काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले मापदण्डभित्र रहेर मात्र प्रयोगशाला संचालन गर्न आग्रह गरेका छन् । शुक्रवार आर्युवेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्यावको अगुमन गर्नेक्रममा मन्त्री केसीले मापदण्ड नपुगेको प्रयोगशालाको गुणस्तरमा प्रश्न उठ्ने भन्दै मापदण्डभित्र रहेर संचालन गर्न आग्रह गरेका हुन् ।
नेसनल प्याथ ल्यावको अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘अहिले पनि केही प्रयोगशालाहरु मापदण्डभित्र नरहेको पाइएको छ । मापदण्ड नपुगेको ल्यावले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशिलतामा प्रश्न उठ्ने गर्दछ। त्यसैले, मापदण्डमा रहि प्रकृयाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्दछौं।’ मापदण्ड बाहिर रहेकालाई कारबाहीको मात्रै विकल्प रहेको उनले बताए ।
सरकारी अस्पतालहरुले परीक्षणका नाममा निजी प्रयोगशालामा पठाउने जनगुनासो आएको भन्दै यसको नियमन आवश्यक रहेको मन्त्री केसीको भनाइ छ ।
त्यस्तै, आयुर्वेद अनुसन्धान केन्द्रको वृह्त विकासका लागि आफू संवेदनशिल भएको उनले बताए । ‘अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याएको विषय प्रति सजग छौं । धेरै जसो कर्मचारीहरु करारमा हुनुहुँदो रहेछ । यस विषयलाई मैले गम्भिर रुपमा लिएको छुँ, ’मन्त्री केसीले भने ।
नेपालमा उत्पादन भएका करोडौं रुपैयाँका जडीबुटी विदेश देश निर्यात भइरहेको भन्दै उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धान हुन जरुरी रहेको उनको भनाइ छ । अनुगमनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाको पनि उपस्थित रहेको थियो ।