२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एन्जीओग्राफी सुरु, दसैंतिहारपछि एन्जिओप्लाष्टी सेवा सुरु गरिने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एन्जीओग्राफी सुरु, दसैंतिहारपछि एन्जिओप्लाष्टी सेवा सुरु गरिने


पोखरा–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एन्जिओग्राफी सेवा सुरु भएको छ । रोटरी क्लबले करिब ५ करोड बराबरको अनुदान सहयोगमा एन्जिओग्राफी मेसिन उपलब्ध गराएपछि सेवा सञ्चालनमा आएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री अस्पतालकै जनशक्तिबाट क्याथ ल्याब सञ्चालनको तयारी भएको बताउँछन् । ‘हामीसँग भएको जनशक्ति ट्रेन गर्नुपर्नेछ । रोटरीसँग सम्झौता पनि भएको छ,’ उनले भने, ‘अहिले एन्जिओग्राम सुरु भएपनि एन्जियोप्लाष्टी सुरु गरिएको छैन ।’ उनले त्यसका लागि अलि बढी ट्रेन्ड म्यानपावर चाहिने भएकाले काठमाडौंका त्रिवि मनमोहन कार्डियो सेन्टर र गंगालालबाट सहयोग लिएर काम गर्ने गरी योजना बनाएको बताए ।

बढीमा २ महिनामा एन्जिओप्लाष्टी सुरु हुने प्रा.डा. क्षेत्रीको भनाइ छ । सुरुमा हप्तामा १ पटकमात्रै भएपनि सेवा दिने योजना अस्पतालको छ । ओपन हार्ट सर्जरीबाहेकका सेवा दिने योजना बनाइएको प्रा.डा. क्षेत्रीले उल्लेख गरे । एन्जिओप्लाष्टी कप्लीकेट भएकाले पनि अनुभवी जनशक्ति आवश्यक पर्छ ।

रोटरी क्लबले २/३ महिना अघि आवश्यक उपकरण उपलब्ध गराएको भएपनि ट्रायल फेजमा भएकाले तत्काल सेवा सुरु गरिएको थिएन । एन्जिओप्लाष्टी गर्नुपर्ने अवस्थाका बिरामी आएमा गर्न सकिन्छ भन्ने तयारीका अवस्थामा रहेको कार्डियोलोजिस्ट डा. विश्वराज बरालले बताए । काठमाडौंको गंगालाल, टिचिङभन्दा पनि कम शुल्कमा सेवा दिने डा. बरालको भनाइ थियो । उनका अनुसार एन्जियोग्राफीका लागि १२ हजार शुल्क तोकिएको छ ।

एन्जिओग्राफी सेवा बिमामार्फत् पनि लिन सकिनेछ । सरकारले मुटुरोगका बिरामीलाई दिने १ लाख रुपैयाँको सुविधा प्राप्त गर्न स्वास्थ्य मन्त्रालयमार्फत् स्वीकृत लिनुपर्ने भएकाले अस्पतालले प्रक्रिया थालेको उनले बताए । स्वास्थ्य मन्त्रालयले अनुगमन गरेर स्वीकृत भएपछि मात्रै १ लाख उपलब्ध हुने सेवा दिन सकिने डा. बरालको भनाइ थियो ।

अस्पतालमा अहिलेसम्म १ महिला र १ पुरुषको एन्जिओग्राफी गरिएको डा. बरालले बताए । उनका अनुसार यसअघि ट्रायल फेजमा ४ जनाको एन्जिओग्राफी गरिएको थियो ।

क्याथल्याबमा वरिष्ठ कल्सन्टेन्ट कार्डियोलोजिस्ट फिजिसियन डा.विश्वराजसहित ४ जना कार्डियोलोजिस्ट डाक्टर रहेका छन् भने हेड अफ डिपार्टमेन्टमा डा. सुर्य हमाल छन् । नर्सिङ स्टाफ र रेडियोग्राफर भने अभाव नै छ । नर्सिङ स्टाफ र रेडियो टेक्निसियनलाई ट्रेनिङमा पठाउने पहल भइरहेको अस्पतालले जनाएको छ ।

‘सुरुमा सामान अभाव हुनेजस्तो देखिएको थियो । क्याथ ल्याबका लागि करिब ६ महिनाका लागि पुग्ने सामान प्राप्त हुनेछ । रोटरीले मेसिन उपलब्ध गराएको भएपनि अन्य सामग्री प्रदेश सरकारमार्फत प्राप्त हुनेछ,’ डा. बरालले बताए ।

डा. बराल प्रदेश सरकारले सञ्चालन गर्ने भनेको मुटु रोग अस्पताल स्थापनामा लागि पर्ने र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै ५० बेडको कार्डियो सर्भिस विस्तार गर्न सके राम्रो हुने बताउँछन् । ‘क्याथ ल्याब सञ्चालन गण्डकी हस्पिटल मातहत छुट्टै कार्डियो विभाग सञ्चालन गर्न सके राम्रो हुने थियो । त्यसमै लागि परेका छौं,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ