२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशीको सर्जरी विभाग विस्तार : ४ वटा अप्रेशन थ्रिएटरसहित ५० शैय्यामा संचालन

कोशीको सर्जरी विभाग विस्तार : ४ वटा अप्रेशन थ्रिएटरसहित ५० शैय्यामा संचालन


विराटनगर – पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको सर्जरी विभाग विस्तार भएको छ । ३ करोड १ लाख ७ हजार १ सय ६४ रूपैयाँ लागतमा निर्माण भएको कोशी अस्पतालको ओपीडि भवनको माथिल्लो तलामा सर्जरी विभाग विस्तार भएको हो ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले विस्तार भएको सर्जरी वार्डको उद्घाटन गरेका छन् । सर्जरी विभागमा चारवटा अप्रेसन थ्रिएटरसहित ५० शैय्या रहेको कोशी अस्पतालका सर्जरी विभाग प्रमुख डा. रवि बास्टकोटीले जानकारी दिए । यसअघि सर्जरी विभाग कोशी अस्पतालको पुरानो गाइनो वार्डको भवनमा रहेको थियो ।

गाइनो, सर्जरीको अप्रेसन थ्रिएटर पनिसँगै रहेको थियो । जसले गर्दा सेवा प्रभावमा कठिनाइ हुने गरेको थियो । अहिले गाइनो र सर्जरी विभाग छुटाछुटै रहेको छ । यसअघि सर्जरी विभागमा ३६ वेड रहेको थियो ।

नयाँ भवनमा विस्तार भएको सर्जरी विभागमा बिरामीलाई सहजको लागि लिफ्ट पनि बनाएको छ । नयाँ भवनमा विस्तार भएको सर्जरी वार्डबाट बिरामीले छिटो र छरितो सेवा पाउने अस्पतालका मेसु डा. यज्ञराज खरेलले बताए ।

‘अहिले एकैपटकमा चारजनासम्मको सर्जरी गर्नु पर्ने बिरामी राखेर सर्जरी गर्न सक्ने पूर्वाधारसहितको उपकरणहरू जडान गरिएको छ,’ मेसु खरेलले भने, ‘शल्यक्रिया गरेपछि राखिने पोस्टप वार्डमा १० शैय्या छुटयाएको छ ।’

नयाँ भवनबाट दैनिक ५ देखि १० जनासम्म बिरामीको सर्जरी गर्न सकिने अस्पतालले जनाएको छ । तर, सर्जरीको अप्रेशन थ्रिएटरमा प्रयाप्त जनशक्ति हुन नसक्दा समस्या हुने चिकित्सकहरूले बताएका छन् ।

सर्जरी वडामा अहिले ४ वटा अप्रेसन थ्रिएटर रहेको छ । तर, यहाँ काम गर्ने नर्सको संख्या तीनजना र एक जना हेल्थ असिस्टेन्ट रहेको छ । सर्जरी गर्ने १० जना चिकित्सक भएपनि नर्सको अभाव भएको कारणले न्यून संख्यामा शल्यक्रिया हुने गरेको छ । चारवटा अप्रेसन थ्रिएटरको लागि दुई सिफ्टका लागि १५ जना नर्स आवश्यक पर्ने हो । तर, यहाँ तीनजना मात्र नर्सको भरमा फुल फेजमा अप्रेसन थ्रिएटर चल्न नसक्ने यहाँ कार्यरत सर्जरी चिकित्सक बताउँछन् ।

अस्पताल मेसु खरेलले जनशक्ति अभावको विषयमा स्वास्थ्यमन्त्री खापुङलाई पनि जानकारी गराएको बताए । ‘मन्त्री ज्यूले पनि सकरात्मक  प्रतिक्रिया दिनु भएको छ। रिक्त रहेको स्वास्थ्यकर्मी र नर्सहरू पदपूर्ती गर्ने बताउनुभएको छ,’ उनले भने, ‘केही दिन भित्रमा पदपूर्ती भए पछि सेवा प्रभावमा सहजता हुनेछ ।’

अस्पतालको मेडिकल भवन पनि विस्तार भएर संचालनमा आइसकेको छ । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रूपैयाँ लागतमा कोशी अस्पतालको लिफ्टसहितको मेडिकल भवन निर्माण सम्पन्न भएपछि अहिले संचालनमा आएको हो । ३७ शैय्याको मेडिकल वार्ड रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ