२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाकाली अस्पताल सास्ती उस्तै, जनशक्ति नहुँदा आईसीयु प्रयोगबिहीन

महाकाली अस्पताल सास्ती उस्तै, जनशक्ति नहुँदा आईसीयु प्रयोगबिहीन


महेन्द्रनगर—महाकाली अस्पतालमा रहेको आईसीयु मेसिन प्रयोग गर्ने जनशक्ति नहुँदा आईसीयु मेसिन प्रयोगबिहीन अवस्थामा थन्किएको छ । नेपाल सरकारले करिब ५ वर्ष अगाडि अस्पतालमा आईसीयु मेसिन जडान गरेको हो ।

आईसीयु मेसिन जडान गरेपनि हाल उक्त मेसिन सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्था नहुँदा हालसम्म उक्त मेसिन प्रयोगमा आउन नसकेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताए ।

उक्त आईसीयु मेसिन सञ्चालन नहुँदा यस क्षेत्रका बिरामीले आईसीयुबाट हुने सुविधाहरुबाट लाभ लिन सकेका छैनन् । आईसीयु मेसिन हाल आफै आईसीयुको अवस्थामा रहेको छ । अस्पतालले बिरामीलाई रिफर गर्न बाहेकको अन्य काम गर्न सकेको देखिदैंन् । यस क्षेत्रका धेरैले महाकाली अस्पताललाई रिफर अस्पतालका रुपमा चिनाउने गरेका छन् ।

अस्पतालको आईसीयु मेसिन जनशक्तिको अभावमा सञ्चालनमा नआएको अस्पतालका सूचना अधिकारी अवस्थीले बताए । ‘आईसीयु मेसिन सञ्चालनका लागि जनरल फिजिसियन र एनस्थेसियाको आवश्यकता पर्दछ तर उक्त जनशक्ति हाल हामीसँग व्यवस्था गर्न नसक्दा आईसीयु मेसिन सञ्चालन गर्न नसकिएको हो,’ उनले भने ।

आर्थिक वर्ष २०७१/७२ तिर सरकारले अस्पतालमा आईसीयु मेसिन जडान गरिएको भएपनि हालसम्म मेसिन सञ्चालनका लागि दक्ष जनशक्ति पठाएको छैन् । बीचमा एकजना डाक्टर पठाएको भएपनि धेरै समय बस्न नसकेपछि उनले छोडेर गएका थिए । त्यसपछि हालसम्म सरकारले अर्काे व्यवस्था गर्न नसक्दा मेसिन सञ्चालनमा नआएको अवस्थीले बताए ।

एक जनाले चल्दैन, टिम नै चाहिन्छ

आईसीयु मेसिन सञ्चालन गर्नका लागि सरकारले एक जना डाक्टरको व्यवस्था यसभन्दा अगाडि गरेको थियो । तर, हाल एकजना पनि छैनन् । व्यवस्था गरेको डाक्टर पनि धेरै समय टिक्न सकेनन् । आईसीयु मेसिन सञ्चालन गर्नका लागि एकजना मात्र डाक्टरले नपुग्ने अधिकृत अवस्थीले बताए ।
‘आईसीयु मेसिन सञ्चालन गर्नका लागि कम्तिमा पनि ३ जना दक्ष जनशक्ति आवश्यक पर्छ । जनरल फिजिसियन र एनेस्थेसियनलगायतका विभिन्न विषयमा विज्ञ जनशक्ति चाहिन्छ फेरि सधैंभरि एउटैले हेर्न सक्दैन् । बिदामा बस्दा तथा सिफ्टमा काम गराउनका लागि पनि धेरै जनशक्ति आवश्यक पर्छ, यसर्थ टीम नै चाहिन्छ,’ उनले भने ।

डाक्टरका लागि प्रदेश सरकारले पहल गर्दै

महाकाली अस्पतालमा हाल डाक्टर पनि उपलब्ध नरहेको अवस्थीले बताए । स्वास्थ्य कर्मचारी समायोजनमा डाक्टरलाई संघमा समायोजन गरेकाले भएका डाक्टर सरुवा भएका छन्, हालसम्म पठाएको छैन् ।

हाल समायोजनबाट एक जना डाक्टर पठाइएपनि सेती अस्पताल वा महाकाली अस्पतालमा अन्योलता बनाएको छ । हाल प्रदेश सरकार महाकाली अस्पतालमा डाक्टरको व्यवस्था गर्नका लागि लागि परेको डाक्टर अवस्थीले बताए । प्रदेश सरकारले ९ जना डाक्टरको लागि करारमा भर्ना खोलेको छ र डाक्टरले आवेदन दिएमा मात्र डाक्टर आउन सक्ने अवस्थीले बताए ।

२८ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल विशेषज्ञ डाक्टर २ जना मात्रै रहेका छन् भने मेडिकल अफिसर र अन्य नर्सहरु गरेर करिब १० जनाले मात्रै अस्पताल सञ्चालन गराइरहेका छन् ।

दैनिक रुपमा करिब २ सयदेखि २ सय ५० जनासम्म बिरामी भर्ना हुने अस्पतालमा डाक्टर नहँदा उपचार तथा सेवा सुचारु गर्न समेत समस्या भइरहेको अस्पतालका सूचना अधिकारी अवस्थीले बताए ।

हाल अस्पतालमा गर्मी मौसमका कारण भाइरल जन्य रोगलगायत विभिन्न रोगका बिरामीको चाप अत्याधिक बढी रहेको छ तर प्रदेश सरकारले बिरामीको चाप र अस्पतालको दरबन्दीअनुसार विशेषज्ञ डाक्टरको व्यवस्था गर्न सकेको छैन् । जसले गर्दा दैनिक रुपमा बिरामीहरुले सास्ती भोग्नुका साथै उपचार समेत नपाउने अवस्था रहेको मेडिकल रेकर्ड अधिकृत अवस्थीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ