२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘गोलचक्कर’मा डा. रुद्र र डा. सर्वेसको सरुवा

‘गोलचक्कर’मा डा. रुद्र र डा. सर्वेसको सरुवा

डा. मरासिनी भन्छन्, ‘ट्रमा सेन्टर डा. प्रमोद र वीर डा. भुपेन्द्रका नाममा पास गरिदिए हुन्छ’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले गरेका स्वास्थ्य दुई उच्च अधिकारीको सरुवा अलपत्र परेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै चासो देखाएपछि स्वास्थ्यमन्त्री खापुङले गत बुधबार गरेका स्वास्थ्यका दुई उच्च अधिकारीको सरुवा ‘गोलचक्कर’मा परेको हो ।

मन्त्री खापुङले शुक्रबार आधा दर्जन स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका थिए । जसमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीको जिम्मेवारी हेरफेर गर्दै राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा बनाइएको थियो ।

११ औं तहका डा. मरासिनीलाई ट्रमा ल्याएर व्यवस्थापन महाशाखाको जिम्मेवारी डा. सर्वेस शर्मालाई दिइएको थियो । आकर्षक महाशाखामा मानिने व्यवस्थापन महाशाखामा राज्यमन्त्री हीराचन्द्र केसीको जोडबलमा डा. शर्मालाई लगिएको हो । ६ महिनाअघि ११ औं तहमा बढुवा भएका डा. शर्मामा फाजिलमा थिए ।

तर, बुधबार नै जिम्मेवारी हेरफेर भएपनि डा. मरासिनी र डा. शर्माले आइतबारसम्म जिम्मेवारी हेरफेरको पत्र पाएका छैनन् । ‘सल्लाह गरिरहेका छौ भन्नुभएको छ । अहिलेसम्म पत्र पाएको छैन्,’ डा. मरासिनीले हेल्थआवाजसँग भने, ‘सरकारका निर्णयहरु यसरी नै नमान्ने हुने हुन भने ट्रमा सेन्टर डा. प्रमोद यादवका नाममा र वीर अस्पताल डा. भुपेन्द्र बस्नेतमा नाममा पास गरिदिए हुन्छ ।’ यसअघि डा. मरासिनीले वीरको प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति पाएको आधा घण्टामै खोसिएर डा. बस्नेतलाई निमित्त प्रमुख प्रशासकी अधिकृत बनाइएको थियो ।

स्रोतकाअनुसार अहिलेसम्म डा. मरासिनी र डा. शर्माले सरुवाको पत्र नपाउनुको कारण असार पहिलो साता ट्रमा सेन्टरका निमित्त मेसुमा नियुक्त भएका डा. प्रमोद यादव हुन् । डा. यादवले आफ्नो सरुवा रोक्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष यादवले नै चासो देखाएका थिए । यस विषयमा डा. यादवसँग बुझ्दा उनले सरुवा भएर आउनेहरुलाई नै सोध्न आग्रह गरे । जनता समाजवादी अध्यक्ष यादव निकट डा. यादव उनकै जोडबलमा जनकपुर अस्पतालबाट ट्रमाको निमित्त मेसु बनेका थिए ।

मन्त्री र राज्यमन्त्री दुवै सरुवा लागु गर्नुपर्छ भन्नेमा छन् । ‘उपेन्द्रले माधव नेपाललाई फोन गरेपछि डा. मरासिनी र डा. शर्माको सरुवा रोकिएको हो,’ मन्त्री निकट स्रोतले भन्यो ।

स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकाल भने केही कुरा नमिलेर सरुवाको पत्र दिन ढिलाइ भएको बताउँछन् । ‘उहाँहरुको केही कुरा नमिलेर सरुवा पत्र नदिइएको हो,’ उनले भने, ‘भोलि (सोमबार)सम्म उहाँहरुलाई नै त्यो जिम्मेवारी दिने कि अरुलाई दिने टुंगो लाग्छ ।’

स्वास्थ्य सचिव देवकुमारी गुरागाईले जिम्मेवारी हेरफेर भइसकेको बताउँदैं केही दिनमै पत्र पाउने बताइन् । ‘उहाँहरुको निर्णयअनुसार पत्र पाउनुहुन्छ,’ उनले भनिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ