२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षाको ३२ अर्ब लगानी जोखिममा, २५ हजार बेरोजगार !

चिकित्सा शिक्षाको ३२ अर्ब लगानी जोखिममा, २५ हजार बेरोजगार !


काठमाडौं—चिकित्सा शिक्षा ऐन जारी भएर कार्यन्वयनमा आएसँगै ३२ अर्ब लगानी जोखिममा परेको निजी लगानीकर्ताहरुले दावी गरेका छन् । सिटिइभिटीबाट सम्बन्धन लिएर तीन वर्षे डिप्लोमा अध्यापन गराइरहेका निजी शैक्षिक संस्थाहरुको संगठन स्वास्थ्य प्रविधि विज्ञान मञ्चका अध्यक्ष शैलेन्द्रमोहन झाले ऐनको डिप्लोमा र ब्याचलर दुवै कार्यक्रम एउटै कलेजले चलाउन नपाउने, नर्सिङ कलेजको आफ्नै १ सय शैय्याको अस्पताल सञ्चालन हुनुपर्ने र फेजआउट गरिएका कार्यक्रमका कारण ३२ अर्ब लगानी जोखिममा परेको दावी गरे ।

उनले टिएसएलसी कार्यक्रम फेजआउट भएपछि १८० वटा कलेज, आफ्नै १ सय शैय्याको अस्पताल सञ्चालन हुनुपर्ने भएपछि ८० वटा डिप्लोमा पढाउने कलेज, डिप्लोमा र ब्याचलर कार्यक्रम एकै कलेजले चलाउन नपाउने नियम लागु गरेपछि ४० वटा ब्याचलर पढाउने कलेज बन्द भएको बताए । टिएसएलसी कार्यक्रम सञ्चालन भएको २५ वर्षपछि २०७६/०७७ मा अन्तिम पटक भर्ना खोलेर फेजआउट गरिएको छ ।

‘चिकित्सा शिक्षा ऐनको प्रावधानबाट ३२ अर्ब लगानी जोखिम परेको छ । प्रत्यक्ष रुपमा २५ हजार बेरोजगार भएका छन्,’ उनले हेल्थआवाजसँग भने ‘यही कारणले करोडौ रकम विदेशिएको छ ।’ यति धेरै संख्यामा कलेज बन्द हुँदा १८ हजारभन्दा बढी विद्यार्थी विदेसिनु परेको उनले दावी गरे ।

यसअघि १ सय शैय्याको अस्पताल नभएका डिप्लोमा र स्नातक कार्यक्रम सञ्चालन गरिरहेका ८२ वटा कलेज बन्द भएको तथ्यांक मञ्चले हेल्थआवाजलाई उपलब्ध गराएको थियो । जसमा डिप्लोमा वा ब्याचलर एउटै मात्रै कार्यक्रम चलाउन पाइने भएपछि थप कलेजहरु बन्द भएको झाले बताए ।

मञ्चको तथ्यांकअनुसार चिकित्सा शिक्षा ऐन कार्यन्वयनमा आएसँगै सिटीईभीटीका ६३ वटा नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्था बन्द भएका छन् भने पूर्वाञ्चलका १९ वटा नर्सिङ कार्यक्रम चलाइरहेका शैक्षिक संस्था बन्द भएका छन् । सिटीईभिटीअन्तर्गतका नर्सिङ पढाउने ६३ वटा र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका बीएस्सी नर्सिङ र पोष्ट बेसिक इन नर्सिङ (पीबीएन) पढाउने १९ वटा शैक्षिक संस्था बन्द भएका छन् ।

गुणस्तरीयताका नाममा देशका स्वास्थ्य शिक्षा संरचना नै ध्वस्त पारिएको उनले बताए । ‘गुणस्तरीयताको नाममा देशका संस्थाहरु बन्द भएका छन्,’ झाले भने, ‘विदेशबाट उत्पादित जनशक्ति भन्दा यहाँको स्वास्थ्यकर्मी १०० गुणा राम्रो छन् ।’ उनले नेपाल नर्सिङ काउन्सिल र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा हेर्दा पनि त्यो पुष्टि हुने बताए ।

‘यो देशको उत्पादित जनशक्तिले दायाँ खुट्टाको सट्टा बायाँ खुट्टा काटेको सुन्नु भएको छ ?,’ उनले प्रश्न गरे, ‘कमजोर जनशक्ति भएको भए बेलायतमा १० हजार जनशक्ति माग हुन्छ ? दुःखको साथमा के भन्छु अबको केही वर्षमै नेपालमा स्टाफ नर्स, पारामेडिक्स डलर तिरेर बाहिरबाट ल्याउनुपर्ने दिन टाढा छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)