२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दुई जना नक्कली डाक्टर पक्राउ, एक वर्षदेखि अवैध रुपमा क्लिनिक चलाएको खुलासा

दुई जना नक्कली डाक्टर पक्राउ, एक वर्षदेखि अवैध रुपमा क्लिनिक चलाएको खुलासा


विराटनगर-मोरङको पूर्वी सहरमा इजाजत बेगर क्लिनिक संचालन गरेर आफूलाई चर्चित डाक्टर भन्दै बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै मनलाग्दी उपचार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी र पथरीमा अवैध रूपमा क्लिनिक संचालन गरी आफूलाई डाक्टर भन्दै मनलाग्दी रूपमा विरामीको उपचार गर्ने दुई जना भारतीयलाई पक्राउ गरेको हो ।

प्रहरीले भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला रानीगन्ज पानसाली पन्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला देवीगन्ज ग्रामपन्चायत बस्ने २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका वर्मनले मोरङ पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हललाइनस्थित श्री राम पाइल्स क्लिनिक संचालन गरेका थिए । यस्तै मण्डलले सुन्दरहरैचा नगरपालिका-३ स्थित गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक संचालनमा ल्याएको डिएसपी श्रेष्ठले बताए । उनीहरूले विगत एक वर्षदेखि पथरी र गछियामा क्लिनिक संचालन गरेको पाएको प्रहरीले जनाएको छ ।

‘उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्न कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट इजाजत पत्रसमेत प्राप्त नगरेको पाइएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘यसरी नक्कली डाक्टर बनेर उपचार गरेको पाइएपछि पक्राउ गरिएको हो ।’

भारतीय नागरिक बर्मन र मण्डलले आफूलाई चर्चित डाक्टर हुँ भन्दै औषधि उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरेको भन्दै यहाँका स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । सोही सूचनालाई आधारमा प्रहरी ग्राहक बनेर क्लिनिक पुग्दा खुलेआम बिरामीको स्वास्थ्य परीक्षण गर्दै गरेको भेटेपछि उनीहरूलाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले उपचारमा प्रयोग गरिएको सामाग्री पनि बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई कारवाहीको लागि मोरङ प्रहरीले अदालतमा म्याद थप गरी मेडिकल काउन्सिलसँग आवश्यक समन्वय समेत गरेको प्रहरीले जनाएको छ ।

*यसअघि असावधानीवस असम्बन्धित फोटो प्रकाशित हुन गएकोमा क्षमा चाहन्छौं । (सं)


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ