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई अस्पतालले थप कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो । पत्राचार गर्नासाथ सरकार परिवर्तन भएका कारण केही समय ओझेलमा परेको सो विषय मन्त्रालयले अस्पतालका विकास समितिका सदस्य विजय राईको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. शंकर काफ्ले सदस्य रहेको कारवाही सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिले झण्डै तीन महिना लगाएर गरेको अध्ययनमा त्रिवि शिक्षण अस्पतालको नक्कली लेटरप्याड बनाएर ९० जनाभन्दा बढीलाई नक्कली रिपोर्ट दिएको पाएको हो । त्यसैगरी, बसुन्धरास्थित धौलागिरी अस्पतालमा स्वाब संकलन गरेर ती स्वाब डस्बिनमा हालेर आफूखुसी रिपोर्ट बनाइदिने गरेको समेत छानविन समिति ठहर गरेको छ ।

यसअघि पटक—पटक विवादमा आएका यादव आफैले पनि अनौपचारिक कुराकानीमा गल्ती स्वीकार गरेको तर विभिन्न शक्ति लगाएर आफूमाथि हुने कारवाही कम गराउन लागि परेको एक सदस्यले जानकारी दिए । ‘ल्याब प्रमुख यादवले अनौपचारिक रुपमा गल्ती गरेको आफैले पनि स्वीकार गरेका छन् । तर, लिखितमा कबुल गर्न मानेका छैनन्,’ ती सदस्यले भने, ‘उनले आफ्नो कारवाही कम गराउन विभिन्न राजनीतिक शक्ति केन्द्र गुहारेका थिए  ।’

यो पनि पढ्नुस्

नक्कली रिपोर्ट बनाएको आरोप लागेका ल्याब प्रमुखलाई जोगाउन चित्रलेखादेखि महान्यायाधिवक्तासम्मको दबाब


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ