२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमसान र बोक्सी भगाउन ३ लाख सकियो, अस्पताल लैजादा ब्लड क्यान्सर देखियो

मसान र बोक्सी भगाउन ३ लाख सकियो, अस्पताल लैजादा ब्लड क्यान्सर देखियो


काठमाडौं–सिद्ध कुमाख गाउँपालिका—१ सल्यानका ३६ वर्षीय वुद्धि बुढाथोकी कान्छी छोरी जन्मदा ३ किलोग्राम ५ ग्राम तौल थियो । स्वास्थ्य अवस्था पनि राम्रो थियो । २ वर्षकी हुँदा अचानक जिउँ पूरै सुन्निने, खाना नखाने समस्या देखिन थाल्यो ।

छोरी बिरामी भएपछि बुढाथोकीले गाउँघरमै लामा, धामी झाँक्री कहाँ दौडाउन थाले । धामी, झाँक्री र लामाले मसान वा बोक्सी लागेको हुन सक्ने भन्दै रोग निको पार्न कुखुरा, खसी, बोका भेडाहरूको बलि दिन लगाए । गत माघबाट सुरु भएको छोरीको स्वास्थ्य समस्या धामी, झाँक्रीकोमा तीन महिना दौडाउँदा २० को १९ भएन । बरु झन—झन बढ्दै गयो ।

यो तीन महिनामा उनले बली दिन मात्र ३ लाख रुपैयाँ खर्च गरे । ‘छोरीको रोग निको हुन्छ भनेर कुखुरा, बोका, भेडाको बली दिँदादिदै तीन लाख त सकियो,’ कान्ति बाल अस्पतालमा भेट भएका बुढाथोकीले भने, ‘तर, छोरी निको हुनको साटो झन—झन बिरामी हुँदै गइ ।’ सामान्य खेतीपाती र ज्याला काममा निर्भर उनका्े परिवारका लागि ३ लाख रुपैयाँ निकै नै ठूलो थियो ।

तीन महिना धामी, झाँक्रीकोमा धाएर तीन लाख सक्दा पनि ठिक नभएपछि वुद्धिले छोरीलाई सल्यान जिल्ला अस्पतालमा लगे । त्यहाँबाट डाक्टरहरुले नेपालगन्ज लैजाने सल्लाह दिए । उनले धामी, झाँक्री लगाउँदा नै पैसा सकिएपछि सरसापट मागेर छोरीलाई नेपालगंज अस्पतालमा लगे । डाक्टरहरुले शरीरमा रगतको कमी भएकोले रगत चढाउन सुझाएअनुसार त्यसै गरे ।

रगत चढाएपछि केही सन्चो भएजस्तो भयो । तर, १५ दिनपछि फेरि त्यही समस्या देखिन थाल्यो । पुनः नेपालगंज लगे । चिकित्सकले काठमाडौं कान्ति बाल लैजान सुझाए ।

नेपालगञ्जबाट चिकित्सकको सल्लाहअनुसार २० असारमा उनी छोरीलाई ल्याएर उपचारका लागि कान्ति अस्पतालमा आए । थप ऋण खोजेर कान्ति आएका उनको पहिलो १० दिन चेक जाँचमै बित्यो । त्यो समय दिनको औषधी र जाँचमा ९ देखि १० हजारसम्मको खर्च भएको उनी बताउँछन् । कान्ति आएको झण्डै २० दिनपछि चिकित्सकले आशंका गरे बच्चामा ब्लड क्यान्सर हुन सक्छ ।

त्यसपछि चिकित्सकले थप परीक्षणका लागि कान्तिको छेउमै रहेको त्रिवि शिक्षण अस्पताल पठाए । नभन्दै उनको रिपोर्टमा ब्लड क्यान्सर देखियो । छोरीको रिपोर्टमा व्लड क्यान्सर आएको कुरा बुढाथोकीलाई पत्याउनै गाह्रो भयो । ‘आफ्ना आफन्त र गाउँमै ब्लड क्यान्सर कसैलाई नभएको रोग कसरी मेरी छोरीलाई लाग्यो होला ? विश्वास नै लागेन्,’ उनी भावुक सुनिए, ‘चलचित्रमा ब्लड क्यान्सर हुन्छ भनेको देखेको बाहेक यो के रोग हो ? कस्तो रोग हो ? भन्ने कुनै जानकारी थिएन ।’ चिकित्सकले यो रोगबारे सबै बुझाएपछि उनले छोरीलाई कान्तिमै राखेर उपचार गरिरहेका छन् ।

अनि सुरु भयो ब्लड क्यान्सरको उपचार

सुरुमा ४ पटक बोनम्यारो परीक्षण गर्दा उनको १ लाख ८० हजार रुपैयाँ खर्च भएको थियो । क्यान्सरको महंगो औषधी र र चेकजाँचमा उनको ५ महिनामा ९ लाख खर्च भैसकेको छ । १ लाखको विपन्न कार्ड पाएका थिए, जसबाट उनको केही सामान्य मेडिसिन र चेक जाँचमा खर्च भयो ।

कान्तिमा उपलब्ध नहुने मेडिसिन बाहिरबाट किनेर ल्याउनाले र बाहिर समय—समयमा परीक्षण गराउनु पर्नाले पनि उनको थुप्रै खर्च भएको हो । ९ लाख जतिको अस्पतालको उपचार खर्चको लागि पैसा उनले साथीभाइ र आफन्तहरुबाट ऋण र सापटी मागेका हुन् । आफूसँग भएको केही रकम उनले गाउँमै अन्धविश्वासका पछि लागेर खर्च गरिसकेका थिए ।

बुढाथोकी आफूलाई ऋण धेरै परेपछि उनी एक दिन स्वास्थ्य मन्त्रालय पनि गएका थिए, केही उपचार सहयोग मिल्छ कि भनी । तर, स्वास्थ्य मन्त्रालयबाट उनले कुनै सहयोग पाएनन् । उनले आफ्नो घर बेच्ने तयारी गरिरहेका छन् । ‘घर पनि भनेको बेला कहाँ बेचिदोरहेछ र ?,’ बेचैनी पोख्दैं बुढाथोकी भन्छन् ।

अहिले छोरीको केमोथेरापीको तेस्रो साइकल चलिरहेको छ । अब छोरीको १८ महिना अस्पतालमै बसेर उपचार गराउनु पर्नेछ । त्यसपछि प्रत्येक महिनामा एक पटक अस्पताल आउनुपर्ने चिकित्सकको सुझाव छ । निको भएर घर गएपछि आफूले कमाएर महिना—महिनामा छोरीको उपचार गर्दै ऋण तिर्ने उनको योजना रहेको छ । पहिलो स्टेज भएको हुँदा यो रोग निको हुन्छ भन्नेमा उनी आशावादी छन् ।

कान्ति बाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा ब्लड क्यान्सर भएको बच्चालाई अस्पतालमा समयमै ल्याएर रोग पहिचान भयो निको हुने सम्भावना एकदमै धेरै हुने बताउँछन् । ‘उपचारको समयमा हुने जटिलता पनि कम हुन्छ,’ डा. सापकोटा भन्छन्, ‘जति ढिलो उपचारका लागि ल्याइयो, त्यति नै रोगको स्टेपहरु बढ्दै जान्छन् ।’

सुरुवातीमै क्यान्सर भएको थाहा भयो भने कुनै—कुनै क्यान्सरहरु अप्रेसन मात्र गरेर पनि निको हुने उनी बताउँछन् । ‘किमो चलाएपनि लो डोजको किमोहरु पनि चलाउन सकिन्छ,’ उनी भन्छन्, ‘लो डोजले भएन भने हाई डोज आयो भने अप्रेसन चाहिन्छ । किमोथेरापी चाहिन्छ साथै सेकाई पनि चाहिन सक्छ ।’

कान्तिमै हुने रगतको जाँचहरु, सिटी स्क्यानदेखि उपलब्ध औषधीहरु निःशुल्क हुन्छन् । सरकारले दिएको विपन्नको कार्डबाट पनि १ लाखसम्मको उपचार पाउने हुँदा यहाँ ४ देखि ५ लाखसम्म मात्र लाग्ने तर बिरामीहरु बाहिर जिल्लाबाट आउने हुँदा खान बस्न सबै मिलाएर १२ देखि १३ लाखसम्मको खर्च लाग्ने उनको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक युवानिधी बसौंला कान्ति बालमा प्रत्येक वर्ष २ सयको हाराहारीमा नयाँ क्यान्सरका बिरामी उपचार हुने बताउँछन् । पछिल्लो समय क्यान्सर उपचारमा कान्तिलगायत नेपालकै अस्पतालमा गुणस्तर बढ्दै गएको उनको भनाइ छ ।

‘हामी क्यान्सरको धेरैजसो उपचार यही गर्छौ’

निर्देशक युवानिधी बसौंला
निर्देशक, कान्ति वाल अस्पताल

सरकारले विपन्नहरुका लागि दिएको १ लाख भित्र उपचार निःशुल्क गर्ने गर्छौ । तर, सरकारले दिएको त्यो रकम थोरै हुन्छ । त्यो पैसाबाट सामान्य मेडिसिन र टेस्टहरू मात्र हुन्छ । यो विषयमा सरकारले पनि सोच्न जरुरी छ ।

अहिले अस्पतालले प्रदेशसँग सम्झौता गरेको हुँदा लुम्बिनी प्रदेशका बिरामीहरुले २ लाखसम्म छुट पाउने गर्छन् । बागमती प्रदेशका १ लाख पाँच हजारसम्म को उपचार पाउँछ । अरु प्रदेशहरुले सम्झौता नगरेको हुँदा गरिब तथा विपन्न कोषबाट १ लाख मात्रै पाउने गर्छ । त्यो भित्र मेडिसिन, अप्रेसन, सिटीस्क्यानलगायतका जाँचहरु पनि पर्ने गर्छ । क्यान्सरको औषधीहरु धेरै नै महंगो भएको हुँदा यहाँ सबै मेडिसिनहरु पाइदैनन्, त्यो सप्लाईमै धेरै छैन । अहिले अस्पतालमा हप्तामा सयदेखि माथि ओपिडी हुन्छ ।

सरकारले सहयोग गरेको १ लाखले क्यान्सरको सामान्य उपचार गर्न पनि पुग्दैन् । सबै बिरामीहरु टाढाबाट आउने गर्छन् । क्यान्सरका बिरामी अलि लामो समयसम्म उपचार गराउनुपर्ने हुँदा सरकारले उनीहरु खाने र बस्ने व्यवस्थामा पनि ध्यान दिन आवश्यक छ ।

अहिले यहाँ सम्भव हुने उपचार हामी यहाँ नै गर्छाै यदि यहाँ सम्भव नहुने कुनै केस भए हामी भारतमा पठाउने गर्छौ । भारतको टाटा मेमोरियल र एपोलोमा बिरामीहरु पठाइन्छ । बोनम्यारो ट्रान्सप्लान्ट गराउनु परेमा मात्रै हामी भारत पठाउँछौ । बाँकी उपचार यहाँ नै गरिन्छ । अस्पतालमा कहिलेकाहीँ पिआईसीयुको पनि समस्या हुने गरेको छ । हाम्रो अस्पतालमा अहिले १२ बटा मात्र पिआईसीयु बेड छ । त्यसैले कहिलेकाहीँ बिरामीलाई बाहिर प्राइभेटमा गएर उपचार गराउनुपर्ने हुन्छ । त्यो बेला उनीहरुले बाहिर पैसा तिर्नुपर्ने हुन्छ र उनीहरुलाई आर्थिक तनाव हुन्छ । सरकारले यसमा ध्यान दिनुपर्छ । सरकारको सहयोग भयो भने हामी सबैलाई उपचार गर्न सक्षम छौं ।

हाम्रोमा अहिले क्यान्सर उपचारमा राम्रो टिम बनेको छ । विस्तारै यहाँका डाक्टरहरु बाहिर गएर अध्ययन गरेर आउनुभएको छ । प्रविधिहरु विस्तारै भित्र्दै छन् । पछिल्लो ५ वर्षयता क्यान्सरको उपचारपछि निको हुने दर पहिलेभन्दा निकै नै बढेको छ । अहिले अस्पतालको गुणस्तर बढाउनकै लागि यहाँ भएका डाक्टर, नर्सहरुलाई पनि भारतमा तालिमहरूको लागि पठाइरहेका छौं ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ