२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसाइमनले सातवटै प्रदेशमा प्रादेशिक च्याप्टर स्थापना गर्ने

साइमनले सातवटै प्रदेशमा प्रादेशिक च्याप्टर स्थापना गर्ने

पोखरामा पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडौं—सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले सातवटै प्रदेशमा प्रादेशिक च्याप्टर स्थापना गर्ने भएको छ । महासचिव डा. मुकुन्दप्रसाद काफ्लेकाअनुसार पोखरामा भएको पाँचौ सम्मेलनका अवसरमा २८ असोजमा भएको सोसाइटीको वार्षिक साधारण सभाले सातवटै प्रदेशमा प्रादेशिक च्याप्टर स्थापना गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

‘हाम्रो साधारणसभाले सात वटै प्रदेशमा प्रादेशिक च्याप्टर गर्ने एजेण्डा पारित गरेको छ,’ उनले भने, ‘६ महिनादेखि एक वर्षदेखि हामी सातवटै प्रदेशमा सोसाइटीको च्याप्टर सबै प्रदेशमा विस्तार गर्छौ ।’

सोसाइटीको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ मा पोखराको होटल ग्रान्डमा सम्पन्न भएको छ । देश विदेशबाट ३ सय ८७ जना सहभागीले दर्ता गरेको मध्ये ३३७ जना सहभागीले उक्त सम्मेलनमा प्रत्यक्ष भाग लिएका थिए । सम्मेलनको उद्घाटन असोज २८ गते पोखराका शिक्षाविद् जर्ज जोनले गरेका थिए ।

सम्मेलनमा वरिष्ठ फिजिसियन चिकित्सकहरू डा. सन्जीव ढुंगेल, डा. यादव भट्ट, डा. उग्रनारायण पाठक, डा. जनक कोइराला, डा. राजेन्द्र कोजु, डा. संजय लाखे, डा. सुभासप्रसाद आचार्यलगायत सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, पोखराबाट डा. तारा कोइराला, डा. सुरेश थापा, डा. अमृत केसी, डा. शंकर बराल, डा. रामचन्द्र काफ्ले तथा बेलायत, भारत, बंगलादेश, माल्दिभ्सलगायतका देशबाट सहभागीसहित ५० विभिन्न चिकित्सकहरूले कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

पोखरामा तेस्रो पटक भएको साइमनको राष्ट्रिय सम्मेलनका मुख्य स्थानीय आयोजक मणिपाल शिक्षण अस्पतालका प्रा. डा. अभिषेक मास्के, केन्द्रीय आयोजक समितिका प्रमुख शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाडौंका मुटुरोग विशेषज्ञ तथा समाजका सभापति डा. अरुण मास्के, प्रमुख प्राविधिक विशेषज्ञ चितवन मेडिकल कलेजका प्रा.डा. शितल अधिकारी तथा स्थानीय सल्लाहकारहरूमा पोखराका वरिष्ठ चिकित्सकहरू डा. वुद्धिबहादुर थापा, डा. बसन्त ताम्राकार, डा. गोपी हिराचन, डा. मुकुन्द आचार्य रहेका थिए।

सम्मेलनको अघिल्लो दिन असोज २७ गते बेलायतका चिकित्सकहरूले विभिन्न स्वस्थ्यकर्मीहरूलाई अस्पतालमा उपचार गर्दागर्दै अकस्मात स्थिति बिग्रेको अवस्थामा कसरी उपचार गर्ने भनेर तालिम दिएका थिए ।

चिकित्सकहरू डा. वुद्धिबहादुर थापा र डा. बसन्त ताम्राकारले सम्मेलनमा प्रस्तुत भएका दुई उत्कृष्ट लघु अनुसन्धानका विजेताहरू डा. चन्द्रमणि अधिकारी तथा डा. पुकार घिमिरेलाई पच्चीस हज्जार रुपैंयाको नगद पुरस्कारबाट सम्मान गरेका थिए ।

२९ असोजमा भएको समापन कार्यक्रममा सम्मेलनमा योगदान गर्नेलाई सोसाइटीका सभापति डा. मास्केले सम्मान गरेका थिए । उनले पोखराको पाँचौ राष्ट्रिय सम्मेलनमा मुटु रोग, पेट रोग, मिर्गौला रोग, स्नायु रोग, बाथ रोग, संक्रामक रोगको बारेमा छलफल हुनुबाहेक इतिहासमै पहिलो पटक दक्षिण एसियाली चिकित्सक समाजहरूको संयुक्त गोष्ठी समेत गरिएको जानकारी दिए। सोसाइटीले आगामी वर्ष काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी डा. मास्केले दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ