२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआर्थिक वर्षको अन्तमा कडा रोगका बिरामीले पाउने पैसा रकमान्तर गरी डा. भगवानको बाल अस्पताललाई

आर्थिक वर्षको अन्तमा कडा रोगका बिरामीले पाउने पैसा रकमान्तर गरी डा. भगवानको बाल अस्पताललाई


काठमाडौं—सरकारले आर्थिक वर्षको अन्तिम समयमा आएर गैर सरकारी संस्थाले निर्माण गर्न लागेको एक अस्पताललाई १ करोड २९ लाख रुपैयाँ रकमान्तर गरी अनुदान दिने तयारी गरेको छ । सरकारले यसै वर्ष घोषणा गरेको कडा रोग लागेका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने भनिएको पैसा रकमान्तर गरी सो संस्थालाई दिने निर्णय गरेको हो ।

काठमाडौं बुढानिलकण्ठ–७ मा निर्माणाधीन काठमाडौं इन्स्ट्रिच्युट अफ चाइल्ड हेल्थ नामक संस्थालाई आर्थिक वर्ष सकिन तीन दिन बाँकी रहँदा पूरानो मितिको निर्णय गराएर एक करोड २९ लाख रुपैयाँ दिन लागेको हो । उक्त संस्थाको नेतृत्व मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले गरेका छन् ।

सो संस्थालाई आर्थिक वर्ष २०७८/०७९ को बजेट १ करोड रुपैयाँ विनियोजन गरेको थियो । १ करोड रुपैयाँ बजेटबाटै लिन सफल सो संस्थाका संचालकहरुले प्रधानमन्त्री देखि अर्थमन्त्रीसम्मको पहुँच लगाएर आर्थिक वर्षको अन्तमा थप १ करोड २९ लाख लैजान सफल भएका छन् । थप रकमसँगै चालु वर्षमा सो संस्थाले २ करोड २९ लाख नेपाल सरकारबाट अनुदान पाएको छ ।

सो संस्थाले पुस २३ गते काठमाडौं र सातवटै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने भन्दै १ करोड रुपैयाँ उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले मन्त्रालयमा रकम नभए भन्दै अर्थ मन्त्रालयलाई थप रकम उपलब्ध गराउन पत्राचार गरेका थिए । सोही पत्रका आधारमा अर्थ मन्त्रालयले १९ असार २०७९ मा स्वास्थ्य मन्त्रालयअन्तर्गतकै बढीमा ४ करोडसम्म उपआर्थिक वर्ष ०७८/७९ मा खर्च हुन नहुने मिल्दो स्रोतबाट रकम रमकान्तर सिफारिस गर्न पत्राचार भएको थियो ।

‘स्वास्थ्य मन्त्रालयमा मिल्दो स्रोत फेला नपरेपछि कडा रोगको औषधी खर्च रकम रकमान्तर गर्न प्रस्ताव गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सरकारीबाहेक निजी तथा गैर सरकारी संस्थालाई यो आर्थिक वर्षको असारमा रकमान्तर यही संस्थाले मात्र पायो ।’


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं इन्स्ट्रिच्युट अफ चाइल्ड हेल्थ, #प्रा.डा. भगवान कोइराला, #मेडिकल काउन्सिल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ