२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. भोला रिजालको दशैं अनुभवः जमरा रोपिएन, रोपियो अर्काे दशैं मनाउने आशा

डा. भोला रिजालको दशैं अनुभवः जमरा रोपिएन, रोपियो अर्काे दशैं मनाउने आशा


डा. भोला रिजाल

कुनै पनि चिकित्सकको जीवनमा अविस्मरणीय दशैंहरु थुप्रै आउने गर्छन् । त्यस्तै मेरो जीवनमा पनि त्यस्ता दशैंहरु धेरै पटक आए । कुरा वि.सं २०४८/४९ तिरको हुनुपर्छ । त्यसबेला ओम अस्पताल खोलेको भर्खरै मात्र २/३ वर्ष भएको थियो । त्यतिखेर ओम अस्पताल कमलपोखरीमा थियो ।

र, त्यसबेलाको दशैंमा टिकाको साइत करिब १० बजेतिरको थियो । तर, टिकाको साइतको समयतिर ओम अस्पतालमा एउटा बिरामी आयो भनेर खबर आयो । चिकित्सक भएको नाताले हामीले हाम्रो जिम्मेवारीलाई ब्यक्तिगत जीवनभन्दा पनि माथि नै राखेका हुन्छौ, राख्नु पनि पर्छ । त्यसैले म तुरुन्तै ओम अस्पताल आउनुपर्ने भयो । म आउने भएपछि मेरो आमा, बुवा र श्रीमती पनि मसँगै भ्याइएछ भने त्यतै टिका लगाउला भनेर मसँगै  गाडीमा अस्पताल आउनुभयो । बिरामीको उपचार भएपछि हामी त्यसपछि हामी टिका थाप्न झम्सिखेलस्थित माइलो ठूलो बुवाकोमा गयौं । कहिलेकाहीँ परिवारका सबै आफन्तसँगै हुँदैनौं त, कहिले भएको बेला समयको अभाव खड्किने हुन्छ ।

यस्तै एक पटकको दशैंमा म लगायत मेरो सम्पूर्ण परिवार पुर्ख्याैली घर धनकुटा गएका थियौं । त्यसबेला पनि त्यहाँ पुगेर फर्कन लाग्दा पनि शिविर सञ्चालन भएकोले बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको थियो र गरे पनि । यसरी हामी आफ्नो डियुटी र ब्यक्तिगत जीवनलाई अलग राख्नै सक्दैनौ । बरु ब्यक्तिगत जीवनभन्दा माथि चाहिँ आफ्नो जिम्मेवारीलाई राखिरहेका हुन्छौ । र, चिकित्सक भएको नाताले यो सब गर्न पनि पर्छ ।

यसपालिकै दशैंको कुरा गर्ने हो भने यो वर्ष पनि मेरो परिवारलाई दशैं लागेन । सदा झैं यस वर्ष घटस्थापनामा भने हामीले घरमा जमरा रोपेनौ । बरु रोप्यौं मनमा अर्काे वर्ष दशैं मनाउने आशा । यसैवर्ष मेरो कान्छो छोरालाई सन्तान लाभ भएकाले यता घरमा सुतक परिरहेको बेला भने यसै समय मेरो श्रीमतीकी काइलो दाइ बित्नुभयो । दशैंको टिकाकै दिन उहाँको १३ दिनको पुण्यतिथी परेको छ । एक घरमा दशैं शोकले ढाकिरहदा  अर्कातर्फ उल्लासमय रुपमा दशैं मनाउन मनले नै मानेन त्यसैले यसपाली हामीले दशैं नमनाउने निधो गरेका छौं ।

यसरी हामी चिकित्सकको जीवनमा त्यस्ता अविस्मरणीय दशैं कयौं पटक आउँछन् । हामी चिकित्सकहरुको जीवनमा टिका कहिले जुर्ने त, कहिले नजुर्ने हुन्छ । सधैं सबैको निधारमा टिका, हातमा रमाइलो र साथमा परिवार हुन्छ भन्ने हुदैन । अझ हामी चिकित्सकको जीवनमा त, यस्तो अवस्था थुप्रै पटक आउँछन् । त्यसैले हामीले अर्काे पटक दशैं मनाउन आश र धैर्यता सदैव मनमा राख्नुपर्छ । हामी चिकित्सकको यी नै भोगाइलाई समेट्दै मैले “आत्मालाई साँची राखेर” गीत लेखेको थिए । जसमा स्वर गायिका सपना मल्ल र संगीतकार युगराज गुरुङ्गले दिनुभएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ