२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा समायोजन सकस, स्वास्थ्यकर्मीमा बढ्दो असन्तुष्टी

स्वास्थ्यमा समायोजन सकस, स्वास्थ्यकर्मीमा बढ्दो असन्तुष्टी


काठमाडौं—यतिबेला संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घुइँचो छ । दशैंका बेला प्राय सुनसान देखिने मन्त्रालयमा घुइचो लाग्नुको कारण स्वास्थ्यका कर्मचारीको समायोजन हो ।

भिडमा रहेका सबैको चिन्ता र चासो समायोजनमा आफू कहाँ परे भन्नेमा छ । समायोजनमा परेकाहरु केहीले मज्जाले चित्त बुझाएका छन् । केही ठिकै छ भन्नेमा छन् भने केही आफूले सोच्दै नसोचेको स्थानमा समायोजन भएको भन्दै दुखेसो पोखिरहेको भेटिन्छन् ।

दुखेसो पोख्नेहरुका लागि मन्त्रालयले एउटा चित्त बुझाउने बाटो भने खुल्ला नै राखिदिएको छ । आफूलाई चित्त नबुझेको ठाउँमा समायोजन भएको भए गुसानो दर्ता गर्नुहोस् भनिएको छ । ती गुनासा कति सुनिन्छन्, सुनिदैनन् भन्ने कुरा आउँदा दिनले नै बताउँला । तर, यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि यस्तै गुनासो सुन्ने ब्यवस्था गरेको थियो । त्यसबेला गुनासो सुनेर गरिएको समायोजन झनै बिग्रिएको भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दावी गरेपछि स्वास्थ्य मन्त्रालयलाई नै समायोजन मिलाउन सामान्यले जिम्मा दियो ।

समायोजनको जिम्मा स्वास्थ्य मन्त्रालयले केही उच्च अधिकारीहरुसहित एक टोलीलाई दुई महिना गुप्तवास राखी गरिएको समायोजन पनि गतिलो गुनासो व्यवस्थापन गर्न सकेन । स्वचालित सफ्टवेरबाट हुने भनिएको समायोजनमा पनि अपवादबाहेक पहुँचले नै काम गरेको मन्त्रालयकै उच्च अधिकारीहरु बताउँछन् ।

‘अपवाद छोडेर मन्त्रालय वा राजनीतिक दलका ठूला नेताको सहज पहुँचमा भएकाहरुको आफूले भनेको ठाउँमा समायोजन भएको छ । उनीहरु दिल खुस भएर पत्र बुझ्छन्,’ ती उच्च अधिकारी भन्छन्, ‘दोस्रो मध्यम खालको पहुँच भएकाहरुले आफूले भनेको स्थान नभएपनि आफू वर्तमान अवस्थामा बसेको स्थानबाट अलिअलि नजिक समायोजन हुने अवसर पाएका छन् । अर्को पहुँच नभएको समुह असन्तुष्ट छ, आउँछ पत्र बुझ्छ अनि नियाउरो अनुहार लगाउँदैं मन्त्रालयले जारी गरेको गुनासो सुन्ने सूचना हेर्दै पुनः गुनासो हाल्छ । सुनुवाई भैहाल्ला कि भनेर आशावादी हुँदै फर्कन्छ ।’

मन्त्रालयमा समायोजन देखिएको सकसलाई लिएर स्वास्थ्यका उच्च अधिकारीहरु सामाजिक संजालमा नै असन्तुष्टी प्रकट गर्न सुरु गरेका छन् । मन्त्रालयको तेस्रो वरिष्ठ वरियतामा रहेका परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिह तिंकरीले सामाजिक संजाल फेसबुकमै आक्रोश पोखेका छन् । ‘स्वास्थ्यको समायोजन ?????? कमेन्ट । यहि तरिकाले संविधानले दिएको म्यान्डेटअनुसार न्यायोचित तरिकाले सबैका लागि आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हामी सक्छौ त ?,’ उनले प्रश्न गरेका छन् । उनको स्टाटसमा एक हेल्थ असिस्टेन्ट मोहन महराले गरेको टिप्पणी अझ रोचक छ । महराले लेखेका छन्, ‘समायोजनको नाममा सरकारले आतंक फैलाएको छ । सिनियर जुनियर केही पनि हेरिएको छैन । पावर र पैसा हुनेले कडा रोगी भएको बहाना गरी रोजेको ठाउँमा समायोजन भएका छन् ।’

अर्का स्वास्थ्यकर्मी टेकराज ओझाले सरकारलाई सुझाव दिने तरिकाले आफ्ना कुरा फेसबुकमा लेखेका छन् । ‘पहिलेको जनसंख्याको आधारमा बनाइएको संरचना र वर्तमान अवस्थामा स्वास्थ्यकर्मीको खस्किएको मनोबलले एसडिजी र अन्य तोकिएका उद्धेश्य कसरी पूरा होला ? सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।’

समायोजनका कारण स्वास्थ्यकर्मीहरुमा मनोबल बढ्नुको साटो झनै खस्किदैं गैरहेको पाइन्छ । मन्त्रालयमा समायोजनको पत्र बुझ्न आउने हुन वा सामाजिक सन्जालमा आक्रोश पोख्ने दुवैको मनोवृत्ति उस्तै देखिन्छ । समायोजनमा कहाँ परियो भन्ने पीर त एकथरिमा छदैंछ, रोजेको स्थानमा पाउनेहरु पनि भोलि फेरि के होला भन्ने चिन्ताले नै पिरोलिरहेका देखिन्छन् ।

गुनासो दर्ता गर्नेको भिड ।

यो कुरा स्वास्थ्य मन्त्रीका स्वकीय सचिव महेश चौरासिया पनि स्वीकार्छन् । ‘एक साता यता देशभरबाट सातौ तहभन्दा मुनिका झण्डै आधा स्वास्थ्यकर्मी समायोजनको विषयमा चिन्ता लिएर मन्त्रालयमा आएका छन्,’ चौरासिया भन्छन्, ‘स्वास्थ्य समायोजनमा लामो समय लाग्दा चित्त नबुझेकाहरुको चिन्ता फरक छ ।’ उनकाअनुसार आधाभन्दा बढी स्वास्थ्यकर्मी राजधानीमा हुँदा गाउँ—गाउँमा स्वास्थ्य सेवा प्रवाहमा समस्या पर्न थालेर मन्त्रालयमा गुनासो आउन थालेको छ ।

यता समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ बताउँछन् । मन्त्रालयले गठन गरेको गुनासो व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक समेत रहेका श्रेष्ठ सकेसम्म सबैलाई पायक पर्ने ठाउँमा समायोजन गर्ने गरी मन्त्रालयले तयारी गरिरहेको बताउँछन् । उनकाअनुसार सामान्य प्रशासन मन्त्रालयले पद नामको विषयमा स्वास्थ्य सेवा नियमावलीलाई नमान्दा झन अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।

स्वास्थ्यमा लोकेसेवाको प्रक्रियाबाट आएका र स्तरवृद्धि भई पदनाम पाएका चौथोदेखि ७ औं तहका कर्मचारीहरुको समायोजनमा बढी समस्या देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ