२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सक र औषधी व्यवसायीलाई धम्की दिदैं चन्दा असुली गर्ने गिरोह सक्रिय

चिकित्सक र औषधी व्यवसायीलाई धम्की दिदैं चन्दा असुली गर्ने गिरोह सक्रिय

विराटनगरका चन्दा असुल्ने समूहका एक जना प्रहरी फन्दामा


विराटनगर-औद्योगिक नगरी विराटनगरमा धाकधम्की दिदै चन्दा असुली गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । विभिन्न नम्बरबाट फोन गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिएर विराटनगरको विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र औषधी व्यवसायीहरूसँग चन्दा असुली गर्ने गरेको पाइएको हो ।

विराटनगरमा चन्दा असुली गर्ने समूहको सञ्जाल ठूलो रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी विभिन्न नम्बरबाट धाकधम्की दिदैं चन्दा असुली गर्ने समूहका एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । विराटनगरका चिकित्सक र औषधी व्यवसायीहरूलाई डर त्रास देखाएर चन्दा असुुली गरेको आरोपमा मोरङ प्रहरीले विराटनगरदेखि ३२ वर्षीय विजय दाहाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दाहालले ९८११०४०४८९ नम्बरको एनसेलबाट चिकित्सक र व्यवसायीहरूलाई चन्दा मागेको आरोप छ । चन्दा नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेका उनीहरूको भनाइ छ । पक्राउ परेका दाहाल कर्तब्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरी निस्किएका प्रतिवादी हुन् । प्रहरीले यसअघि पनि दाहाललाई पटक–पटक पक्राउ गरी अभद्र्र व्यवहारको मुद्दामा कारवाही परेको प्रहरीको अभिलेखमा देखिन्छ ।

चिकित्सक र व्यवसायीलाई दाहालसहितको समूहले फोन गरेर चन्दा दिनुप¥यो भन्दै हैरान बनाएपछि प्रहरीमा उजुरी दिएका थिए । नेपाल चिकित्सक संघ कोशी विराटनगर र औषधी व्यवसायी संघ मोरङले दिएको जाहेरीको आधरमा दाहाल पक्राउ परेका हुन् । पक्राउ परेका दाहलसहितका समूहले ५ हजारदेखि २५ हजार रूपैयाँसम्म चिकित्सक र व्यवसायीसँग चन्दा माग्ने गरेका थिए ।

यहाँका कतिपय औषधी व्यवसायी र चिकित्सकहरूले चन्दा पनि दिएको खुलेको छ । यो समूहबाट दुई दर्जन व्यवसायीहरूले डर त्रासको कारणले चन्दा दिएको खुलेको प्रहरीले जनाएको छ । ५ हजारदेखि २५ हजारसम्म दिएको भन्दै अहिले व्यवसायीहरू प्रहरीमा पुग्ने गरेका छन् । पक्राउ परेका दाहालले विराटनगरका एक जना चिकित्सकबाट ८ हजार रुपैयाँ असुली पनि गरेको खुलेको छ ।

चिकित्सक संघ र नेपाल औषधी व्यवसायी संघ मोरङले डर त्रास धम्की दिएर चन्दा असुली गर्ने समूहको खोजी कार्य गरी कारवाही गर्न माग समेत गरेको छ । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले विराटनगर क्षेत्रमा औषधी व्यवसायीहरूलाई त्रास देखाउँदै चन्दा असुली गर्ने समूहबाट फोन आएपछि कारवाहीको लागि प्रहरीमा उजुरी दिएको बताए । ‘केही दिनयतादेखि अपरिचत व्यक्तिहरूबाट फोन गर्दै व्यवसायीहरूलाई चन्दा माग्ने र असुली गर्ने कार्य तीव्र भएको थियो । यस्तै गैरकानुनी कार्यबाट व्यवयासीहरू आतंकित भएको कारणले कारवाहीको माग राख्दै हामीले प्रहरीमा उजुरी दिएका हौं,’ उनले भने, ‘प्रहरी प्रशासनले चन्दा असुली गर्ने समूहलाई पक्राउ गरी कारवाहीको दायारमा ल्याउनुपर्दछ ।’

चन्दा आतंक रोक्न खरो रुपमा उत्रिन्छु : एसपी कोइराला

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरसहित जिल्लामा देखिएको चन्दा आतंक रोक्ने प्रतिबद्धता जनाएका छन् । कानुन विपरितका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधी रोक्न प्रहरी खरो रुपमा प्रस्तुत हुने बताए ।

‘पछिल्लो समयमा विराटनगरमा चन्दा आतंक बढेको गुनासो छ’, एसपी कोइरालाले भने, ‘डर धम्की दिई आतंकित गरेर गरिने कानुन विपरित गतिविधि नियन्त्रण गर्न प्रहरी खरो रुपमा उत्रन्छौ ।’ विराटनगर क्षेत्रमा चन्दा असुली गर्नेलाई अहिले प्रहरीले पक्राउ गरी अनुस्न्धान पनि भइरहेको उनले बताए ।

‘अहिले हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘यो समूहमा को को छन् । त्यसको खोजी कार्य गरी कारवाहीको दायारमा ल्याउनेछौं ।’

नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै एसपी कोइरालाले सबै जिल्लावासीको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गरे । ‘कसैबाट धाक धम्की दिएर चन्दा असुली गरे प्रहरीलाई तत्काल जानकारी गराए कानुनी कारवाहीको लागि सहयोग गरिपर्दछ,’ उनले भने, ‘नागरिकको सहयोगले अपराध रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेछ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ