काठमाडौं–सर्लाही रामनगर गाउँपालिका—४ मा बस्ने ५० वर्षीया सहेलादेवी महतोको ४ जनाको परिवार खेतीपातीमा निर्भर छ । घरमा गाई, भैसी, बाख्राहरु पालन गरेकी छन् । घरनजिकै ठूलो बारी छ । घर छेउकै बारीमा गाई भैसीले खाने थुप्रै प्रकारका घाँस लगाइएका छन् । गाई, भैसीको दुध बेचेर सहेलादेवी घर खर्च चलाउँछिन् । गाई, भैसीको पेट भर्न उनी बिहान सधैँ बारीमा घाँस काट्न निस्कनुपर्छ ।
२९ साउनमा मिर्मिरे उज्यालोमै सहेलादेवी महतो वारीमा घाँस काट्न निस्किइन् । बारीमा पसेको केही बेरमै उनी चिच्याउन थालिन्, ‘लोम्डी काटल् कै, लोम्डी काटल् कै (स्यालले टोक्यो, स्यालले टोक्यो) । बारीमा घाँस काट्दा—काट्दै उनी नजिकैको खोलामा पुगेकी थिइन् । जहाँ एक मरेको भैसीलाई स्यालले खाइरहेको थियो । स्याल आफ्नो आहारा छोडेर सहेलादेवीमाथि झम्टिएको थियो ।
उनको चिच्याहट सुनेर छिमेकीहरु जम्मा भएर घटनास्थल पुगेपछि स्याल भाग्यो । उनका पाखुरा रक्ताम्य थिए । त्यसै दिन उनका श्रीमान्ले उनलाई सर्लाहीबाट काठमाडौं ल्याए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इमर्जेन्सीमा राखेर उनको उपचार सुरु गरियो । उनको घाउ अत्याधिक गहिरो भएको हुँदा उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरियो । केही घाउहरुको शल्यक्रिया गरियो । उपचारपछि उनका घाउहरु विस्तारै ठिक हुन थाले ।
१७ दिनको उपचारपछि उनी १४ भदौंमा आफनो घर सर्लाही रामनगर फर्किइन् । सहेलादेवी त प्रतिनिधी पात्र मात्रै हुन्, ग्रामीणदेखि सहरी क्षेत्रमै घरेलु र जंगली जनावरहरुको टोकाइबाट वर्षेनी सयौं मानिसहरु घाइते हुन्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आर्थिक वर्ष ७८/७९ को तथ्यांकलाई हेर्ने हो भने १ लाख एक हजार १ सय ९६ जना रेबिजको खोप लगाउन आएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७७/७८ मा ५५ हजार ५ सय २५ जनाले रेबिजको विरुद्धको खोप लिएका थिए ।
तीमध्ये केहीको जनावरहरुको टोकाइबाट सर्ने रेविज रोगबाट उपचार नपाउँदा मृत्युसमेत हुने गरेको छ । एकातिर ग्रामीण क्षेत्रमा सहज स्वास्थ्य उपचारको अभाव त अर्कोतर्फ जनचेतनाको अभावका कारण जनावरहरुले टोकिसकेपछिको के गर्ने भन्नेमा मानिसहरुमा अन्योलता छ ।
शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन यदि कुनै मानिसलाई जनावरले टोक्यो भने घाउलाई जतिसक्दो चाँडो १० देखि १५ मिनेटसम्म साबुनपानीले राम्रोसँग पखाल्नु पर्ने बताउँछन् । ‘यो नै रेविज विरुद्धको सबैभन्दा प्रभावकारी प्राथमिक उपचार हो । उपलब्ध भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा इथानोल वा पोभिडोन आयोडिनले राम्ररी सफा गर्नु पर्दछ,’ डा. पुन भन्छन्, ‘जति सक्दो चाँडो जनावरले टोकेको व्यक्तिलाई थप उपचारका लागि नजिकको स्वास्थ्य केन्द्रमा लैजानु पर्दछ ।’
रेबिजका लक्षण के—के हुन् त ? डा. पुन थप्छन् ‘रेबिजका सुरुवाती लक्षणहरुमा व्यक्ति पानीदेखि डराउने, टोकेको केही दिनमा टोकेको स्थान झमझमाउने, कुनै—कुनैलाई मेरुदण्डमा अत्याधिक दुखाइ पनि हुने गर्दछ । धेरैजसोको १ देखि ३ महिनासम्म लक्षणहरु देखा पर्ने हुन्छन् । तर, घाउ धेरै नै गहिरो छ भने १ महिना अगाडि नै पनि लक्षण देखिन सक्छ ।’
कुनै केसमा वर्ष दिनमा लक्षण देखिएको पनि अनुसन्धानले देखाएको उनी बताउँछन् । ‘सहि तरिकाले खोप लगाएको छ भने त्यसको जोखिम हुँदैन् तर अरु देशहरुको अनुसन्धानमा केही केसहरु सही तरिकाले खोप नलगाएर रेबिज लागेको देखिएको छ । खोप लगाइ सकेपछि आफू सुरक्षित भनेर माने हुन्छ,’ उनी भन्छन् ।
घरपालुवा र जंगली जनावरको टोकाइमा उपचार फरक हुन्छ त ? टेकु अस्पतालका जनस्वास्थ्य निरीक्षक सुधिर बानिया क्षेत्री घरपालुवा होस् या जंगली जनावर जसले टोकेपनि जतिसक्दो चाँडो यसको खोप लगाउनुपर्ने बताउँछन् । ‘औषधी र डोजको मात्रा पनि एउटै हुने गर्दछ । जंगली जनावरले टोकेमा घाउँको डिग्री हेरेर टाउको नजिकका भागहरु अलि संवेदनशील हुने भएकोले यसमा इम्युनो ग्लोबिन लगाउने गर्दछौं,’ उनले भने ।
एक पटक रेबिजको खोप लगाइसकेकालाई फेरि खोप लगाउन मिल्छ त ? बानिया अगाडि थप्छन्, ‘एक पटक रेबिजको खोप लगाइसकेका व्यक्तिलाई फेरि टोकेमा २ पटक खोप लगाइन्छ । नयाँ बिरामीलाई ०३७ को रुपमा ३ पटक लगाइन्छ ।’
प्रत्येक वर्ष विश्वमा रेबिजका कारण लगभग ६० हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । हरेक वर्ष विश्वमा १ करोड मानिसलाई रेबिज रोगको उपचारको आवश्यकता पर्छ । एसियामामात्रै रेबिजको कारणले गर्दा ३५ हजारभन्दा बढी मानिहरुको मृत्यु हुने गरेको छ । विश्वभरिमा हुने रेबिजका बिरामीमध्ये ४५ प्रतिशतभन्दा बढी सार्क राष्ट्रहरुमा रहेको अनुमान गरिएको छ । युरोपका धेरै देशहरु र उत्तर अमेरिकाले कुकुरको अनिवार्य खोप कार्यक्रम तथा मानिसका लागि रेबिज खोपको राम्रो प्रबन्ध गराएर रेबिजलाई उन्मुलन गरिसकेका छन् ।
रेबिज लागेको जनावरको टोकाइबाट मानिसलाई सार्ने प्राणघातक रोग रेबिज हो । यो रोग लागेपछि उपचार हुँदैन् तर समयमा विचार पु¥याउँदा यो रोगबाट बच्न सकिन्छ ।