२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा. डा. चन्दा कार्की स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा

प्रा. डा. चन्दा कार्की स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा


काठमाडौं—वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा. डा. चन्दा कार्की स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेकी छन् । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीबाट उनी खस आर्य महिलातर्फ पहिलो नम्बरमा छन् ।

कार्की ३५ वर्षदेखि अनवरत रुपमा बिरामी सेवामा छन् । महोत्तरीमा जन्मिएकी उनले कलकत्ताको आरजीकर मेडिकल कलेजबाट एमबीबीएस गरेकी हुन् । सन् १९८७ मा उनले डिप्लोमा इन गाइने अब्स्ट्याट्रिक्स (डिजिओ) बंगलादेशको ढाकाबाट गरेकी छन्। गाइने अब्स्टयाक्ट्रिसमा एमडी भने उनले त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थान (आईओएम)बाट गरेकी छन्। थाइल्याण्डको रोयल कलेजबाट फेलोसीप गरेकी उनले अमेरिकाबाट एफआईसिएस डिग्री पनि हासिल गरेकी छन् । यसबाहेक बेलायतको रोयल कलेज अफ लन्डनले पनि उनलाई एफआरसिओजी डिग्री दिएको छ ।

प्रसुतिगृहबाट नेपाल सरकारको जागिर सुरु गरेकी डा. चन्दाले पाटन अस्पताल, शिक्षण अस्पतालदेखि उपत्यकाका सबैजसो अस्पतालहरुमा काम गरेकी छन् । ८ वर्ष त उनी नेपालका विभिन्न जिल्लामा गएर बिरामीको उपचारमा सक्रिय रहिन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेपछि पहिलो गाइनोकोलोजिष्टका रुपमा काम गरेकी उनले त्यहाँको विभाग सेटअपमा भूमिका निभाइन् ।

१५ वर्ष लामो सरकारी जागिर छाडेपछि उनी काठमाडौं मेडिकल कलेज गइन् । त्यहाँ २१ वर्ष लामो समय रहँदा उनी प्रमुख कार्यकारी अधिकृत (सिईओ) र दुई कार्यकाल प्रिन्सिपलका रुपमा सक्रिय रहिन् । केएमसी छोडेपछि केही समय नोबेल हस्पिटलमा सक्रिय रहेकी उनी अहिले भ्याली मेटरनिटी हस्पिटलको अध्यक्ष एवं बीएण्डबी अस्पतालमा कार्यरत छन् ।

यस्तै, स्वतन्त्र पार्टीको समानुपातिकमा डा. ढाकाकुमार श्रेष्ठ सिफारिस भएका छन् । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ