२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए

मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए


काठमाडौं–मलेसियाका चिकित्सकले काट्नुपर्छ भनिएको एक नेपाली युवकको हात नेपालका चिकित्सकले जोगाइदिएका छन् । मलेसियाको प्लास्ट्रिक फ्याट्रीमा काम गर्न गएका दाङका २४ वर्षीया मनोज चौधरीको ९ दिन अघि मेसिनमा परी हात पिसिएको थियो ।

मेसिनमा परी हत्केलाभन्दा माथिको भाग फुटेर छियाँछियाँ परेको थियो । हात मेसिनमा पर्नसाथ मलेसियाको अस्पताल पुगेका उनलाई त्यहाँका चिकित्सकले हात काट्नुपर्ने अन्तिम विकल्प सुनाएका थिए ।

तत्कालै नेपाल आएका उनको हात भक्तपुरस्थित डा. इवामुरा मेमोरियल अस्पतालका चिकित्सकहरुले जोगाइदिएका हुन् । आफूले हात काट्न नमानेको र काट्नै परे नेपालमा नै गएर काट्छु भनेर फर्केर आएको मनोजले बताए । ‘हात मेसिनमा परेर पिसिएपछि तत्काल त्यहीको अस्पतालमा गएको थिए,’ उनले भने, ‘हात काट्नुपर्छ भनेर चिकित्सकले भनेपछि काट्नु परेपनि नेपालमा नै गएर काट्छु भनेर आए । तर, यहाँ काट्नुपरेन ।’

हात जोगिएकोमा उनले चिकित्सक, नर्स तथा अस्पताललाई धन्यवाद दिएका छन् । चौधरीको हाडजोर्नी सर्जन डा. निरजविक्रम शाहको टोलीले शल्यक्रिया गरेको हो । डा. शाहको टोलीलाई हात सर्जन डा. नरेश श्रेष्ठले सहयोग गरेका थिए ।

शल्यक्रियामा संलग्न डा शाहका अनुसार चौधरीको हातको स्वास्थ्य अवस्था धेरै सुधार भएको छ । ‘उहाँको हात मेसिनमा परेको चार दिनपछि मात्र आइपुग्नुभएको थियो । अवस्था निकै डरलाग्दो थियो,’ डा. शाहले भने, ‘हामीले चाँडो शल्यक्रिया ग¥यौं । धन्न इन्फेक्सन भएन ।’

चौधरीको स्वास्थ्य अवस्था सुधार भएको हुँदा शुक्रबार नै डिस्चार्ज गर्ने तयारी रहेको चिकित्सकले जानकारी दिए ।

अस्पतालले हाडजोर्नी सम्बन्धी सुपरस्पेसालिटी सेवा सुरु गरेको अस्पताल संचालक समितिका अध्यक्ष डा. मोहनमान श्रेष्ठले बताए । ‘हामीले भक्तपुरमा नै पहिलोपटक हाडजोर्नीको राम्रो टिम तयार गरी सुपरस्पेसालिटी सेवा दिन सुरु गरेका छौं । जुन भक्तपुरका अस्पतालहरुमा पहिलो हामी हौं,’ उनले भने। ‘अब बिस्तारै अन्य विधाको पनि यहि किसिमको सेवा दिने तयारीमा छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ