२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्यान्सर अस्पताल खजुराको कार्यकारी निर्देशकमा युवा चिकित्सक डा. भट्टराई नियुक्त

क्यान्सर अस्पताल खजुराको कार्यकारी निर्देशकमा युवा चिकित्सक डा. भट्टराई नियुक्त


नेपालगन्ज—बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकमा कार्डियोथोरासिक भास्कुलर सर्जन डा. निरज भट्टराई नियुक्त भएका छन् । डा. भट्टराई वि.सं. २०७८ माघदेखि क्यान्सर अस्पतालमा मै कार्डियो थोरासिक भास्कुलर सर्जनको रुपमा कार्यरत थिए ।

कार्यकारी निर्देशकमा नियुक्त भएका युवा चिकित्सक डा. भट्टराईले क्यान्सर अस्पतालका सेवा र उपचार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ जिम्मेवारी सम्हालेको बताए ।

खजुराका स्थानीय वासिन्दाको पहलमा निर्माण सुरु भएको क्यान्सर अस्पताललाई वि.सं. २०७३ फागुनमा नेपाल सरकारले स्वामित्वमा लिइ अस्पतालको नाम नै परिवर्तन गरेर सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामाकरण गरिएको थियो ।

नेपाल सरकारले क्यान्सर अस्पताल खजुरालाई संघीय सरकारकै मातहतमा राख्ने निर्णय गरे कुन मोडेलमा संचालन गर्ने भन्ने अझै निर्णय भएको छैन । जसका कारण क्यान्सर अस्पतालको भविष्य कस्तो हुने भन्ने अन्यौल कायमै भएका बेला कार्यकारी निर्देशक नियुक्त भएका डा. भट्ट्राईका अगाडि थुप्रै चुनौती र निक्कै धेरै सम्भावना छन् ।

चिकित्सकसहित कर्मचारीहरुको स्थायी दरबन्दी संरचना स्वीकृत नभएका कारण अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र कर्मचारीहरु अस्थायी र करारमा छन् । ओएनएम सर्वेअनुसार मन्त्रिपरिषद्बाट स्थायी दरबन्दी संरचना स्वीकृत गराइ थप विशेषज्ञ चिकित्सक ल्याउनु उनका लागि पहिलो चुनौती छ ।

त्यसैगरी एक सय बेड संचालनको अनुमति पाएको भएपनि क्यान्सर अस्पतालमा हाल ४० बेड संचालनमा छन् । भौतिक संरचना, उपकरण र जनशक्ति थप गरी निकट भविष्यमै अस्पताललाई एक सय बेड क्षमतामा संचालन गर्नुपर्नेछ ।

ठुला र जटिल किसिमका अप्रेशन हुँदै आएको क्यान्सर अस्पतालमा हालसम्म आईसीयु कक्ष संचालनमा आएको छैन । अस्पतालमा आईसीयु कक्ष संचालन गर्नुपर्नेछ ।
क्यान्सरका बिरामीको उपचारमा महत्वपूर्ण रहेको लिन्याक मेसिन खरिद प्रक्रिया सुरु भएपनि अझै आइसकेको छैन । लिन्याक मेसिन ल्याएर त्यसलाई संचालनमा ल्याउनु पर्ने अर्काे चुनौती नयाँ कार्यकारी निर्देशकको काँधमा छ ।

डा. भट्टराईले नेपाल सरकार, स्थानीय पालिका र नागरिक समाजका अगुवाहरुसँग समन्वय गरेर क्यान्सर अस्पतालमै ब्लड बैकको युनिट संचालन गर्ने, डेलिकेटेड विद्युत लाइनको ब्यवस्था गर्नेदेखि नेपालगन्जलगायत सहरी क्षेत्रबाट क्यान्सर अस्पतालसम्म नियमित रुपमा संचालन हुने यातायात सेबाको व्यवस्थाका लागि पहल गर्ने योजना बनाएका छन् ।

चिकित्सक र कर्मचारीको स्थायी दरबन्दी स्वीकृत गर्ने, लिन्याक मेसिन जडान गरी बिरामीहरुको सेकाइ गरेर उपचार सुरु गर्न सके डा. भट्टराईका लागि एकपछि अर्को अवसर थपिदैं जाने मात्रै नभएर सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालकै प्रमुख अस्पतालको रुपमा विकसित हुने निश्चित छ ।

अस्पतालले हिस्टोप्याथोलोजीसहित विभिन्न किसिमको परिक्षण गरेर बिरामीहरुमा क्यान्सर रोग भए नभएको एकिन गर्ने र रोग देखिएका बिरामीहरुलाई किमो थेरापीसहित शल्यक्रिया गरेर उपचार गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ