२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रभावशाली नेतासँग चुनावमा भिड्ने तयारीमा छन् यी डाक्टर

प्रभावशाली नेतासँग चुनावमा भिड्ने तयारीमा छन् यी डाक्टर


काठमाडौं—‘तपाईंले कहिल्यै १७ वर्षको युवा आफ्नै आँखा अगाडि मरेको देख्नुभएको छ,’ डा. अर्चन शमशेर राणाले आइतबार साँझ हेल्थआवाजसँग कुराकानीको सुरुवातीमै प्रश्न तेस्र्याए । पेशाले नेफ्रोलोजिष्ट डा. राणा पछिल्लो ५ वर्षदेखि ‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन’ अभियान चलाइरहेका छन् । नसर्ने रोगको भयावह अवस्थाप्रति नीति निर्माताहरुको ध्यान नगएकोतर्फ उनको पहिलो सांकेतिक प्रश्न थियो ।

‘मानिसहरु युवा उमेरमै नमरुन भनेर मैले १ हजार बढी क्याम्प चलाइसकेको छु,’ उनले अगाडि थपे, ‘पोलिसी मेकिङमै समस्या छ । हेल्थ एजुकेशन नपढेको मान्छे, हेल्थ सिष्टम नबुझेको मान्छेले नीतिगत परिवर्तन गर्न सक्दैन् ।’ १७ वर्षदेखि बिरामीमा सेवामा सक्रिय उनी त्यही ४ मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभामा निर्वाचनमा काठमाडौं ४ बाट यो पटक प्रतिनिधीसभामा उम्मेदवार बन्ने तयारीमा जुटिसकेका छन् ।

कलंकीमा मार्क इन्टरनेशल मिर्गौला सेन्टर चलाइरहेका डा. अर्चनले पछिल्ला ७ वर्ष विशेषज्ञ चिकित्सकका रुपमा बिताएका छन् । ‘हेल्थ इज वेल्थ भनिन्छ नि हेल्थ ठिक भयो सबै कुरा ठीक हुन्छ,’ उनले थपे । नक्सालका ४० वर्षीय डा. अर्चन आफ्नै जन्मथलोबाट चुनावमा लड्नेछन् । यही क्षेत्र नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाको निर्वाचन क्षेत्र पनि हो ।

राजनीति सही बाटोमा हिडेको भए काठमाडौं विश्वविद्यालय एक वर्षअघि मात्रै जनरल सर्जरीमा विशेषज्ञता हासिल गरेकी डा. तोषिमा कार्कीलाई चुनावी मैदानमा होमिनुपर्ने थिएन् । ३२ वर्षीय युवा चिकित्सक डा. तोषिमा प्रतिष्ठित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्जनका रुपमा काम गरिरहेकी थिइन् । तर, उनले जब मुलुकको चरम अव्यवस्था देखिन उनलाई प्रतिष्ठानको आकर्षक जागिरले तानिरहन सकेनन् ।

तर, जब उनले स्वास्थ्य, शिक्षालगायतका तमाम क्षेत्रमा राजनीतिका कारण आमुल परिवर्तन हुन नसकेको खुट्याइन्, उनी सर्जरीमै रमाइरहन सकिनन् । त्यही कारण पाटनको जागिर छोडेर डा. तोषिमा ललितपुर ३ बाट स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिने तयारी गरिरहेकी छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको सहयोगीका रुपमा पनि काम गरेकी उनी नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्यसमेत हुन् ।

‘विज्ञहरुले आफूले विज्ञता हासिल गरेको क्षेत्रको नीति निर्माण र नेतृत्व नगरी परिवर्तन सम्भव छैन्,’ डा. कार्कीले हेल्थआवाजसँग भनिन्, ‘नेपालको आफ्नै राष्ट्रिय मौलिक स्वास्थ्य सेवा मोडल निर्माणका लागि काम गर्न म संसदमा जान चाहेकी हुँ ।’ चिकित्सकमाझ निकै लोकप्रिय उनी ललितपुर ३ का जनताको रोजाइमा पनि पर्ने विश्वासमा छिन् । ‘मेडिकल काउन्सिलमा पनि देशभरका चिकित्सकहरुले रुचाएर मलाई मतदान गरेर जिताउनुभयो,’ उनी विश्वासी सुनिइन्, ‘ललितपुरमै मेरो बसोबास छ, यही पढे र यही हुर्किए । यहाँका मतदाताले मलाई विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’

नेपालको स्वास्थ्यलाई सुलभ, गुणस्तरीय र सबैको पहुँचमा पुग्ने बनाउनका लागि उनी सरकारी स्वास्थ्य सेवामा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छिन् । ‘सरकारी स्वास्थ्य सेवा परिवर्तन सबै नेपालीले सहज रुपमा स्वास्थ्य सेवा पाउँदैनन्,’ उनले भनिन्, ‘त्यसैले स्वास्थ्य बिमा प्रभावकारी बनाउने, सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नती गर्ने, सरकारी चिकित्सकहरुको दरबन्दी थप्नेलगायतका कामहरु नगरी सुखै छैन । त्यो युवा नेतृत्वले मात्रै गर्न सक्छ ।’ उनले आफ्नो चुनावी मुद्धा महिला सशक्तीकरण पनि हुने बताइन् । डा. कार्कीको निर्वाचन क्षेत्रमा अहिलेकी उर्जामन्त्री पम्फा भुसालको निर्वाचन क्षेत्र हो ।

२८ वर्षीय युवा चिकित्सक डा. निकोलस भुसाल रुपन्देही २ नम्बर क्षेत्रबाट प्रतिनिधी सभाको चुनावमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । विश्व शान्तिको केन्द्र लुम्बिनीसमेत पर्ने रुपन्देही २ मै उनी जन्मे हुर्केका हुन् । ‘म जन्मे हुर्केको यही हो । यसलाई विश्व शान्तिको राजधानी बनाउने योजनाका साथ चुनाव लड्न खोजिरहेको छु,’ उनले भने । लुम्बिनी मेडिकल कलेजबाट एमबीबीएस सकेका डा. निकोलस मानसिक रोगमा विशेषज्ञता हासिल गरेका छन् ।

अहिले नै चुनावी अभियानमा लागिसकेका उनी गाउँ—गाउँ पुगिरहेका छन् । राष्ट्रका लागि युवा सन्जालका अध्यक्ष रहेका उनी युवा चिकित्सकहरुको संस्था वाईडिएका केन्द्रीय संयोजक पनि हुन् । डा. भुसाल त्यो क्षेत्रमा लड्दैछन् जुन क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चुनाव लड्छन् ।

४० वर्ष लामो चिकित्सा जीवन बिताएका डा. राजेन्द्रप्रसाद साह रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधीसभामा चुनाव लड्ने तयारीमा छन् । ‘रौतहट क्षेत्र १ मा अहिलेसम्म कसैले विकास गर्न सकेन्,’ उनले भने, ‘कम्तिमा आफ्नो क्षेत्रमा आफूले बनाउनुपर्छ । पढेलेखेका आउनुपर्छ भनेर नै राजनीतिमा होमिन लागेको हुँ ।’ डा. साहले २४ वर्ष चिकित्सा अध्यापनको पनि अनुभव हासिल गरिसकेका छन् । यही क्षेत्रबाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने तयारीमा छन् ।

डा. अर्चन, डा. तोषिमा, डा. निकोलस, डा. राजेन्द्रप्रसाद स्वतन्त्र रुपमा चुनावी मैदानमा नेपाली राजनीतिका प्रभावशाली हस्तीहरुसँग मुकाबिला गर्दैछन् । बिरामी सेवामा तल्लीन हुनुपर्ने आधा दर्जन बढी चिकित्सक यसपटक स्वतन्त्र रुपमा चुनावी मैदानमा देखिदैंछन् । पार्टीगत रुपमा उम्मेदवार बन्ने चिकित्सकहरु समेत जोड्ने हो भने प्रतिनिधी तथा प्रदेशसभाको सांसद बन्ने लामो सूची बन्न जान्छ ।

‘नेपालगन्ज बनाएरै छोड्ने हो, समृद्ध नेपालगन्ज हेरेरै मर्ने हो’ भन्ने नाराका साथ डा. विनोद कर्ण पनि चुनावी मैदानमा उत्रदैंछन् । उनी बाँके क्षेत्र नं. २ ख बाट प्रदेशसभाको उम्मेदवारी दिने तयारीमा छन् । पछिल्ला १० वर्ष बढी समयदेखि नेपालगन्जलाई केन्द्र बनाएर बिरामीमा सेवा तल्लीन प्लाष्टिक सर्जन डा. विनोदले ८ हजार बढीको सर्जरी नै गरिसकेका छन् । उनकै नेतृत्वमा वि.सं. २०७२ सालदेखि ‘क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ अभियान समेत चलिरहेको छ । उनी वि.सं. २०७४ मा प्रदेशसभामा चुनाव लडेका थिए तर पराजित भए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ