२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई वर्षमा विदेश जान २२९७ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’

दुई वर्षमा विदेश जान २२९७ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’


काठमाडौं—पछिल्ला दुई वर्षमा नेपालबाट विदेश जानका लागि २ हजार २ सय ९७ जना चिकित्सकले अनुमति लिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को तथ्यांकअनुसार यो संख्या विशेषज्ञता अध्ययन (रेजिडेन्ट वर्क), फेलोसीप र काम गर्नका लागि आवश्यक पर्ने ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिनेको हो ।

कुनै पनि देशमा चिकित्सकले बिरामीलाई छोएर गर्ने उपचारका लागि सम्बन्धित देशको आधिकारिक नियांमक निकायबाट ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ माग्ने गरिन्छ । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीकाअनुसार विदेशमा अध्ययन गर्न, फेलोसीप लिन वा काम गर्न जाने चिकित्सकले अन्य सबै प्रक्रिया पूरा गरेर सो देशमा जाने निश्चित भएपछि चिकित्सकहरुले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिने गरेका छन् ।

नेपालमा पनि सरकारी सेवामा बढुवा हुनका लागि काउन्सिल दिने यो प्रमाणपत्र अनिवार्य गरिएको छ । विदेश जाने चिकित्सकका हकमा सम्बन्धित चिकित्सकले निवेदन दिएपछि काउन्सिलले नै चिकित्सक जाने देशको नियांमक निकायलाई यो सर्टिफिकेट पठाइदिन्छ ।

सन् २०२० को तथ्यांकअनुसार काउन्सिलबाट यो सर्टिफिकेट लिनेको संख्या ८ सय ९७ रहेको छ । जसमा एमबीबीएस अध्ययन गरेका ७ सय १२ जना, बिडिएस अध्ययन गरेका ८२ जना र एमडी÷एमएस गरेका २ सय ४८ जना र एमडीएस गरेका ९ जनाले विभिन्न देशका लागि यो सर्टिफिकेट लिएका छन् । जसमा सबैभन्दा अमेरिकाका लागि २ सय ७६ जना, माल्दिभ्सका लागि २ सय १६ जना, बेलायतका लागि १ सय ६२ जनाले यो सर्टिफिकेट लिएका थिए । त्यसैगरी, भारतका लागि ६२, अष्ट्रेलियाका लागि ६२, संयुक्त अरब इमिरेट्सका लागि ३५ जना, क्यानडाका लागि १० जना, कतार ७ जना, जर्मनीका लागि ७ जना, सिंगापुर ३ जना ब्रुनाईका लागि ३ जना, डेनमार्क २ जना, हङकङका लागि ४ जना, बेल्जियम १ जना र अन्य देशका लागि १७ जनाले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका थिए ।

त्यसैगरी, सन् २०२१ मा १ हजार ४ सय २८ जनाले विदेश जानका लागि ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् । जसमा सबैभन्दा माल्दिभ्सका लागि ४ सय ३ जना, बेलायतका लागि ३ सय १९ जना, अमेरिकाका लागि २ सय ७३ जना, भारतका लागि १ सय ५९ जना, अष्ट्रेलियाका लागि ६६ जना, संयुक्त अरब इमिरेट्सका लागि ५३ जना, क्यानडाका लागि १७ जना, कतारका लागि ६ जना, जर्मनीका लागि २३ जना, सिंगापुर १ जना, आयरल्याण्ड ५ जना, साउदी १ जना, ब्रुनाई १ जना रहेका छन् ।

जानकार विज्ञहरुका लागि अमेरिका, अष्ट्रेलिया, भारत, बेलायत, क्यानडा, जर्मनीबाहेक अन्य देशका लागि अन्य देशमा जानेहरु भने अध्ययनका लागि भन्दा पनि काममै लागि जाने गरेका छन् । चीन, रुसलगायतका केही देशहरुमा स्नातकोत्तर तहमा अध्ययनका लागि ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ आवश्यक नपर्ने काउन्सिलका रजिष्ट्रार डा. अधिकारी बताउँछन् ।

‘बिरामी जाँच्न पाउने देशमा रेजिडेन्सी तालिम वा फेलोसीप गर्न वा जागिर खानका लागि यो आवश्यकता पर्दछ,’ उनले भने, ‘सामान्यतयाः विदेशले काम गर्न नपाउने तर पढ्न मात्र पाउने देशजस्तो चीन, रुस आदिमा स्नातकोत्तर तहको अध्ययनका लागि यो सर्टिफिकेट आवश्यक पर्दैन् । इलिजिबिलिटी सर्टिफिकेट भए पुग्छ ।’

रजिष्ट्रार डा. अधिकारीकाअनुसार ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिन पहिले काउन्सिलमा सम्बन्धित व्यक्ति नै उपस्थित भएर आवेदन दिनुपर्नेमा अहिले अनलाइनबाटै पनि यो सर्टिफिकेटका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ