२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशकविरुद्ध चार ठाउँमा महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको उजुरी

राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशकविरुद्ध चार ठाउँमा महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको उजुरी


काठमाडौं–भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठमाथि चार ठाउँमा दुर्व्यवहार गरेको आरोपमा उजुरी परेको छ । डा. श्रेष्ठमाथि केन्द्रमा कार्यरत महिला सहकर्मी चिकित्सकले आफूमाथि पटक—पटक दुर्व्यवहार गरेको भन्दैं नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपाल चिकित्सक संघमा उजुरी दिएकी हुन् ।

ती महिला चिकित्सकले २४ साउनमा शल्यक्रिया कक्षमा दुर्व्यवहार गरेको, ३० साउनमा कार्यकारी निर्देशकको अफिसमा दुर्व्यवहार तथा ह्यार्यासमेन्ट गरेको र ५ भदौंमा धम्की दिएको भन्दैं निर्देशक डा. श्रेष्ठ विरुद्ध उजुरी दिएकी हुन् ।

महानगरीय प्रहरी वृत्त भक्तपुरका एसपी प्रजित केसीले डा. श्रेष्ठ विरुद्ध उजुरी परेको पुष्टि गरे । ‘महिला सेलमा एक जना महिला चिकित्सकले उजुरी दिनुभएको छ,’ उनले भने, ‘थप विषय महिला सेलमा बुझ्नुहोला ।’ भक्तपुर महिला सेलकी प्रमुख इन्स्पेक्टर लक्ष्मी पाण्डेले मंगलबार आफ्नो कार्यक्षेत्रमा ‘ह्युमिलियट’ गरेको प्रकृतिको उजुरी एकजना महिला चिकित्सकले दर्ता गराएको बताइन् । ‘आफ्नो जबमा हयुमिलियट गरेको उजुरी दिनुभएको छ,’ उनले भनिन्, ‘हामी उहाँहरुलाई छलफलका लागि बोलाउने प्रक्रियामा छौं ।’

डा. श्रेष्ठ विरुद्ध ७ भदौंमा नेपाल मेडिकल काउन्सिल (एनएमसी)मा पनि उजुरी परेको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीकाअनुसार एकजना महिला सहकर्मी चिकित्सकले अस्पतालमा चिकित्सकीय व्यवहार नगरेको भन्दैं काउन्सिलमा उजुरी दर्ता गराएकी हुन् । ‘उहाँ (डा. श्रेष्ठ) विरुद्ध चिकित्सकीय व्यवहार नगरेको भन्दैं काउन्सिलमा उजुरी परेको छ,’ डा. अधिकारीले भने, ‘छानविन प्रक्रिया अगाडि बढाएका छौं ।’

सोही मितिमा चिकित्सकहरुको छाता संगठन नेपाल मेडिकल काउन्सिल (एनएमए)मा पनि कार्यकारी निर्देशक डा. श्रेष्ठ विरुद्ध त्यस्तै प्रकृतिको उजुरी दर्ता भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले आफूहरु कहाँ पनि उजुरी परेको बताए । ‘हामी कहाँ पनि उजुरी दर्ता भएको छ । त्यो उजुरी काउन्सिल र मन्त्रालयमा पनि दर्ता भएको छ,’ डा. कार्कीले भने, ‘नेपाल चिकित्सक संघ सबै चिकित्सक छाता संगठन भएकाले निर्देशकलाई पत्राचार गरेर छलफलका लागि बोलाएका छौ, उहाँले आउँछु भन्नुभएको छ । उहाँहरुबीच छलफल गराउँछौं ।’ डा. कार्कीले चिकित्सकहरु सबै दाजुभाई भएकाले गल्तीमा एस्क्युज माग्ने, मिलाउनेसम्मको काम आफूहरुले गर्न बताउँदैं त्योभन्दा बढी एनएमएको क्षेत्राधिकारभित्र नपर्ने बताए । ‘घटनामाथि विस्तृत छानविन र कारवाही मन्त्रालय र काउन्सिलले गर्लान,’ उनले थपे ।

यस्तै, ८ भदौंमा ती महिला चिकित्सक शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको सञ्चालन बोर्डका अध्यक्षलाई उजुरी दिएकी छन् । उक्त समितिको अध्यक्ष स्वास्थ्य सचिव हुने प्रावधान रहेको छ ।

आफूविरुद्ध दुर्व्यवहारको उजुरी परेपछि निर्देशक डा. श्रेष्ठले शल्यक्रिया कक्षका आफूनिकट कर्मचारीलाई ती महिला चिकित्सक विरुद्ध १५ भदौंमा हस्ताक्षर गराएका थिए । त्यसपछि उनले ती चिकित्सकलाई स्पष्टीकरणसमेत सोधेका छन् । झण्डै दशक लामो अनुभव भएकी ती विशेषज्ञ चिकित्सक केन्द्रकी स्थायी जागिरे हुन् ।

स्रोतकाअनुसार डा. श्रेष्ठले पछिल्लो एक महिनायता ती चिकित्सकलाई केन्द्रमा भूमिका नदिने, शल्यक्रिया कक्षबाट निकाल्नेलगायतका काम गरेका थिए । ‘पछिल्लो झण्डै एक महिनायता उनको विशेषज्ञताअनुसार भूमिका दिइएको थिएन,’ केन्द्रनिकट स्रोतले भन्यो, ‘उहाँले महिला सहकर्मीसँगको व्यवहारलाई गम्भीरतापूर्वक लिनुभएन ।’

यस विषयमा हेल्थआवाजले डा. श्रेष्ठसँग जिज्ञाशा राख्दा उनले दुर्व्यवहारको आरोप झुटो भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘यो झुटो आरोप हो,’ उनले भने, ‘म पछि कुरा गर्छु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ