२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देहीमा डेंगु आतंकः स्वास्थ्यकर्मी भन्छन् आत्तिनु पर्दैन

रुपन्देहीमा डेंगु आतंकः स्वास्थ्यकर्मी भन्छन् आत्तिनु पर्दैन


बुटवल–रुपन्देहीमा पछिल्लो समय डेंगु महामारीको रुपमा फैलिएको छ । हरेक पाँच जना ज्वरोका विरामीमा एक जनामा डेंगु देखिएको सरकारी तथ्यांकले देखाएको छ । डेंगु आतंक बढिरहेका बेला स्वाथ्यकर्मी भने आत्तिनु पर्ने अवस्था नरहेको बताउँदै आएका छन् ।
रुपन्देहीमा डेंगु संक्रमण हुनेको संख्या हाल सम्म १२ सय नाघेको छ । निजी अस्पताल तथा क्लिनिकमा विरामीको रेकर्ड नरहेकाले पनि यो सँख्या ठूलो हुन सक्ने विज्ञहरुको अनुमान छ ।

रुपन्देहीमा यस बर्ष पहिलो पटक गत साउन २८ गते डेंगु देखिएको थियो । दुई महिनामै १२ सय बढी डेंगु संक्रमित हुनु गंभिर विषय भएको चिकित्सकहरु बताउँछन् ।

रुपन्देही जिल्लामा डेंगुको संक्रमण हुनेको संख्या दिनप्रति दिन बढ्न थालेपछि स्वास्थ्य कार्यालय रुपन्देहीले आफ्नो सक्रियता बढाएको छ । जिल्लामा दिन दिनै डेंगुका बिरामी बढ्न थालेपछि स्वास्थ्य कार्यालय भैरहवाले तथ्याङ्क अध्यावधिक गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

मानिसहरुलाई डेंगु संक्रमण हुनबाट कसरी जोगाउने भन्ने बिषयमा जिल्लामा सञ्चालित अस्पतालका चिकित्सकहरुसँग छलफल गरिएको कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले बताए ।

‘जिल्लामा संक्रमितको संख्या बढी देखिएको छ । यद्यपी उपचार गरेर पूर्णरुपमा निको भएर घर फर्कनेहरुको सँख्या पनि उस्तै छ । आत्तिनु पर्ने अवस्था छैन् । डेंगु नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरिएको छ ।’–उनले भने ।

जिल्लामा सञ्चालित सबै अस्पतालले डेंगुको पहिचान भएका बिरामीको तथ्यांक उपलब्ध गराउनुपर्ने डा. गिरीको भनाई छ । ‘सही तथ्यांक भएमा मात्र त्यसको नियन्त्रणका लागि योजना बनाउन सजिलो हुन्छ ।’, उनले भने ।

डेंगुको संक्रमण सामान्य भाइरल ज्वरो जस्तै भए पनि त्यसलाई महामारी रोगको रुपमा प्रचार गरिदा आमजनतामा डेंगुको त्रास बढेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का निमित्त निर्देशक डा. केशव शर्मा बताउँछन् । ‘बुटवल स्वास्थ्यको हव जस्तै भएको छ, अन्यत्र डेंगु संक्रमण भएर यहाँ जचाउन आउने संख्याले पनि बढी देखिएको हो ।’–उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ