२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनजिक पार्ने भनिएको समायोजनले स्वाथ्यकर्मीलाई झन टाढा पुर्‍यायो

नजिक पार्ने भनिएको समायोजनले स्वाथ्यकर्मीलाई झन टाढा पुर्‍यायो


काठमाडौं—नवलपरासीको गैंडाकोटकी माया शर्मा समायोजनमा पायक पर्ने स्थान नपाएपछि गुनासो दर्ता गर्न सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आएका थिइन् । छैटौं तहकी अधिकृत उनी यसअघि घरबाट ४ मिनेटको दूरीमा रहेको स्वास्थ्य संस्थामा कार्यरत थिइन् । तर, अहिले उनको समायोजन अर्को नगरपालिकामा पुगेको छ ।

‘मेरो घरबाट अफिससम्मको बाटोको दूरी ४ मिनेट जति होला । तर, समायोजन हुँदा जिल्लाकै कावासोती नगरपालिकामा प¥यो,’ उनले भनिन् । समायोजनमा सबैलाई पायक पर्ने स्थान दिने भनिएतापनि उनको समायोजन किन गलत ठाउँमा प¥यो, त्यसको कारण थाहा पाउन सकेकी छैनन् । उनी यसलाई करेक्सन गर्न सकिन्छ कि भनेर काठमाडौं आएकी हुन् ।

उनीसँगै भेटिएकी पाचौं तहकी अनमी प्रेमकुमारी थापामगर भने जिल्लाबाटै बाहिर पुगिन् । समायोजनअघि नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकामा कार्यरत उनी समायोजनपछि भने कपिलवस्तु पुगेकी छिन् । यस विषयमा यसअघि नै गुनासो दर्ता गरेपनि सुनुवाई नभएको उनको गुनासो छ ।

‘पहिले पनि गुनासो दर्ता गरेको थिएँ । सुनुवाई भएन,’ उनले भनिन्, ‘१७ गतेसम्म म्याद छ भन्ने सुनेर फेरि गुनासो दर्ता गर्न आएको । सुनुवाई हुन्छ हुँदैन थाहा छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा भएको गुनासो दर्ता गर्न केही दिनअघि मात्र सूचना जारी गरेको थियो । आगामी १७ गतेसम्म गुनासो दर्ता गर्न पाइने भएपछि मन्त्रालयमा गुनासो लिएर आउनेको संख्यामा वृद्धि भएको छ ।

समायोजनमा टाढा पुग्ने समस्या त एकातिर छदैंछ, अर्कोतिर समायोजनमा पद घटुवा भएर मन्त्रालय धाउनेको संख्या पनि उत्तिकै छ । दाङका बाबुराम चौधरी सोमबार बिहानै काठमाडौं आइपुगे । श्रीमतीको समायोजन पत्रमा पद घटुवा भएर आएपछि उनी सच्याउन काठमाडौं आएका हुन् । उनकी श्रीमती रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा पाचौं तहकी अनमी छन् । तर, समायोजन पत्रमा एक ओहोदा घटेर आयो ।

चौधरीजस्तै समायोजनमा पद घटुवा भएर पत्र आयो—दिलकुमारी थापालाई । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत उनी पाचौं तहकी अनमी हुन् । तर, उनले चौथो तहको पत्र प्राप्त गरिन् । थापा अन्य दुई जना साथीहरुसँगै गुनासो दर्ता गर्न काठमाडौं आएकी हुन् ।

मन्त्रालयको कार्यशैलीप्रति स्वास्थ्यकर्मी असन्तुष्टी

सरकारले सबै सरकारी कार्यालयको काम अनलाइनमार्फत गर्ने योजना बनाएको छ । सरकारका मन्त्रीहरुले पनि सरकारी कामलाई छिटो—छरितो बनाउन र पारदर्शिता ल्याउन सबै काम अनलाइनबाट गर्ने उद्घोष बारम्बार गर्ने गरेका छन् । केही कार्यालयका केही काम अनलाइनबाट सुरु नभएका पनि होइनन् ।

तर, स्वास्थ्य मन्त्रालयले सामान्य सुचना समेत अनलाइनमा नराखेको भन्दैं गुनासो दर्ता गर्न आएकाहरु आक्रोश पोखिरहेका थिए । त्यसैमध्येका एक हुन् गुल्मीका रिसब भण्डारी । आफ्नी भाउजुको समायोजन पत्र लिन आएका उनी झण्डै पौने एक घण्टा लाइनमा बसेको बताउँछन् । मन्त्रालयले समायोजनको पत्र अनलाइनमा नै राखिदिँदा सर्वसाधारणले दुःख नपाउने तर्क गर्छन्, उनी ।

‘सबै मन्त्रालयहरुमा आईटी डिपार्टमेन्ट छ । यस्ता साना काम पनि नगर्ने हो भने तलब खुवाएर राख्नुको औचित्य चाहिँ के नि ?,’ उनी प्रश्न गर्छन् ‘अनलाइनमा राखिदिएको भए कम्तीमा पनि घरमै बसेर हेर्न सकिन्थ्यो । यस्तो झमेला कसैलाई हुँदैन थियो ।’

गुल्मीमा कार्यरत उनकी भाउजु अनमी हुन् । त्यहाँदेखि आउन गाह्रो हुने हुँदा समायोजनको पत्र लिन भण्डारी आएका रहेछन् । ‘पहिले काम गरेकै गाउँपालिकामा परेको छ । तर, त्यहाँ चाहिनेभन्दा धेरैले रोजेकाले कुन स्वास्थ्य संस्था पर्छ थाहा छैन,’ उनी भन्छन्, ‘त्यसैले जसले पहिले पत्र लिएर गयो उसैले स्थान रोज्न पाउने स्थिती भएकाले दुःख गरेर पत्र लिन आउनुपर्‍यो ।’

समायोजन पत्र लिगलिगे दौड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यतिबेला समायोजनको पत्र लिने स्वास्थ्यकर्मीहरुको भिड लागेको छ । समायोजनको पत्र लिएर तोकिएको गाउँपालिकाको सुविधासम्पन्न स्वास्थ्य संस्थामा जानका लागि चाँडो समायोजन पत्र हात पार्ने दौडधुप नै चलेको छ ।

स्वास्थ्य मन्त्रालयले समायोजनअघिको कार्यरत स्वास्थ्य संस्थामै समायोजन पत्र पठाउने भनेतापनि समायोजन परेको गाउँपालिकाको सुगम ठाउँमा अरुले नै रोजिदेलान भन्ने चिन्ताले पत्र लिन मन्त्रालय नै आउने भिड बढेको हो ।

‘जसले चाडो पत्र पायो उसैले सम्बन्धित नगरपालिकाको सुगम ठाउँमा पहिलो प्राथमिकता पाउने हुँदा पत्र लिनेको भिड मन्त्रालयमा गएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यति बरिष्ठताका आधारमा सुगम दुर्गम छुट्याएर सही तरिकाले समायोजन गरेको भए यो समस्या आउँदैन्थ्यो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ