२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ प्रस्तावित संगठन संरचनाः ७ वटा संघीय अस्पतालमा २१९१ डाक्टर र ३१२९ नर्स रहने

नयाँ प्रस्तावित संगठन संरचनाः ७ वटा संघीय अस्पतालमा २१९१ डाक्टर र ३१२९ नर्स रहने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक प्रदेशमा ५०० शैय्याको एक संघीय अस्पताल स्थापना गर्ने गरी संगठन संरचना (ओएनएम) बनाएको छ । स्वास्थ्यले स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पठाएको उक्त प्रस्तावमा अहिले ७ वटा अस्पताललाई ५०० शैय्याका संघीय अस्पतालका रुपमा प्रस्ताव गरिएको छ ।

स्वास्थ्यको प्रस्तावअनुसार ५०० शैय्याका एउटा संघीय अस्पतालमा ३ सय १३ चिकित्सक ४ सय ४७ नर्ससहित ९ सय ३४ जना कर्मचारीको दरबन्दी रहने छ । करार र सम्झौतामा श्रेणीबिहीन थप १ सय ५३ जना कर्मचारी लिइनेछ । जसअनुसार ५०० शैय्याको एक संघीय अस्पतालमा कुल कर्मचारीको संख्या १ हजार ८७ रहनेछ ।

स्वास्थ्यको प्रस्तावित संगठन संरचना लागु भएमा ७ वटा संघीय अस्पतालमा २ हजार १ सय ९१ जना चिकित्सक र ३ हजार १ सय २९ जना नर्सको दरबन्दी हुनेछ । प्रस्तावित सांगठनिक संरचनाअनुसार ७ वटा संघीय अस्पतालमा चिकित्सक, नर्ससहित ६ हजार ५ सय ३८ कर्मचारी स्थायी दरबन्दीमा रहनेछन् भने करारमा श्रेणीबिहीन १ हजार ७१ जना कर्मचारी गरी कुल ७ हजार ६ सय ९ को कर्मचारी रहनेछन् । करारमा लिइने श्रेणीबिहीन कर्मचारीहरुमा हलुका सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड र सरसफाइकर्मी रहनेछन् ।

हेल्थआवाजलाई प्राप्त ५०० शैय्याको प्रस्तावित संगठन संरचनाअनुसार वीर अस्पतालबाहेक सबै प्रदेशमा १—१ वटा संघीय अस्पताल बनाइनेछ । प्रदेश नं. १ मा रहेको कोशी अस्पताललाई नै ५०० शैय्याको संघीय अस्पताल बनाइनेछ । यसैगरी, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत), लुम्बिनी प्रदेशमा भेरी अस्पताल र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताल रहेका छन् ।

नयाँ संगठन संरचना प्रस्तावमा कर्णाली प्रदेशका लागि भने संघीय अस्पताल निश्चित भएको छैन । अधिकारीहरुकाअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतकै अस्पताललाई स्तरवृद्धि गरेर ५०० शैय्या बनाएर केन्द्रीय अस्पतालका रुपमा विकास गर्ने योजना छ । तर, यसको अन्तिम टुंगो लागिसकेको छैन ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई स्तरवृद्धि गरेमा गरेर ५०० शैय्याको केन्द्रीय अस्पताल बनाउन प्रस्ताव गरेतापनि त्यसको टुंगो लागिसकेको छैन । यदि सुदूरपश्चिम प्रदेशको सेती अस्पताललाई पनि प्रदेश सरकारकै प्रस्तावअनुसार ५०० शैय्यामा स्तरवृद्धि गरेर संघीय अस्पताल बनाइएमा संघीय अस्पतालको जनशक्ति अझ बढ्नेछ ।

सेतीलाई संघीय अस्पतालमा थप्दा ८ वटा संघीय अस्पतालमा मात्रै चिकित्सकको दरबन्दी २ हजार ५ सय ४ पुग्नेछ भने नर्सको दरबन्दी ३ हजार ५ सय ७६ पुग्नेछ । जसले ७ वटा संघीय अस्पतालमा स्थायी दरबन्दी ७ हजार ४ सय ७२ जना हुनेछ भने करारमा लिने श्रेणीबिहीन कर्मचारी समेत जोड्दा कर्मचारी संख्या ८ हजार ६ सय ९६ पुग्नेछ ।

यसमा सरकारले यसअघि नै ९०० शैय्याको संघीय अस्पताल बनाइसकेको वीर अस्पतालको जनशक्ति भने समेटिएको छैन । संघीय अस्पतालको नेतृत्व १२ औं तहको अतिरिक्त सचिवले गर्ने प्रस्ताव नयाँ संगठन संरचनामा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ